arrow

मतगणनाका लागि सिसी क्यामरा सहित तारजाली

logo
नारायण रिजाल,
प्रकाशित २०७४ मंसिर २० बुधबार
cc_camera.png

बागलुङ । पहिलो चरणमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना गर्ने दिन नजिकै आउनै लाग्दा यसको तयारी पनि निर्वाचन आयोगले गरिसकेको छ ।  बागलुङ जिल्लाहरुमा पनि मंसिर २१ गते बेलुका ५ बजे देखिनै मतगणना हुने भनि निर्वाचन आयोग पुर्ण रुपमा तयारी गरिसकेको छ ।

 मतगणनाको लागि सिसी क्यामरा सहित तारजाली सहितको सुरक्षाको व्यवस्था मिलाई सकिएको मुख्य निर्वाचन अधिकृत प्रकाश प्रसाद पण्डितले बताए । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अधिकृत पण्डितले  जिल्ला समन्वय समिति बागलुङको सभाहलमा मतगणनाको लागि तयारी गरि सकेको र तारजाली सहितका सुरक्षा प्रबन्ध मिलाएको बताए ।

जिल्लाका प्रतिनिधिसभाका २ क्षेत्र र प्रदेशसभाका ४ क्षेत्रको जिल्ला समन्वय समिति बागलुङको सभाहलमा गणक तारजाली भित्र र दलीय प्रतिनिधि बाहिर राखेर गणना गर्ने आवश्यक व्यवस्था मिलाइएको छ । मतदान शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भए पनि सम्भावित परिस्थितिलाई ध्यानमा राखेर मतगणनाका लागि तारबार जाली लगाइएको तारवार र जालीको कडा सुरक्षा घेरा भित्र आयोगका कर्मचारीले मतगणना गर्ने र तारवार बाहिर रहेका उम्मेदवारका प्रतिनिधिलाई देखाउँदै सदर गरिने पण्डितले बताए ।

मतगणना स्थलमा ८ वटा सिसि क्यामरा पनि जडान गरिएको छ । यसका साथै पहिलो घेरमा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई सुरक्षाको जिम्मा दिइएको छ । मतगणना २ वटै निर्वाचन क्षेत्रको चार चार स्थानमा गरी ८ स्थानमा प्रतिनिधि सभा र प्रदेश सभाको सँग सगै गरिने बताईएको छ । मतगणनाको लागि करिब १ सय २० जना कर्मचारी खटाईएको पण्डितले बताए ।

अहिलेको लोकतान्त्रिक व्यवस्थामा तारबार लगाएर मतगणना गर्नु शोभनीय विषय नभए पनि विगतका घटना र सम्भावित घटनाका विषयलाई गम्भिरतापूर्वक लिएर तारजाली लगाएर मतगणना गर्नुपर्ने अवस्था आएको पण्डितको भनाई छ ।

त्यसै गरी निर्वाचनको ३ दिन पश्चात नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा ‘बुथ कब्जा’ गरी धाँधली गरेको भन्दै दर्ता  गरेको उजुरी उपर निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतको राय माग गरेको छ ।
उजुरीपछि आयोगले सम्बन्धित मतदान अधिकृतहरूको प्रतिवेदन माग गरे अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले प्रतिवेदन पठाएको थियो ।

प्रतिवेदन अध्ययन तथा छलफल पछि मंगलवार फेरि मुख्य निर्वाचन अधिकृतको पनि राय माग गरेको पत्र प्राप्त भएको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिए । गत मंसिर १० गतेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन सकिए पश्चात अधिल्लो साता वाम गठबन्धनबाट निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेसले उजुरी दर्ता गराएको थिया ।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले पुनः मतदानको माग सहित उजुरी दर्ता गराएका थिए ।

आफ्ना पार्टीका एजेण्ट भएपनि वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना एजेण्टलाई धम्की दिएर धाँधली गरेको भन्दै पुनः निर्वाचन गराउन माग गरेको हो । उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुइ स्थानमा बुथ कब्जा भएको दावी गर्दैै उजुरी दर्ता गराएका थिए ।

आयोगको राय माग गरिएको पत्रको अध्ययनपछि सम्बन्धित मतदान स्थलमा खटिएका सुरक्षा प्रमुखहरूसँग जानकारी लिएर राय पठाएको मुख्य निर्वाचन अधिकृत पण्डितले जानकारी दिए । ‘उजुरीका विषयमा निर्वाचन आयोग मार्फत मेरो राय दिन भनिएको छ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘बुधवार पठाएर बिहीवार साँझ ठिक ५ बजेदेखि मतगणना गर्न सकिने छ ।  उनले अहिले सम्म मतगणनाको लागि आयोगले कुनै रोकतोकको निर्देशन नदिएको बताए ।  
 
बागलुङमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा बाम गठबन्धन बनाएर चुनावी मैदानमा छन् भने नेपाली कांग्रेस राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा प्रतिस्पर्धामा छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश क मा कांग्रेसका दीपेन्द्र थापा र गठबन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन्।

प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र वाम गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै क्षेत्र नं. २ मा काँग्रेसको तर्फबाट नरबहादुर पुन निरज र  गठबन्धनको तर्फ बाट माओबादीका देवेन्द्र पौडेल रहेका छन । क्षेत्र नं. २ को प्रदेश १ मा माओबादीका चन्द्र बहादुर बुढा सागर र काँग्रेसका मञ्जेशबम मल्ल रहेका छन भने प्रदेश २ मा काँग्रेसका जित शेरचन र जनमोर्चाका टेक बहादुर घर्ति रहेका छन । निर्वाचनमा बागलुङमा ६५ प्रतिशत मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ