arrow

श्रेष्ठलाई खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर

logo
कृष्णराज गौतम,
प्रकाशित २०७४ मंसिर २३ शनिबार
jeevan-ram-shrestha.jpg

काठमाडौँ । नेकपा (एमाले) का क्रियाशील सदस्य जीवनराम श्रेष्ठले खेलकुद क्षेत्रदेखि संसद्सम्म पुग्ने अवसर प्राप्त गरेका छन् । यही मंसिर २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा उनी काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनका उम्मेदवार भई निर्वाचित भएका छन् । 

उनले १३ हजार ३९७ मत प्राप्त गरी संसद्मा प्रवेश गर्नका लागि जनादेश पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९५३ मत प्राप्त गरेका छन्। सोही क्षेत्रमा विसं २०६४ र २०७० बाट निर्वाचित जोशी लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार छन् । विसं २०२२ पुस १५ गते काठमाडौँमा जन्मिएका श्रेष्ठले विसं २०४२ देखि नेकपा (माले)मा प्रवेश गरेर राजनीति शुरु गरेका हुन् । उनी २०७० मा भएको दोस्रो संविधानसभाको चुनावमा जोशीको निकटतम प्रतिद्वन्द्वी भएका थिए । 

तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको स्थापना हुँदा श्रेष्ठ सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेका थिए। नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले उनलाई वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी प्रदान गरेको थियो । उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा विसं २०५३ र २०६४ मा गरी दुई पटक जिम्मेवारी वहन गरिसकेका छन् । अहिले उहाँ नेपाल ओलम्पिक कमिटीका अध्यक्षको जिम्मेवारीमा रहेका छन् । 

काठमाडौँ महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ वडासमेत उक्त क्षेत्रमा पर्छ । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य तथा जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, जनकनन्दिनी सीताले टेकेको पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको त्यस क्षेत्रमा श्रेष्ठ निर्वाचित भएको खबर आएपछि विजय जुलुस शुरु भएको छ । 

श्रेष्ठले आफू निर्वाचित भएपछि रासससँग कुरा गर्दै उक्त क्षेत्रलाई सम्पदास्थलका रुपमा विकास गर्नाका साथै भूकम्पले भत्किएका सम्पदास्थल तथा भूकम्पबाट धरापमा परेका निजी घरको व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। संयुक्त वाम गठबन्धनको घोषणापत्रलाई कार्यान्वयन गर्ने सन्दर्भमा आफूले भूमिका निर्वाह गर्ने बताउँदै उहाँले स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका परियोजना उपलब्ध गराइने वचन दिए । 

नेता श्रेष्ठले खेलकुद क्षेत्रको विकासमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रबाट सहयोग जुटाउने बताउँदै नेपाल ओलम्पिक कमिटीका नेतृत्वमा डल्लु आवासमा करिब रु पाँच करोडको लागतमा कभर्ड हल निर्माण गरिने पनि जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ