arrow

हारेर पनि यसकारण जिते रामहरिले

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
yagyaraj_with_ramhari_khatiwada.jpg

ओखलढुंगा । प्रतिनिधि सभा र प्रदेशसभा दुवैमा भएको बाम गठबन्धनको जितको उन्मादमा ओखलढुंगाको जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मतगणनास्थल बाहिर कार्यकर्ताहरुको ठूलो भीड लागेको थियो । उनीहरु विजयी नेताहरुलाई माला लगाउनका लागि प्रतीक्षा गरेर बसिरहेका थिए । 

गठबन्धनले विजय जुलुसको तयारी गरिरहेका बेला एक्कासि नेपाली कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडा देखा परे । हँसिलो अनुहारमा देखिएका खतिवडाले हात हल्लाउँदै ‘भीडमा बधाई छ तपाईँहरुलाई, ओखलढुंगाको जित भयो’ भन्दै थिए ।

भीडमा कसैले ‘रामहरि बाई बाई भन्दै थिए भने कसैले ‘रामहरि हाई हाई’ भन्दै थिए । ‘नेता त यस्तो पो हुनुपर्छ’ भन्दै केही मान्छे आत्तिँदै थिए, कोही हात मिलाउँदै थिए । कसैले माला र अबिर लगाइदिन खोज्दै थिए । तर खतिवडाले ‘पहिले जित्नेलाई माला र अबिर लगाइदिनुस् अनि म लगाउँछु’ भन्दै भीड छिचोलेर मतगणना हलमा प्रबेश गरे ।

हलभित्र बाम गठबन्धनका विजयी उम्मेदवारलाई प्रमाणपत्र हस्तान्तरण गर्ने कार्यक्रम थियो । मुख्य निर्वाचन अधिकृत कैलास केसीले विजयी उम्मेदवारको नाम घोषणा गर्नेबित्तिकै खतिवडाले विजयीलाई सबैभन्दा पहिले फूलमाला र खादा लगाइदिए । विजयी उम्मेदवारलाई बधाई दिन उनीसँगै पुगेका कांग्रेसकै प्रदेशसभा ‘क’ का मित्रसेन दाहाल र प्रदेशसभा ‘ख’ का पराजित उम्मेदवार प्रदीपकुमार सुनुवारले पनि फूलमाला र खादा लगाइदिए । बधाई र कार्यसफलताको शुभकामना समेत दिए ।

शनिवार ओखलढुंगा जिल्लामा बाम गठबन्धनको प्यानलै विजयी हुँदा बधाई दिन रामहरिसहितको टोली आफैं पुगेको हो । बाम गठबन्धनका उम्मेदवार विजयी घोषणा हुनेबित्तिकै रामहरिले माइक तानेर ‘यो जित ओखलढुंगाको जित हो’ भन्दै घोषणा गरे । बाम गठबन्धनले पराजित गरेको पीडा बिर्सँदै उनले गरेको यस्तो उद्घोष देखेर सबैजना आश्चर्यमा परे । विजयी घोषणा कार्यक्रममा धेरैले ‘हारेर पनि जिते रामहरिले’ भन्दै उनको प्रशंसा गरे । 

‘मभन्दा राम्रो उम्मेदवार तपाईँहरुले छान्नुभएको छ ।’ उनले ओखलढुंगावासी जनतालाई सम्बोधन गर्दै भने, ‘यो लोकतन्त्रको जित हो, कसैको हार भएको छैन ।’ मतगणना भवनमा विजयी घोषणा कार्यक्रम राखिएको भएपनि भित्रको आवाजलाई बाहिरसम्म सुन्ने व्यवस्था मिलाइएको थियो । उनको भाषण सुनेर बाम गठबन्धनको पक्षमा विजयी नारा लगाउँदै गरेको भीड शान्त र स्तब्ध बन्यो । ‘सबैको अस्तित्व स्वीकार्न सक्ने नेता त यस्तो पो हुनुपर्छ’ भन्दै भीडमा चर्चा चल्यो ।

रामहरिले बाम गठबन्धनको जित भएपनि समग्र ओखलढुंगावासीको जित भएकाले विजयी उम्मेदवारलाई सफल बनाउन सबै एकजुट भएर लाग्नुपर्ने धारणा राखे । ‘समृद्ध ओखलढुंगा बनाउने मेरो चाहना थियो, जे भएपनि म ओखलढुंगाकै विकासका निम्ति लागिरहेनछु’, उनले भने, ‘यो जितले अराजकता, उद्दण्डता, उच्छृङ्खलता नबढाओस्, लोकतन्त्रलाई कमजोर नबनाओस् ।’

खतिवडाले आफू नेपाली कांग्रेसको सिपाही भएको भन्दै लोकतन्त्रलाई बलियो बनाउने अभियानका विजयी सबै उम्मेदवारलाई बधाई र धन्यवाद दिए । उनले सम्पूर्ण ओखलढुंगेलीको अनुहारमा उज्यालो ल्याउन आफू सधैँ लागिपर्ने र समग्र विकास कायम गर्ने बाचा समेत गरे । ‘ओखलढुंगेली जनताको शीर कहिल्यै झुक्न दिनेछैन भन्ने विश्वास दिलाउन चाहन्छु’ खतिवडाले भने । विजयी घोषणा कार्यक्रममा प्रतिनिधिसभा सदस्य विजयी यज्ञराज सुनुवारले कांग्रेसका उम्मेदवारले उठाएको एजेण्डालाई पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ