arrow

माओवादी उम्मेदवार यादवको उम्मेदवारी खारेज, सर्वोच्चबाट आयोगको निर्णय सदर

सर्लाही ४ मा अब राकेश र अमरेशको भिडन्त

logo
प्रकाशित २०७४ मंसिर २० बुधबार
shivapujan.JPG

काठमाडौं । माओवादी केन्द्रबाट सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज हुने भएको छ ।

सर्वोच्च अदालतले यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेसँगै उनी अब उम्मेदवार नरहने भएका हुन् ।

न्यायाधीशद्वय दीपकराज जोशी र डम्बरबहादुर शाहीको इजलासले मतदान हुने  अघिल्लो दिन यस्तो आदेश दिएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।

आयोगमा परेको उजुरीका आधारमा आफ्नो उम्मेदवारी खारेजी भएपछि यादवले निर्वाचन आयोगसहित तीन विपक्षीविरुद्ध मंसिर १२ गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

यो रिटमा पहिलो सुनुवाई गर्दै सर्वोच्चले वुधबार निर्वाचन आयोगलाई छलफलमा बोलाएको थियो । आयोगसँग छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने भनेपछि यादव उम्मेदवार हुन नपाउने भएका हुन् ।

कूटनीतिक राहदानी दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा मुद्दा खेपेका यादवको उम्मेदवारी निर्वाचन आयोगले मंसिर ११ गते खारेज गरेको थियो ।

यादवविरुद्ध सर्लाही क्षेत्र नम्बर ४ कै स्वतन्त्र उम्मेदवार गणेशकुमार सिंह र अर्का स्वतन्त्र उम्मेदवार अनिलकुमार सिंहले आयोगमा गत कात्तिक १९ गते उजुरी दिएका थिए ।

प्रतिनिधिसभा निर्वाचन ऐनमा फौजदारी अभियोगमा दोषी भएको व्यक्तिलाई उम्मेदवार हुन रोक लगाइएको छ । यही प्रावधान अनुसार आयोगले रायको उम्मेदवारी खारेज गर्ने निर्णय लिएको हो ।

त्यस विरुद्ध सर्वोच्च पुगेका यादवले विशेष अदालतको फैसला स्वीकार नगरी सर्वोच्चमा पुनरावेदन गरेको अवस्थामा त्यसलाई नै अन्तिम व्याख्या गर्न नमिल्ने जिकिर गरेका थिए ।

यादव पहिलो संविधानसभाको सदस्य थिए । उनी रातो पासपोर्ट दुरुपयोगमा तानिए । यादव उठेको सर्लाही–४ मा नेपाली काङ्ग्रेसबाट अमरेशकुमार सिंह र राजपाबाट राकेश मिश्र उम्मेदवार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ