arrow

काँग्रेसको मतपरिणामको चिन्ता भन्दा पार्टीमा सुधार अभियान चलाउनु पर्छ

logo
अर्जुन नरसिंह केसी,
प्रकाशित २०७४ मंसिर २२ शुक्रबार
Arjun-narsing-kc.jpg.jpeg

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभरि बम विष्फोटनका वावजूद र छिटपुट हिंसात्मक घटनाबाहेक निर्विघ्नतापूर्वक नै सम्पन्न भएको छ । यो निर्वाचन सम्पन्न भएसँगै विगतका क्रान्ति, सङ्घर्ष र जनआन्दोलनहरूका उपलब्धिको रूपमा हासिल भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने दिशामा अघि बढेको छ।

२००७ सालको जनक्रान्तिमार्फत उठाएको ‘संविधानसभाबाट संविधान निर्माण गर्ने’ राजनीतिक कोर्ष र संविधान कार्यान्वयनका निमित्त तीनवटै तहको निर्वाचन गर्ने राजनीतिक दायित्व, नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सम्पन्न गरेको छ । यसलाई नेपाली कांग्रेसले हासिल गरेको ऐतिहासिक र राजनीतिक विजयको रूपमा लिनुपर्दछ ।

पछिल्ला राजनीतिक ध्रुवीकरण र सङ्क्रमणहरूले कांग्रेसका लागि निर्वाचन कठीन र चुनौतीपूर्ण बन्दाबन्दै पनि लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिई निर्वाचनमा नेपाली कांग्रेसलाई साथ, सहयोग र समर्थन दिएका सम्पूर्ण कार्यकर्ता, मतदाता, शुभेच्छुक र सहयोगीहरूप्रति हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु ।

आम निर्वाचनको प्रारम्भिक परिणाम लोकतन्त्रवादीहरू, खासगरी नेपाली कांग्रेसका कार्यकर्ता, मतदाता र शुभेच्छुकहरूका लागि गम्भीर चुनौतीको रुपमा देखापरेको छ । तर, अब परिणामबारे चिन्ता लिनुभन्दा यसको कारण र कारक पक्षबारे नग्न–सत्यलाई टेकेर वस्तुपरक समीक्षा तथा गहन विश्लेषण गरी ठोस निश्कर्षमा पुग्नु अत्यन्त जरुरी भएको छ ।

राजनीति जित्दाजित्दै पनि निर्वाचन जित्न नसक्ने कारणहरू के के हुन् ? नेतृत्व, नीति, लोकतान्त्रिक प्रक्रिया र पार्टी सञ्चालनका विधिमा हामी कहाँकहाँ चुक्यौ ? हाम्रो रणनीतिक कमजोरी के रह्यो ? यस्ता विषयहरुमा खुला र पारदर्शी छलफल तथा दिग्दर्शक मूल्याङ्कन गर्दै पार्टीलाई विधिसंगत, लोकतान्त्रिक र पारदर्शी ढंगले वैचारिक पुनर्जागरणद्वारा आमूल सुधारको अभियान चलाउनु अनिवार्य भएको छ । निराश वा विचलित भएर होइन थप जिम्मेवार र प्रभावकारी भएरमात्र हामी आगामी चुनौतीलाई सामना गर्न सक्छौं ।

लोकतन्त्रको विकल्प अझ सुदृढ र परिमार्जित लोकतन्त्रबाहेक केही पनि हुन सक्दैन । जनअभिमत नै सार्थक लोकतन्त्रको मेरुदण्ड हो । यसबाट नेपाली काँग्रेस विमुख हुनसक्दैन । त्यसैले अझ जिम्मेवारीपूर्वक सक्रिय रहौं । गौरवमय ईतिहास लोकतन्त्रवादीहरूको थियो र उज्ज्वल भविष्य पनि लोकतन्त्रवादीहरूकै हुनेछ । थाकेर, भागेर र कर्तव्यबाट चुकेर होइन, सुसंगठित, सशक्त, दृढ र अझ उर्जाशील भएर लोकतन्त्रवादीहरूले नयाँ यात्रा आरम्भ गर्नुपर्ने बेला आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ