arrow

कास्की कांग्रेसको शाख जोगाउने विन्दु 

logo
प्रकाशित २०७४ मंसिर २४ आइतबार
bindu_thapa_(1).jpg

पोखरा । सामान्य किसान परिवारमा पोखरा नयाँबजारमा जन्मे हुर्केका बिन्दुकुमार थापा व्यवसायमा मात्र हैन राजनीतिमा समेत सफल दरिएका छन् । पोखरा महानगरको मेयरका दाबेर उनी अन्तिम समयमा टिकट नपाए पनि पार्टीलाई सहयोग गरी नै रहे । 

कास्की क्षेत्र नम्बर २ को प्रदेश सभा(२) का लागि टिकट पाएका उनी अन्ततः कास्की कांग्रेसको शाख जोगाउन सफल भए । २०६४ को संविधानसभा चुनावमा कास्की क्षेत्र नम्बर २ बाट सभासद भइसकेका राजनीतिका चतुर खेलाडी, माओवादी केन्द्र अध्यक्ष प्रचण्डका विश्वासपात्र र जिल्ला संयोजक राजकाजी गुरुङ करणलाई झण्डै ९ सय मतले पछि पार्दै विन्दुले विजयको माला पहिरिए । 

मुलुक संघीयतामा गएसँगै भएको पहिलो चुनावमा प्रदेश सभाले थुप्रै कानुन बनाउनुपर्ने छ । मुलुकमा संसदीय प्रणाली नै रहे पनि प्रदेश सभाको सञ्चालन, कार्यविधि र कानुन हाम्रा लागि नौला हुनेछन् । कानुन शास्त्रमा स्नातक भएकाले बिन्दुलाई यो प्रक्रियामा सहज नै हुनेछ ।  महेन्द्र मावि नयाँबजार शिक्षारम्भ गरेका विन्दुले बाराही माविबाट एसएलसी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन् । 

भारतीय सेनामा कार्यरत पिता चन्द्रबहादुरबाट उनले मेहनत र लगन सिके । अनि आमा चन्द्रकला थापाबाट इमान्दारिताको पाठ पढे । त्यसैलाई अवलम्बन गर्दै अघि बढेका विन्दु व्यावसायिक रुपमा सधै सफल नै बने । युवावस्थामा उनी जागिर खान नेपाल राष्ट्र बैंक छिरे । सामान्य पदमा अस्थायी जागिरका लागि राष्ट्र बैंक छिरेका उनले त्यहीं झण्डै २ दशक बिताए । उनी त्यतिबेलै नेपाली कांग्रेस निकट कर्मचारी संगठनसँग आबद्ध भइसकेका थिए । शिरमा चार तारे झण्डा गुतेर सडकमा नउत्रे पनि उनले आन्तरिक रुपमा पार्टीका संगठनलाई मजबुत बनाउन क्रियाशील रहे । 

कर्ममा विश्वास राख्ने विन्दुलाई त्यो जागिरमा मात्र सिमित हुन मन लागेन । परिवारप्रतिको बढ्दो दायित्व अनि आर्थिक आवश्यकताले उनलाई व्यवसायतिर आकर्षित ग¥यो । पोखरामा मोटरसाइकलको व्यापार थाले । पोखरामा लक्जरियस गाडीको व्यावसाय भित्र्याए । अनि त्यतिबेला पोखरामै मुख्य कार्यालय रहेका फेवा फाइनान्स, हिमचुली विकास बैंक, अन्नपूर्ण फाइनान्समा लगानी गरे । फेवा फाइनान्स, विश्व विश्वविकास बैंक हुँदै उनी गण्डकी विकास बैंकको अध्यक्ष समेत भए । 

आफ्नो निजी व्यवसायसँगै विन्दु पोखरा उद्योग वाणिज्य संघमा आवद्ध भए । विसं २०६३ मा कार्यसमिति सदस्यमा मनोनीत थापा उपमहासचिव हुँदै २ कार्यकाल प्रथम उपाध्यक्ष र १ कार्यकाल अध्यक्ष भएर आफ्नो कुशल दक्षता प्रदर्शन गरिसकेका छन् । वर्षौदेखि संशोधन हुन नसकेका संघको विधान उनकै कार्यकालमा संसोधन भयो । त्यति मात्र हैन संघलाई समावेशी र सहभागितामूलक बनाउन उल्लेख्य सदस्य थप गर्न उनी सफल भए । 

व्यवसायमा उनले जहिले पनि नयाँ पन खोजिरहे । त्यसैको परिणाम हो पोखरा ट्रेडमल । सामूहिक लगानीबाट मात्र समृद्धि सम्भव छ भन्ने मान्यताका उनले पोखराका केही व्यवसायीलाई साथमा लिएर प्रदेश नम्बर ४ कै पहिलो सुविधा सम्पन्न व्यापारिक मल बनाउन सफल भए । ५ सय भन्दा बढी सटरसहितको अत्यधुनिक मल अहिले प्रदेशकै नमूना व्यापारिक थलो सावित भएको छ । 
जब पोखरा महानगरको मेयरमा विन्दुको नाम जोेडियो, तब उनलाई कांग्रेसको नव प्रवेशी भनेर हल्ला फिँजाइयो ।

त्यसो त अटोमोबाइल, बैंकिङ, रियलस्टेट लगायत थुप्रै व्यवसायमा व्यस्त रहँदा उनी तारतारे झण्डा बोकेर बारम्बार सडकमा उत्रन भ्याएनन् । तर लोकतन्त्रप्रतिको प्रतिबद्धतामा उनी कहिल्यै पनि विचलित भएनन् ।  नेपाल राष्ट्र बैंक कर्मचारी संघको सदस्य भइसकेका उनी विसं २०५० देखि निरन्तर डेमोक्रेटिक्स लयर्स एसोसिएसन(डिएलए)को सदस्य छन् । पार्टीका कार्यक्रम सफल पार्न जहिले पनि विन्दुको उपस्थिति अनिवार्यजस्तै हुने गरेको छ । 

पोखरा उद्योग वाणिज्य संघलाई सफल  नेतृत्व दिएका विन्दुले पोखराको समग्र विकासका लागि समेत अगुवाइ गर्दै आएका छन् । वर्षौदेखि थाँति रहेको पोखरा विमानस्थलको निर्माण थाल्न उनले निरन्तर दबाब दिइरहे । संघकै अगुवाइमा उनले पोखराका राजनीतिक दल, तत्कालीन सभासदसहित प्रधानमन्त्री, पर्यटन मन्त्री र अर्थ मन्त्रीलाई भेटेर नैतिक दबाब दिन उनी पछि परेनन् । त्यसैको परिणाम अबको ३ वर्ष भित्रमा पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल बन्ने पक्कापक्की भएको छ । 

व्यवसायसँगै उनी सामाजिक संघसंस्थामा सक्रिय छन् । व्यावसायिक रुपमा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसनका सल्लाहाकार उनी, लायन्स क्लब अफ पोखरा लेकसिटी,  रोटरी क्लब अफ अन्नपूर्ण, सहारा क्लबमा समेत आबद्ध छन् । उनी पोखरा विश्वविद्यालयका सिनेटर छन् ।

वाम गठवन्धनको चौतर्फी घेरा तोड्दै प्रदेश सभा सदस्य बन्न सफल उनले आफ्नो विजयलाई अवसरको रुपमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विकासमा युवालाई सहभागी बनाएर समग्र प्रदेश नम्बर ४ को समृद्धिको ढोका खोल्न आफूले अगुवाइ लिने उनको प्रतिबद्धतालाई साथ दिन आम नागरिकको सहयोग जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ