arrow

दोस्रो चरणको मतदान समय सकियो, सहभागिता उत्साहजनक

logo
प्रकाशित २०७४ मंसिर २१ बिहिबार
VOTE.JPG

काठमाडौं । दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा एकसाथ सुरु भएको मतदान सकिएको छ । मतदानको समय सकिएपनि निर्धारित समयभित्र मतदान केन्द्रभित्र लाइन बसेकाहरुले ढिलोगरी मतदान गर्न पाउनेछन् । छिटफुट घटनाबाहेक दोस्रो चरणको मतदान शान्तिपूर्ण र उत्साहजनक भएको निर्वाचन आयोगले जनाएको छ ।

मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सम्बन्धित मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको मतपत्र खसाल्ने प्वाल बन्द गरी आयोगले उपलब्ध गराएको सुरक्षण सिल लगाउनु पर्ने छ ।

यसरी सिल गर्दा मुचुल्का तयार गरिनेछ र त्यस्तो मुचुल्कामा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको समेत सहीछाप गराउने गरिन्छ ।

मतदानको काम सकिएपछि मतदान अधिकृतले मतदान केन्द्रबाट मतपेटिका लिएर मतगणना हुने स्थानतर्फ जाँदा उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिहरू मतपेटिकाको सुरक्षाको लागि मतदान अधिकृतसँगै जान चाहेमा मतदान अधिकृतले आफूसँग आउन दिनु पर्ने व्यवस्था छ ।

दोस्रो चरणको मतदान सकिएसँगै मतपेटिका संकलनको काम थालिएको छ । कतिपय स्थानमा विहिबारै बेलुका दोस्रो चरणको पनि मतगणना हुने बताइएको छ । पहिलो चरणको भने सुरु भइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ