arrow

महोत्तरीमा भूत मेला

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
482280636.jpeg
महोत्तरी। महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई शक्तिपीठमा आजदेखि भूत मेला सुरु भएको छ । जिल्लाको सोनामाई गाविस वडा नं ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात रहेको छ । हरेक वर्ष बडादसैँको षष्ठीदेखि सोनामाईमा लाग्ने भूतमेला यसवर्ष पनि आजदेखि सुरु भएको पुजारी कामेश्वर झाले बताउनुभयो । 
 
बडादसैँको षष्ठीदेखि विजयादशमीको दिनसम्म चल्ने यस भूतमेलामा हजारौँ पीडित र दर्शनार्थीको भीड लाग्ने गर्छ । भूतप्रेत, बोक्साबोक्सी र दुष्ट आत्माले सताइएका हजारौं पीडित प्रत्येक वर्ष यस मेलामा आउने गर्छन भने सोनामाईको असीम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहेको छ । 
 
वर्षौंदेखि भूत, पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाँधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउनेबित्तिकै को कसबाट सताइएको बारे आफैँ भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दैपड्दै, रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्छन र दरबारमा पुगेका पीडितहरु माताको दृष्टि परेपछि निको भई आ–आफ्ना घर फर्कने गरेको पुजारी झगरु झा बताउनुहुन्छ । 
 
यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका हेटौंडादेखि भारतका पटना सहरसम्मका हजाराँै पीडित महिला र पुरुष पुग्ने गरेको कुरा अर्का पुजारी रमेश झाले बताउनुभयो । 
 
घरघरमा भूतप्रेतले रातदिन दुःखी र पीडित भएका कारनी ( पीडित) हरु आ–आफ्ना घरबाट रुँदै कराउँदै यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट पीडामुक्त भई हाँस्दै जाने गरेको कुरा झाँक्रीहरु बताउँछन् । 
 
सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्री रातदिन भजन कीर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४सै घन्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितको पीडा हरण गर्ने गरेको कुरा अर्का पुजारी घनश्याम झा बताउनुहुन्छ । 
 
यसवर्ष सोनामाई भूत मेलामा १५ लाख भक्तजन सहभागी हुने अनुमान रहेको सोनामाई पूजा समितिले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ