arrow

यी हुन् यसपटक प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

logo
प्रकाशित २०७४ मंसिर २६ मंगलबार
Myagdi_District.png

बाबियाचौर । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् । 

प्रदेश नं ४ क मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ३३ वर्षीय केसी कान्छा सांसद बनेका हुन् । 

चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे । 

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र कमा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । 

केसीलाई एमाले र गौचनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । 

विसं २०४१ असार २४ गते जन्मिएका बेनपा–८ निवासी केसी शहिद परिवारका सदस्य हुन् । 

उनका दाजु मदनको द्वन्द्वकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो । हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटीका उपाध्यक्ष रहेका केसीले दाजु मदनबाट प्रभावित बनेर माओवादी राजनीतिमा सक्रिय भएको बताए । 

दाजु दिवंगत भएपछि घरव्यवहार धान्नका लागि केसीले विसं २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकका रुपमा काम गरेका थिए । 

म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात व्यवसायी हुन् ।  

मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्ष हुन् । प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताए । 

स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरेका केसीले जिल्लाको जलविद्युत्, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्नेमा जोड दिए ।
 
म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र ख मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ