arrow

तीनै तहको निर्वाचनले नागरिकमा आशा जगाएको छ : प्रधानमन्त्री

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
sher-bahadur-deuba.jpg.jpeg

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएकामा सबैलाई धन्यवाद दिएका छन् ।  

प्रधानमन्त्री देउवाले बिहिवार विज्ञप्तिमार्फत लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पुर्‍याउने मतदाता, सुरक्षाकर्मी, राष्ट्रसेवक, शिक्षकलगायत पर्यवेक्षणमा सहभागी सबैलाई धन्यवाद दिएका हुन् ।  

उनले विभिन्न सशय र आशंकाबीच सरकारले दृढताका साथ उभिएर निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै निर्वाचन संविधान कार्यान्वयन गर्ने सन्दर्भमा महत्वपूर्ण खुट्किलो भएको स्पष्ट गरे। प्रधानमन्त्री देउवाले भनेका छन्, “प्रथम चरण र आजको दोस्रो चरणको निर्वाचनमा मतदाताले देखाएको उत्साहपूर्ण उपस्थितिले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै गएको छ, सरकारप्रति नागरिकको अपार विश्वास प्राप्त भएको महसुस मैले गरेको छु ।”

“ तीनै तहको निर्वाचनको सफलताले नागरिकमा आशा जगाएको छ, मुलुकको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि मार्ग प्रशस्त गर्दै संविधानले व्यवस्था गरेको संघीय शासन प्रणालीको जगलाई यसले स्थापित गर्नेछ” विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले संघीय प्रणालीका सबै अवयवले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितलाई केन्द्रमा राख्दै आपसी सहकार्य, सहअस्तित्व र समन्वयमार्फत संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन् ।  

निर्वाचन आयोगको कुशल नेतृत्व र सबै पदाधिकारीको रातदिनको मेहनतले निर्वाचन सफलतामा पुर्‍याउन सकिएको उल्लेख गर्दै उनले आयोगका सम्पूर्ण पदाधिकारी र परिवार धन्यवादका पात्र भएको बताए । संविधानअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन यही मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको र दोस्रो चरणको निर्वाचन आज ४५ जिल्लामा शान्तिपूर्ण र उल्लासमय रुपमा सम्पन्न हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ