arrow

पहिलो पटक भोट हाल्ने मतदाताको मनमा उत्साह नै भिन्दै

logo
प्रकाशित २०७४ मंसिर १९ मंगलबार
matadata.jpg

भक्तपुर । पहिलोपटक मतदान गर्ने तयारीमा रहेका भक्तपुरका मतदाता मतदान गर्न आतुर छन् । ‘मतदान महादान हो’ भन्ने सुन्दै आएका तर मतदान गर्न नपाएका मतदाताहरु पहिलो पटक मतदान गर्न आतुर भएका हुन् । सूर्यविनायक नगरपालिका–१ की रुवी प्रधान २१ गतेको प्रतीक्षामा रहेको बताए। उनले भने, “म आफूलाई भाग्यमानी ठान्छु, संविधान कार्यान्वयन हुनेगरी देशको संघीय व्यवस्थाको पहिलो चुनावमा भोट हालेर सही नेता छान्ने मौका पाएको छु, त्यसैले भोट हाल्न आतुर छु ।” 

रुवी कै साथी प्रमिला थापाको भनाइ पनि उस्तै छ । घरपरिवारका सदस्य भोट हाल्न गएको, लाइन बसेको देखेपनि प्रत्यक्ष रुपमा पहिलो पटक भोट हाल्ने अवसर आएको बताउँदै यसको सहि सदुपयोग गर्ने बताए। “पहिलो पटक मतदान गर्दैछु, मतदान कसरी गर्ने भन्ने पनि सिकेको छु, २१ गते बिहानै गएर मतदान गर्छु”–उनले भने। पहिलो पटक मतदान गर्ने साथीहरुबीच बदर नहुने गरी कसरी मतदान गर्ने भन्नेबारेमा पनि छलफल भएको उहाँको भनाइ थियो । 

चाँगुनारायण नगरपालिका–९ की शर्मिला बस्नेत पनि पहिलो पटक मतदान गर्दै छन् । उनी भन्छन्, “पहिलो पटक मतदान गर्दैछु, मत बदर नहोस् भन्नेमा पनि सचेत छु, मेरो मतले भक्तपुरको विकास कोर्ने नेताले जितोस् भन्ने हो ।” नयाँ संविधान अनुसारको नयाँ व्यवस्थालाई पूर्णता दिन अहिलेको निर्वाचन र मतदानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले अहिलेको मतदानले भक्तपुरको भविश्य कोर्ने बताए। 

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले यसअघिको निर्वाचनमा भक्तपुरमा एक लाख ६३ हजार ७४१ जना मतदाता रहेकामा हाल १ लाख ७८ हजार ९५ मतदाता रहेको बताए। उनका अनुसार भक्तपुरमा यसपटकको निर्वाचनमा १४ हजार ३५४ जना नयाँ मतदाताले मतदान गर्ने छन् । 

नयाँ मतदाता अधिकांश १८ देखि २० वर्ष उमेरका छन् । मतदान गर्ने रहर यसपटकको निर्वाचनले पूरा गर्ने युवा मतदाताहरु अरुको लहलहैमा नभई आफ्नै स्वविवेक प्रयोग गरेर मतदान गर्दैछन् । नयाँ मतदाताहरु अरुको डर, धम्की, लोभ वा प्रलोभनमा नपरी विकास गर्न सक्ने नेतालाई मतदान गर्ने उनीहरु बताउँछन् । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ