arrow

के अब चल्छन् समून्द्रमा चन्द्रसूर्य ध्वजाबाहक पानी जहाज ?

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
pani_jahaj.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणाम आईसकेपछि मुलुकमा बाम गठबन्धनको स्पष्ट बहुमत आएको छ । जनताले दिएको मतको आधारमा पहलिो पार्टी बनेको एमाले र गठबन्धनका साझेदार दल माओवादीबीचको यो गठबन्धनले नै अब सरकार बनाउनेमा कुनै शंका नहोला । अब यो सँगै जनमत लिनेबेलामा यी दलले लिएका चुनावी घोषणापत्र र त्यसमा दिईएका प्रतिबद्धताहरु तिर अब धेरैको ध्यान जान थालेको छ । 

अहिलेसम्म विकासमा पछि पर्नुको मूल कारण नै स्थिर सरकारको अभाव रहेको भनिएपनि अब त्यो समस्या सिर्जना हुने छैन । अब मुलुकमा बढीमा पनि २ वर्ष सम्म एउटा सरकार टिक्नेछ र ५ वर्षको अन्तरालमा मुलुकमा बढीमा २ वटा सरकार बन्ने भएको छ । यस्तो अवस्थामा कुनैपनि दलले लिएका लक्ष्य पूरा गर्न कुनै महाभारत हुने अवस्था छैन । 

बाम गठबन्धनले चुनावको बेला जारी गरेको संयुक्त चुनावी घोषणापत्रमा केही यस्ता विषयहरु पनि छन् जुन नेपालीहरुले अहिलेसम्म पनि धेरैले सोचेका समेत छैनन् । भूपरिवेष्ठितको नाताले अहिलेसम्म धेरैले देख्दा समेत नदेखेको पानी जहाज नेपाल आफैंले चलाउने कुरा गठबन्धनको संयुक्त घोषणापत्रमा उल्लेख गरिएको छ । यसमा भूपरिवेष्ठित देशको नाताले नेपालले पाउने अधिकारलाई टेकेर पानी जहाज सञ्चालन गर्ने कुरा बाम गठबन्धनको संयुक्त घोषणापत्रको ५नं बुँदामा उल्लेख गरिएको छ । 

अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग शीर्षक भित्र लेखिएका केही कुराहरु सुन्दा एकदमै अचम्म लाग्नेखालको भएपनि दलहरुले पूरा गर्ने प्रपतबद्धता गरेर भोट मागेका थिए । उनीहरुको प्रतिवद्धता पूरा गर्नको लागि जनताले उनीहरुलाई भोट पनि दिएकै छन् । एमालेका नेताहरु चुनाव पछि पनि प्रतिवद्धता पूरा हुनेमा विश्वास व्यक्त गर्छन् । तर, यसको लागि उनीहरुको छ वर्षको कार्यदिशा भने हेर्नुपर्ने हुन्छ । 

माथि उल्लेखित शीर्षक भित्र घोषणापत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार तथा स्तरोन्नति गरिने । आगामी पाँच वर्षभित्र निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने उल्लेख गरिएको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सम्पर्कका लागि हवाई र जलमार्ग, दुई वर्षभित्र भैरहवा र तीन वर्षभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने, विराटनगर, नेपालगन्ज, सुर्खेत तथा धनगढी विमानस्थलहरूलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार र स्तरोन्नति गरिनेछ । सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा आधुनिकीकरण गरिने घोषणा पत्रमा उल्लेख गरिएको छ । 

बाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाइनेछ । निजी क्षेत्रका हवाई सेवालाई प्रोत्साहन गरिने । कोसी, गण्डकी र कर्णाली नदीमा आन्तरिक र बाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने । उच्च बाँधयुक्त जलाशयमा जलमार्गको विकास गरिने र भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार प्रयोग गरी नेपाली ध्वजावाहक पानीजहाज सञ्चालन गरिने उल्लेख गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ