arrow

भोट हाल्न दुई सातामा चार लाखभन्दा बढीले छाडे राजधानी

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
yatru.jpg

काठमाडौं । दोस्रो चरणको निर्वाचनमा मत खसाल्न गृहजिल्ला फर्कनेहरूको संख्या बढ्दो छ । मतदाताहरू दिनहुँ बाहिरिन थालेपछि काठमाडौंमा सवारी चाप कम हुँदै गएको छ ।

पसल तथा मुख्य बजारहरू सुनसान देखिन थालेका छन् । बसपार्कमा जिल्ला फर्कनेहरूको भिड लागेको छ ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार निर्वाचनका लागि झन्डै दुई साताको अवधिमा उपत्यकाबाट साढे चार लाख मतदाता बाहिरिएका छन् । 

२१ मंसिरमा ४५ जिल्लामा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ एक सय २८ र प्रदेश सभातर्फ दुई सय ५६ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।

पहिलो चरणको निर्वाचनको तुलनामा अहिले बाहिरिनेको संख्या निकै कम छ । यसअघि, पहिलो चरणमा झन्डै आठ लाख मतदाता काठमाडौंबाट बाहिरिएका थिए । पहिलो चरणमा ३२ जिल्लामा निर्वाचन भएको थियो ।

दोस्रो चरणमा निर्वाचन हुने जिल्लाका केही मतदाताहरूले समेत पहिलो चरणको निर्वाचनअगावै काठमाडौं छाडेकाले यसपटक बाहिरिने मतदाताहरूको संख्या कम देखिएको हुन सक्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पढाइ, रोजगारीलगायत विभिन्न काममा आएका मतदाता उपत्यकाबाट भोट खसाल्नका लागि आफ्नो गृहजिल्ला फर्कने गरेका छन् ।

पछिल्लो एक साताको समयावधिमा मात्रै दुई लाख मतदाता बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले बताए । ‘सामान्य रूपमा दैनिक १२ देखि १८ हजार यात्रुले गाडीमार्फत यात्रा गर्ने गरेका छन् ।’

मरासिनीले नयाँ पत्रिकासँग भने, ‘निर्वाचन हुने समय नजिकिएपछि दैनिक २५ हजारदेखि २६ हजार मतदाता बाहिरिएका छन् ।’

बुधबार मध्यरातिदेखि सवारी बन्द
आज राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म उपत्यकासहित निर्वाचन हुने ४५ जिल्लामा सवारी आवागमन बन्द हुने भएको छ ।

त्यसैले, टाढा–टाढाका मतदाताहरूले यसअघि नै काठमाडौं छाडिसकेका छन् । काठमाडौंनजिकका जिल्लाका मतदाताहरू भने दिवासेवामार्फत आज पनि गृहजिल्ला फर्कंदै छन् । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ