नेताको इमान्दारिता उसको निरन्तरताले जाच्ने हो 

प्रियरंजन दाहाल। प्रकाशित मिति : २०७४ मङ्सिर २० बुधबार , २,१७२ पटक हेरिएको

भर्तृहरिको नीति शतकले तीन स्वभाव उल्लेख गरेको छ | यो  संसारमा नीच, मध्यम र उत्तम  तीन प्रकारका मान्छे हुन्छन्। जसमा नीच प्रकारको मान्छे आउने  विध्न-बाधाको डर मात्रले नै कुनै कार्यको  शुरुआत नै गर्दैन। मध्यम प्रकारको मान्छे कार्य शुरुआत त गर्छ तर सानो सानो समस्या आउदा नै काम अधूरा छोड्छ। तर उत्तम मान्छे एस्तो धैर्यवान हुन्छ जो बार-बार विपत्तिले घेर्दा पनि आफुले शुरु गरेको काम काम फत्ते नगरेसम्म कदापि छोडदैन । 

नेता हुन तेस्रो स्वभाव हुनु जरुरि छ | नेतृत्वको चाहना गर्नेहरु समस्यासँग जानकार हुन्छन तर केहि समय लड्ने बितिक्कै थाक्छन र सम्झौता गर्न पुग्छन | तर जो सबै व्यवधानहरुलाई चिरेर निस्कन सक्छ त्यो नै नेता हो । व्यक्तिगत जीवनमा पनि त्यहि मान्छे सफल हुन्छ जो समस्यासँग जुध्न सक्छ र जित्ने आत्मबिस्वाशका साथ अगाडी बढ्छ।

पार्क जे सांगको ग्याङ्गनम स्टाइल गित केहि समय अघी विश्वमा सबैभन्दा बढी हेरिएको पहिलो युट्युब विडियो मानिन्थ्यो। उनको गितलाइ अरबौ मान्छेले संसार भरिबाट हेरे। उनि एकाएक संसारभरि चर्चामा आए। सरसर्ती हेर्दा उनि अकस्मात र रातारात चर्चामा आएका पात्र हुन् । तर उनको सांगीतिक यात्राको प्रारम्भ त्यहि गितबाट भएको भने  होइन ।

हामीले प्राय चर्चा गर्ने  कम उमेरका धनाढ्य फेसबुकका मालिक मार्क जुकरबर्गको पृष्ठभूमिका बारेमा कुरा गर्दा उनि १० कक्षा पुरा गर्नु अघि देखि नै सफ्टवेयर  बनाउथे। उनको फेसबुक  बिना अनुभव बनाइएको होइन ।

बिना योजना कुनै सफलता प्राप्त गरियो भने त्यो स्थाई हुदैन । दरबारमा सुखसाथ पालिएका सन्तान हुन् वा चिठ्ठा परेर करोड पति भएकाहरु हुन् । धेरैले त्यो धन र पदिय गरिमा राख्न नसकेको उदाहरण पाइन्छ। एउटा व्यक्तिको जीवनको सफलता पनि उसको स्पष्ट योजनामा निर्भर गर्छ भने स्वाभाविक रुपमा राष्ट्रको प्रगति बिना योजना सम्भव छ भन्नु अपरिपक्व अभिव्यक्ति हो ।

राजनीतिक दर्शन, सिद्धान्तका हिसाबले पार्टी वा नेता प्रति सहमति वा बिमति हुन सक्ला। तिनको व्यक्तिगत चरित्रले देशले लाभ वा हानि के बेहोर्यो त्यो बेग्लै बहसको बिषय होला। संसद पुनर्स्थापनाको बिषय सहि वा गलत के थियो त्यो छुट्टै बहशको बिषय होला तर राजासंगको राजनीतिक लडाईमा संसदीय प्रजातन्त्र मान्ने कांग्रेसको एकसुत्रिय माग संसद पुनर्स्थापना नै हो भन्ने अडान , त्यसका लागि निरन्तर अविचलित संघर्षले अन्तमा जित हासिल गर्यो । पुराना सबै संरचनाहरु ध्वस्त बनाएर नयाँ नेपाल बनाउने माओवादीको अडान र त्यसकालागि मर्न मार्न तयार हुने अठोटले राज्य माओवादीसंग सम्झौता गर्न बाध्य भयो |

नेता हुन दुइ स्वभाव हुनु जरुरी छ | एउटा जुनसुकै समस्यासंग जुधेर परिणाम प्राप्त गर्न सक्छु भन्ने अठोट भएको र दोस्रो आफ्नो लागि भन्दा अरुका लागि ,समाजका लागि सोच्ने | 

नेपाली राजनीतिमा अपबाद बाहेक देखिएका नेताहरु राजनतिक परिणामप्राप्तिका लागि अठोट भएका तर आर्थिक सम्वृद्धिको हकमा आफ्नो लागि मात्रै सोच्ने निस्किएको देखियो ।

नेताको अडान र आफूभन्दा  समाजको लागि सोच्ने इमान्दार चरित्र हेर्न  राजनीतिमा उसको  निरन्तरता पहिलो शर्त हुनसक्छ । राजनीतिको चकाचौंधले धेरैलाई आकर्षित गर्छ तर सत्ताको लाभ र लोभले तिनको इमान्दारिता क्षणमै हराएर जान्छ । 

भर्खर सत्ताबाट बाहिरिएका जिम्बाब्वेका राष्ट्रपति त्यसका उदाहरण हुन् । जसको उदय एउटा क्रान्तिकारी नेताका रुपमा भएको थियो तर उनको राजनीतिक अवशान सत्ता र शक्तिका लागि जे पनि गर्ने क्रुर ,भ्रष्ट व्यक्तिका रुपमा भयो ।

नेपाली राजनीतिक आन्दोलनमा पनि त्यस्ता धेरै नामहरु छन् जसको उदय निरंकुशता बिरुद्धको संघर्षबाट भयो तर दरबार र सत्ताका  लागि ति बिक्न पुगे र आफै निरुन्कुशहरुको पृष्ठपोशाक बन्न पुगे ।

कुनै उपलब्धि सहज ढंगबाट प्राप्त हुन्न । राजनीतिक बिषयहरुको छिनोफानो नगरी मुलुक स्थिर हुनसक्दैन । मान्छे सुनको पिजडामा मिष्ठान्न भोजनभन्दा स्वतन्त्रसंग नुन भात खान चाहन्छ। 

राजा ज्ञानेन्द्रकै शासनकालमा जनता सडकमा ओर्लिनुको कारण  स्वतन्त्रताको बानि परिसकेका जनताले कुनै खाले निरंकुशतालाइ स्वीकार नगर्नु  सम्झौता नगर्नुको उदाहरण हो। जब लामो संघर्षपूर्ण यात्राबाट प्राप्त प्रजातन्त्रको इतिहासलाइ नया पुस्ताले नजरंदाज़ गर्छ र पुराना नेताप्रती एउटा समुह नकारात्मक आवाज उठाउछ भने त्यो राजनीतिक संस्कार मानिन्न । 

एउटा मुलुकको पहिचान भनेको त्यसको भूगोल,संस्कृति ,इतिहास ,धर्म परम्परा सबै हो । यी मध्य कुनै एउटा कुरा छोडेर पनि मुलुक सम्बृद्ध बनाउन सकिन्न ।

मुलुकको राजनति नेतृत्व भ्रष्ट भएको सत्य हो तर भ्रष्टलाइ जेल हाल्ने र कार्यकारी पदमा पुग्न नदिने संबिधान बनाउने पनि त्यहि नेतृत्व हो । जनतामा असिमित अपेक्षा जन्माउने, पुरा नहुदा नेतालाई औंला देखाउने  साहस  जन्माउने पनि अहिलेकै नेतृत्व हो । 

उत्तर कोरियाका जनता अहिले आफ्नो इच्छा अनुसारको लुगा लाउन पाउने र कपाल काट्न पाउने चाहनामा सिमित छन् । हामीले त्यो भन्दा धेरै पर समृद्धिको चाहना लिएर बाचेका छौ आवाज उठाउन पाएका छौ । भ्रष्टमाथि औंला ठड्याउन पाएका छौ । बिस्तारै हाम्रा ति सम्वृद्धिका चाहना  पनि पुरा होलान ।

एकथरी भन्छन पुराना पार्टी , नेता भ्रष्ट भए, तिनलाई जरैदेखि फाल्नुपर्छ । तिनको आवाजलाई एउटा पुस्ताको निश्चित समुहले  मात्रै  सुनेको  छ तर जुन पुस्ताले  निरंकुशता देखेको छ जुन पुस्ता निरङ्कुश सत्ताको तानाशाह चरित्रको साक्षी छ । उ पुराना पार्टी र तिनका नेता कार्यकर्ताको  स्वतन्त्रता संग्रामको योगदानलाई बिर्सीहाल्ने पक्षमा छैन । किनभने उ स्वतन्त्रताको बदला मृत्यु वा  जेल जानुपर्ने इतिहासको साक्षी छ। 

प्रजातन्त्रको पक्षमा वकालत गर्नेहरुले पंचायत र माओवादी द्वन्दको बेलामा जुन  यातना र पिडा भोग्नुपर्यो तिनका लागि पुरानो कुरा सकियो भनिहाल्न सहज छैन । त्यो पुस्ता अचानक सबै भ्रष्टभन्दै आफुले सबैकुरा सुधार्ने अभियान सहित आएको समुहलाई सजिलै विश्वासिलो आधारबिना समर्थन गरिहाल्न सक्दैन ।

नेपालको राजनीतिमा प्रजातन्त्र पटक पटक खोसिएको इतिहास छ । त्यो प्रजातन्त्रका लागि पटक पटक यातना भोगेका नेता र पार्टीहरु अस्तित्वमा छन् । स्वतन्त्रताको आन्दोलनको पाटोलाई पटकै बिर्सिएर राजनीतिक दर्शन बिनाको आर्थिक पाटोलाई मात्रै समाउने राजनीतिक पार्टी सहजै नेपालि राजनीतिमा स्थापित हुन सहज छैन।

फेरी पनि कुनै तानाशाह जन्मिएको दिन आफुलाई गोलि खाना तयार बनाउने पार्टी,नेता कार्यकर्ता कुन हो हेर्न तिनले इतिहासमै फर्किने हो । फेरी राजनीति नीति दर्शनको बिषयमा मौन बस्ने पार्टीले बिश्वास जितिहाल्ने अवस्था नरहला । यद्दपि फरक नाराले केहि सिट जित्ने ,केहि समय राजनीतिमा अस्तित्वमा रहने कुरालाई इन्कार गर्न सकिन्न । 

आर्थिक उदारबादले मुलुकको पहिचाननै अलग बनाउन सफल भनिएका छिमेकी भारतका पुर्व प्रधानमन्त्री मनमोहन सिंह र चीनका देङ्ग सायो पेङ्गले पनि भएकै पार्टीद्वारा परिवर्तन ल्याएका हुन् । 

यद्धपि देंगले त्यसका लागि धेरै मूल्य चुकाउनु पर्यो । अर्थशास्त्रीका रुपमा प्रधानमन्त्री भएका मनमोहनले त गठबन्धन प्रमुखमा राजनीतिक व्यक्ति  सोनिया गान्धीलाई राखेर संचालन गर्नु पर्यो । 

त्यसैले राजनीतिक दर्शन र सिद्धान्तको स्पष्टता बिना पार्टी संचालन गर्न सहज हुन्न । हो समयक्रमसंगै परिमार्जन हुनु भने  आवश्यक हुन्छ ।

राजनीतिक नेता र कुनै बिषयको बिशेषज्ञ दुइ फरक कुरा हुन् । बरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाभन्दा स्वास्थ्य मन्त्रिका रुपमा गगन थापाले प्रसंसा पाउनु त्यसको उदाहरण हो ।

समाजसेवामा संसारभरीबाट प्रशंसा पाएकी सी एन एन हिरो अनुराधा कोइरालाको समर्पण र इमान्दारितामा सन्देह छैन तर उनि नेपालको नेतृत्व गर्न सक्षम राजनेता हुन् भन्ने तर्क सहि नहुन सक्छ ।

इमान्दारिताको परिक्षण तिनको निरन्तरताबाटै जाचिन्छ। एउटा निश्चित यात्रा तय गर्दा त्यो पार्टी र नेताको भूमिका कस्तो रह्यो भन्ने उसको परिक्षणको आधार हुने हो । 

राजनीतिक पार्टीको परिक्षण एउटा प्रोजेक्ट संचालन गर्ने गैर सरकारी संस्थाको रुपमा हैन राजनीतिक पार्टीको रुपमा उसको भूमिका कस्तो रह्यो भनेर हेरेर तय गर्ने हो ।

आफ्नो व्यावसायिक सफलताको लाभ लिएर तत्काल चर्चामा आउनेहरु निर्वाचन नै जिते पनि राजनीतिमा लामो समय सक्रिय नरहेको इतिहासहरु पनि छन् । 

भारतीय फिल्म अभिनेता अमिताभ बच्चनले चर्चित नेता तथा  पुर्व मुख्यमन्त्री हेमन्त बहुगुणालाइ ठुलो अन्तरले पराजित गरे तर राजनीतिमा टिकीरहन सकेनन। यसको अर्थ सबै असफल हुन्छन भन्ने हैन तर राजनीतिको यात्रा पेज ३को यात्रा भन्दा नितान्त फरक यात्रा हो ।

तपस्याको प्रयत्न गर्ने सबै ज्ञान नपाउञ्जेल साधनामा बस्न सक्दैनन् र सबै बुद्ध बन्न सक्दैनन् । पाएको प्रधानमन्त्री पद छोड्ने गणेशमानदेखि बिद्यार्थी राजनीति गर्दा आफ्नै पार्टी नेतृत्व भन्दा एक कदम अगाडी बढेर गणतन्त्रको आवाजलाइ नारायणहिटी अगाडी उभिएर पुर्याउने गगन थापा केवल एकछिन एकदिनमा जन्मीदैनन ।

राजनीतिको लामो यात्रा तय गर्दा नेपालले बि पी ,गणेशमान , मदन भण्डारी र मनमोहन पाएको हो । अझ बुद्ध र गान्धी पाउन त एक हैन शताब्दियौ कुर्नु पर्छ। नेपालमा खुलेका संयौ पार्टीहरु मध्य औंलामा गन्न भ्याउने मात्रै  लामो समय अस्तित्वमा रहनुको मुख्य कारण पनि त्यहि हो ।

सहज यात्राको आशामा खोलिएका पार्टीहरु कठिन मोडहरुमा आफुलाई टिकाउनै  सक्दैनन् ।

निश्चय पनि नेपालमा एउटा इमान्दार प्रजातान्त्रिक पार्टीको आवस्यकता छ । तर आवेश र उत्तेजनाले हैन संयमले तिनको परिक्षण गर्नुपर्छ र तिनको बिषयमा आफ्नो मत तयार पार्नुपर्छ । 

परिक्षणको नाममा अहिलेभन्दा खराब पार्टीलाई जन्माउनु भन्दा तिनको दर्शन, देश बनाउने योजनाको बारेमा बुझ्ने ,चिन्ने प्रयत्न गर्नु पर्छ । 

पांच बर्ष सत्ता र शक्तिमा नरहदा ति राजनीति आकाशबाट  हराउने त हैनन त्यो पनि हेर्न जरुरि छ । एउटा ब्यापारी अरुको मुनाफा देखेर केहि बर्ष नया ब्यापारका लागि छुट्य़ाउछ तर त्यो ब्यापार घाटामा  गए पछि त्यो व्यवसायमा लगानी गरिराख्दैन । नया व्यवशायतिर आकर्षित हुन्छ | इमान्दारहरुका लागिनै पनि राजनीतिमा टिकिरहन त्यति सहज छैन भने राजनीतिलाइ  समाजसेवा भन्दा ब्यापार ठान्नेहरुका लागि घाटामा गएको व्यापारका लागि खर्चिने धेरै समय हुदैन। 

तत्कालका लागि राजनीतिक बिषयहरुको लगभग टुंगो लागेको यो अवस्थामा बिजेता राजनीतिक पार्टीहरुले आफ्नो घोषणापत्र अनुसार देशलाइ इमान्दारीपुर्वक आर्थिक समृद्धितर्फ लगुन। निर्वाचनले सहि नेतृत्व पावोस नेपाल फेरी एकपटक प्रयोगशाला नबनोस | शुभकामना 

नयाँ