अब पनि के को कम्युनिष्ट बन्ने ? 

शोभाकर पराजुली, प्रकाशित मिति : २०७४ मङ्सिर १८ सोमबार , १०,०६२ पटक हेरिएको

कम्युनिष्ट देश र गैह्र कम्युनिष्ट देशहरू एकैचोटी विकास शुरु गरेर पनि एउटा नरकमा छ भने अर्को स्वर्गमा छ । 

कम्युनिष्ट उत्तर कोरियामा वर्षेनी भोखमरीले हजारौ मानिस मर्दछन् । विकासको कुनै ठूलो कार्य छैन । केवल बम बनाएर बिदेशलाई र बन्दुक बढाएर जनतालाई सताउने कार्य भएको छ । 

लोकतन्त्र भएको दक्षिण कोरिया एशियाकै धनी र विकसित देशमा पर्दछ । संगै विकास हुन शुरु गरेको दक्षिण कोरियामा नेपालीले समेत काम पाएका छन् । 

क्युवामा भएको अस्तव्यस्तता, अभाव, अन्याय बारे सबैलाई थाहा नै छ । युवा विद्यार्थीहरूले यसलाई राम्रोसंग बुझ्नु भएको छ र नबुझेकाहरूले बुझ्दै जानु हुनेछ । 

विश्वमा कम्युनिष्टहरू आन्दोलन गर्दछन् र गरीब, किसान, महिला मजदुर आदिको मुक्तिको कुरा गर्दछन् तर उनीहरूको सत्ता भएका देशहरूमा ती पीडितहरू अझ पीडित हुन्छन् । 

विश्वको कुनै पनि कम्युनिष्ट देश छैन जहाँ महिला, दलित, गरीब, अल्पसंख्यक आदि राष्ट्रपति तथा प्रधानमन्त्री बनेको होस् । 

कम्युनिष्टहरूको देखाउने दाँतबाट हामी समयमा नै सजग हुनु आवश्यक छ । उनीहरू अझ पछाडि पारिएका छन् । 

हिंसात्मक आन्दोलनबाट पीडितहरूलाई माओवादीले सबैभन्दा बढी प्रयोग गरेर पीडा थप्ने कार्य गरेका हुन् । कम्युनिष्ट नेताहरूले बम हान्न सिकाउन जानेका छन् । मान्छे मार्न सिकाउन जानेका छन् । 

विकासलाई तहसनहस बनाउन जानेका छन् । पश्चिमी देशहरूलाई पूँजीवादी र गरीबमारा भन्न जानेका छन् । तिनै गरीबमारा देशहरुमा गएर नेपालमा पैसा पठाएको आधारमा पार्टी चलाएका मात्र होइनन्, बरु कार्यकर्ताहरूले घर पनि चलाएका छन् । 

यो हामीले बुझेका छौ। उनीहरूका लागि दिमाग लगाएर धन कमाउनेहरू दुस्मन हुन्छन्, धन कमाएर सरकारलाई कर तिर्नेहरू बेइमान हुन्छन् । लुटेर खाने, मानिस मारेर आउने क्रान्तिकारी हुन्छन् । 

कम्युनिष्टको यो भ्रमात्मक कुरा अहिले धेरै युवाहरूले बुझेको पनि पाइन्छ । युवाहरूको कम्युनिष्ट विचारप्रति लगाव कम देखिन थालेको पाइन्छ । केही नबुझेका वा बुझेर पनि सत्तामा गएर जनतालाई ठग्न पाइन्छ भन्ने युवाहरू त्यसमा लागेका होलान् । त्यो अलग कुरा हो । 

हुन पनि हो, किन कम्युनिष्ट विचारलाई आत्मसात गर्ने ? 
जहाँ कम्युनिष्ट व्यवस्था छ त्यहाँ जनतामा दुख छ, पीडा छ र अन्याय छ तर बोल्न र विरोध गरेमा गोली भने खुवाउँदछ । 

काँग्रेसले र यसका भातृ संगठनहरूले सबै युवाहरूलाई यसका बारेमा पर्याप्त रुपमा प्रष्ट पार्न नसके पनि युवाहरू आफ्नै प्रकारले बुझेर जागरुक भएका छन् । यसका लागि उनीहरूलाई सलाम गर्नै पर्दछ । 

पढेलेखेका युवाहरू सोच्न सक्ने समुदायमा पर्दछन् । उनीहरूको सोच उनीहरूका अभिभावकहरूको जस्तो ब्रेनवास भएको पनि हुदँन । विश्वमा सबैभन्दा धनी देश कम्युनिष्ट देश बन्न सकेको छैन । 

एउटा सार्वजनिक गाडीबाट जाँदै गर्दा एउटा युवासंग भेट भयो । उनले राजनीतिक कुरा शुरु गरे पछि उनी कुन राजनीतिक विचार मन पराउँदा रहेछन् भन्ने बुझ्न चाहँदा उनले भने अब पनि के को कम्युनिष्ट बन्ने ? 

नेपाल बाहिर अमेरिका आदि देशमा जान पाए लोकतन्त्रवादी र नेपालमा पनि दश वर्ष पछि लोकतन्त्रवादी तर अहिले कम्युनिष्ट । किन ? भनेर मैले प्रश्न गरें । उनले भने कम्युनिष्टहरूले एउटा रणनीति शुरु गरेको देखिन्छ । त्यो सत्यलाई ढाक्ने कलुषित तरिका मात्र हो । युवाहरू आफूसंग नभएको, यो तथ्य उनीहरूले बुझेको र उनीहरूलाई ब्रेनवास गर्ने र पछि आफ्नो विचारले ब्रेनवास गरेपछि नराम्रो नै भए पनि संगतले गर्दा राम्रो लाग्दछ भन्ने नयाँ फर्मुला अगाडि बढाएको पाइन्छ । 

युवाहरू सजग हुनु पर्दछ । युवा विद्यार्थीहरूलाई भ्रम पार्ने रणनीति कम्युनिष्टहरूले बनाएका रहेछन् । 
   
अहिलेको अस्तव्यस्तता अन्त्य गर्न, विकास गर्न र विकृतिलाई हटाउन अलिक कडा शासन चाहिन्छ र त्यो कम्युनिष्ट शासन नै हो । 

उनलाई केही भन्न मन लाग्यो । देशमा अस्तव्यस्तता ल्याउने कम्युनिष्टहरू नै हुन् । उनीहरूले आतंक नमच्चाउने हो भने आधा भन्दा बढी आतंक र दण्डहीनता अन्त्य हुन्छ । 

बाँकीलाई राज्यले ठीक गर्ने संभावना बढेर जान्छ । कम्युनिष्टहरूका कारणले नै देशमा विकास नभएको हो । उनीहरूले गर्दा देश जातिय मारकाटमा जाँदै गरेको हो । उनीहरूले गर्दा नै विकासका संरचना ध्वस्त भएका हुन् । 

सम्बन्धित समाचार

नयाँ