arrow

काठमाडौँका दशै निर्वाचन क्षेत्रको तयारी पूरा, यस्तो छ तयारी

logo
कालिका खड्का 
प्रकाशित २०७४ मंसिर २० बुधबार
clean-kathmandu.jpg.jpeg

काठमाडौँ । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौँ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ । 

काठमाडौँ निर्वाचन क्षेत्र नं १ का मुख्य अधिृकत रमेशराज पोखरेलका अनुसार काठमाडौँमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । 

काठमाडौँको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि बुधबार बेलुकासम्म सकिन्छ ।” 

पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले बुधबारसम्म पुर्याउने तयारी छ । 

दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक–एक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । 

त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन् । काठमाडौँका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् । 

काठमाडौँमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा ९क०मा १०७ र प्रदेशसभा (ख) मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता सङ्ख्या छ लाख ३० हजार ४६० छन् । 

आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बझुर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ । 

मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग 

मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ । 

काठमाडौँका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।” 

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । 

सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो । मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, “मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।” 

आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, “आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्यो भने राम्रो हुँदन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ