arrow

अस्पतालको पैसामा नेताको शान, कता गयो कृष्णजी महायज्ञको दान ?

logo
प्रकाशित २०७४ मंसिर १८ सोमबार
krishna-thapa-pokhara.jpg

कास्की। नेपालमा अहिले महायज्ञ लगाएर पैसा उठाउने परम्परा जस्तै वनेको छ । प्राविधिक शिक्षा, वृद्धाश्रम, क्याम्पस तथा अस्पताल वनाउने भन्दै महायज्ञ लगाउने तर उठेको पैसा लक्षित ठाउमा खर्च नगरी आयोजक मध्यका केहि हर्ताकर्ताको नियन्त्रणमा राख्ने गरिएको घटनाहरु छरपस्ट हुदै आएकाछन् । 

कतिपय महायज्ञका आयोजकहरुले उठेको दानलाई दाताहरुलाई जानकारी समेत नगराई मनोमानी ढंगले विभिन्न व्यक्तिहरुको साझेदारी संस्था झै गरि खाता खोलेर व्याज लगाउने गरेको प्रकरणहरु पनि सतहमा आइरहेका छन् ।

यस्तै मध्य पोखरा १६ स्थित वाटुलेचौरमा २०६६ सालमा लगाइएको महायज्ञको आम्दानीमा पनि आयोजक मध्यका केही व्यक्तिहरुको व्यक्तिगत खातामा रकम राख्ने तर लक्षित कार्यमा उपयोग नगरेको खुलासा भएको छ । 

वाटुलेचौर स्वास्थ्य चौकी भएको ठाउँमा व्यवस्थित अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा दिने महान उद्देश्य राखेर महायज्ञ लगाइएको थियो । अस्पताल संचालन गर्ने पवित्र उद्देश्य राखेकै कारण दाताहरुले पनि मन फुकाएरै सहयोग गरेका थिए । 

महायज्ञ लगाएको ९ वर्ष भइसक्यो तर त्यसको उद्देश्य र लक्ष प्राप्तिमा अझै कठिनाई देखिएको छ । पैसा नभएर त्यस्तो कठिनाई देखिएको भने पक्कै हैन । भएको पैसाको उपयोग गर्न दाताहरुले मन फुकाएर दान गरेपनि आयोजक मध्येका केहि हर्ताकर्ता भनिने व्यक्तिहरुले आफू अनुकुल खर्च गर्न नपाउने अवस्था आउने भएपछि अस्पताल निर्माण र संचालनको लागि उठेको दान साझेदारी व्यवसायको सम्पत्ति झै गरि राज्यको निकायमा दर्ता नगरिएको मातृशिशु मितेरी अस्पताल नागरिक सहयोग समूहको नाममा प्रभु वैंक र गण्डकी विकास वैंकमा जम्मा गरिएको छ । 

मातृशिशु मितेरी अस्पतालको नाम जोडेर सहयोग समिति वनाइएपनि स्थानिय निकायमा त्यो संस्था दर्ता गरिएको छैन । एक करोड भन्दा वढी रकम जम्मा गर्न वैंकमा खाता खोल्न पनि उल्लेखित संस्था राज्यको निकायमा दर्ता हुनु पर्ने कानूनी प्रावधान रहेको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका सहायक प्रमुख अधिकारी गुरुदत्त ढकाल संस्था दर्ता ऐन २०३४ वमोजिम विधिवत दर्ता गरेर मात्र आर्थिक कारोवार र खाता संचालन गर्न मिल्ने वताउँछन् ।

दर्ता नै नभएको सहयोग संस्थाको पैसा प्रभु नामको कमर्सियल वैंकमा कसरी खाता खोलियो प्रश्न गर्ने प्रसस्तै ठाउँ छ । पूर्व मेयर तथा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा उक्त सहयोग समूहका अध्यक्ष छन भने प्रभु वैंककी कर्मचारी शान्ती शेरचन कोषाध्यक्ष रहेकी छन् भने स्थानिय दान वहादुर वानिया उक्त सहयोग समिति नामक संस्थाका सचिव रहेका छन् ।

स्थानिय जनताको हित अनुकुल हुनेगरि राज्यले स्वास्थ्य चौकी र साविक कोमागाने मितेरी अस्पताललाई गाभेर २५ शैयाको विशेषज्ञ चिकित्सक सहितको जिल्ला स्तरिय सरकारी अस्पताल स्वीकृत गरिसकेको अवस्था छ । 

सम्मानिय राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूबाट २०७३ असोज १२ गते औपचारिक उद्घाटन समेत भई सेवा सुचारु रहेको छ । वाटुलेचौर मात्र हैन वडा नं. १६, १९, २५ र २० नम्वर वडाका १० औं हजार जनतालाई सेवादिने गरि अस्पताल संचालनमा आएकोमा त्यसको प्रवर्धन र संचालनमा सहयोग गर्नु पर्नेमा जनताले दिएको दानलाई कुम्लो कसेर खातामा राखिएको छ । 

संकलित भएको जनताको सम्पति वैंकमा राख्न हैन जनसेवा र जनहितमा खर्च गर्नुपर्नेमा गलत नियतले उक्त रकम गोप्य ढंगबाट साझेदारी खातामा राखिएको छ । जवकी नेपाल सरकारे २०७२ साल असोज १७ गते वाटुलेचौर स्वास्थ्य चौकी र साविक कोमागाने मितेरी अस्पताललाई जिल्ला स्तरको सरकारी अस्पताल वनाउने निर्णय गरिसकेपछि १ महिना पछि २०७२ कार्तिक १७ गते कृष्ण थापाको अध्यक्षतामा ११ सदस्यीय मातृशिशु मितेरी अस्पताल नागरिक सहयोग समूह गठन गरेको थियो । 

कोमागाने अस्पतालको नाममा विभिन्न चलखेल गर्दै आएका कृष्ण थापाले अस्पताल सरकारीकरण भएपछि आफ्नो नियन्त्रण नरहने देखेपछि अस्पताललाई खर्च गर्नुपर्ने रकम समूह गठन गरेर वाहिर लगेका स्पष्ट हुन आएको छ। 

जनताको दानमा आँखा लगाएर आफूखुसी रकमान्तर गरिएका कारण अस्पतालले अत्यावश्यक खर्च समेत धान्न सकेको छैन । समयमा कर्मचारीलाई तलव खुवाउन मात्र हैन भौतिक संरचनाको निर्माण पुरा गर्न नसक्दा वच्चा वार्ड संचालनमा ल्याउन स्थान अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष शालिकराम भट्टराईले बताए। 

जनताले दिएको दानमा वैंकमा फ्रिज वनाएर राख्ने यता खर्च नपुगेर अस्पताल संकटमा पर्ने यो कस्तो कार्यशैली हो वुझिनसक्नुछ । आफ्नै घर दैलो अगाडिको अस्पताल अभाव र अस्तव्यस्त रहँदा पनि २०७३ साल कार्तिकदेखि सहयोग समूहको नाममा राखिएको कोषवाट कुनै पनि सहयोग अस्पतालले पाएको छैन ।

केहि महिना अगाडि भएको सरोकारवालाहरुसँगको अन्तर्क्रियामा पनि महायज्ञको पैसा कहाँ क र कति छ भन्ने विषयमा स्पष्ट पार्न नसकेको कुरा सहभागीहरुले राम्रै सँग वुझेको थिए । हामीले महायज्ञको दान रकमको हर हिसाववारे अस्पतालसँग लिखित सूचना मार्ग गर्दा महायज्ञ सम्वन्धि विषयको आधिकारिक लिखित तथ्यांक र विवरण अस्पतालमा केही नरहेको वताइएको छ ।

सार्वजनिक चासोको विषयमा सूचना माग गर्दा कुनै आधिकारिक विवरण उपलव्ध नभएपछि महायज्ञको दान रकम अनियमितता भएको हुन सक्ने देखिएको छ । दर्ता नै नभएको संस्थाको नाममा खाता खोल्ने कार्य समेत छानविनको दायरामा पर्न सक्ने अवस्था आएको छ । 

कोमागाने मितेरी अस्पतालको यो आर्थिक अनियमितता प्रकरणका वारेमा अख्तियारमा समेत चन्दादाता समूहको लिखित उजुरी परेकोले छानविनको दायरामा परिसकेको अख्तियार स्रोतले दावी गरेको छ । 

सहयोग समूहका सचिव दान वहादुर वानियाँले उक्त रकम सुरक्षित रहेको र अस्पतालको हितमै खर्च गर्ने जवाफ दिएका छन् । उनले पनि रकमको विवरण भने दिएनन् । समुदायबाट उठेको रकम कति छ कति उठ्न वाँकी छ भन्ने वारेमा पनि सचिव वानियाँले खुलाएनन् ।

अस्पताल सरकारी करण भएपछि पनि कृष्ण थापाले अध्यक्ष वन्न व्यापाक कसरत गरेका थिए । समुदायबाट दान स्वरुप उठेको पैसालाई गैह्र कानूनी ढंगले राख्ने कार्य गरेको घटनाले दण्डहिनता मात्र हैन अराजकतालाई संस्थागत गरेको छ । 

राजनीतिमा विधिको साशन अनुसरण गर्नु पर्नेहरुवाट विधि र प्रकृया विपरित आर्थिक अपचलन गर्नु थप चिन्ताको विषय वनेको छ ।

आफ्नै गृह वडामा यी र यस्तै अपारदर्शी कार्यशैलीका कारण जनताहरु रुष्ट भएपछि निर्वाचनमा पराजय वेहोरेका उनि अहिले फरक ठाउँमा चुनाव लड्न पुगेका छन् । 

१६ नम्वरवाट चिप्लिएका कृष्ण थापा १७ नम्वरमा नयाँ अनुहार लिएर प्रदेश सभामा चुनाव लडेका छन् चुनाव कानून वमोजिम जहाँवाट लडेपनि अस्पतालको नाममा जन समुदायबाट उठेको पैसा जनताको नासो हो कानून वमोजिम पारदर्शीतापूर्ण ढंगले परिचालन गर्ने वातावरण मिलाउन आवश्यक छ । 

राज्यको संवैधानिक निकायले पनि गैह्र कानूनी ढंगले विना दर्ताका संस्थाका नाममा गएको पैसाको वैधानिकता र उपयोगिता सम्वन्धमा सकृय छानविन गर्नुपर्छ ।

अस्पतालमा अध्यक्ष फेरिने भएपछि कृष्ण थापाले लगेको महायज्ञको दान पनि वसाई सर्नु कतिको न्यायोचित हुन्छ आम जनसमुदायको वुझ्नुपर्ने वेला आएको छ । 

मातृशिशु मितेरी अस्पतालका अध्यक्ष सालिकराम भट्टराई सरकारी वजेट र सरकारी चिकित्सक र कर्मचारीको भरमा अस्पताल संचालन मुस्किल परिरहेको वताउँछन् । 

जनताको पैसा जनहितमा खर्च गर्न नपाउने गरि अन्यत्र लगिएको वारे भट्टराईले अनभिज्ञता जनाए ।

आफू पोखराको मेयर भएको वेलामा जापानको कोमागाने सहरसँग सम्वन्ध गासेको र सोही नामवाट अस्पताल खोलेका थापाले त्यहि अस्पतालको नामबाट धेरै पटक जापान जाने आउने गरेका र अव अध्यक्ष नभएका कारण त्यो सुविधा टुट्न सक्ने भएका कारण सरकारी अस्पताललाई असफल वनाउने योजना अनुसार असहयोग निति अवलम्वन गरेको हुन सक्ने पनि कतिपयले टिप्पणी गरेका छन् । 

आर्थिक विषयसँग मुछिएको यो प्रकरणको सत्य तथ्य कुरा आम नागरिकले थाहा पाउन पर्छ। कहाँ, किन, कति रकम वाहिर राखिएको हो र त्यसको औचित्यको पुष्ट्याइ पनि थापाले दिनुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ