arrow

उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

logo
प्रकाशित २०७४ मंसिर २७ बुधबार
rex-tillerson.jpg

वासिङटन ।  अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिएका छन् । वासिङ्टनस्थित केही ‘थिंक ट्यांक’ हरुसँग मङ्गलबार भएको छलफलका क्रममा उनले सो जानकारी दिएको समाचारमा जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग सिधा वार्तागर्न अथवा विना कुनै शर्त नै अमेरिका तयार रहेको जानकारी दिएका छन् ।  

यस विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भने केही धारणा आएको छैन । अमेरिकी विदेशमन्त्री टिलरसनको यो धारणा उनको आफ्नै हो या त्यसमा राष्ट्रपति टिलरसनको सहमति पनि छ भन्ने बारेमा पनि केही बताइएको छैन ।

विदेशमन्त्री टिलरसनले उत्तर कोरियासँग गरिने वार्ताका लागि मार्गचित्र निर्धारण गर्ने र विना शर्त जुनसुकै विषयमा छलफल गर्न सकिने उनले बताए ।

एकजना अमेरिकी ह्वाइट हाउसका अधिकारीको भने उत्तर कोरियाको आणविक कार्यक्रम तथा समग्र उत्तर कोरियाली नीतिका बारेमा भने राष्ट्रपति ट्रम्पको हालको धारणामा कुनै परिवर्तन नआएको जानकारी आएको छ ।

अमेरिकाले उत्तर कोरियासँग वार्तागर्ने भनी आएको यो नै पहिलो अभिव्यक्ति हो । विगतमा यसरी अमेरिकाले वार्ताका सम्भावित शर्तहरुको बारेमा केही कुरा राखेको थिएन ।

तर परमाणु अस्त्रको बारेमा उत्तर कोरियाको कार्यक्रम भने अमेरिकाले नस्वीकार्ने विदेशमन्त्री टिलरसनले प्रष्ट पार्नुभएको छ । यसअघि अमेरिकाले केही समयमात्र अघि वार्ताका लागि उत्तर कोरिया निशस्त्र हुनुपर्ने भन्दै आएको थियो ।

तर यो पछिल्लो अमेरिकी धारणामा परिवर्तन आएको देखिन्छ । यस पटक भने उहाँले अमेरिका विनाशर्त नै उत्तर कोरियासँग वार्तामा बस्ने जनाएको हो ।

उत्तर कोरियाविरुद्ध अमेरिका, जापान र दक्षिण कोरिया एकै ठाउमा

हालैमात्र निकै लामो समयपछि संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीबाट उत्तर कोरियाको भ्रमण भएको थियो । सो भेटबाट दुवै पक्षबीच विश्वासमा वृद्धिगर्न सफलता मिलेको उत्तर कोरियाले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला हेर्ने उपमहासचिव जेफ्रे फेल्टम्यानले राष्ट्रसंघको यति उच्च तहको अधिकारीबाट सन् २०१० पनि पहिलोपटक उत्तर कोरियाको यो भ्रमण गरेको बताइएको छ ।

उपमहासचिव जेफ्रे फेल्टम्यानसहितका राष्ट्रसङ्घीय केही उच्च पदाधिकारीले यही डिसेम्बर ५ देखि ९ सम्म प्योङ्याङको भ्रमण गरेका थिए ।

सो भ्रमणका क्रममा उनीहरूले उत्तर कोरियाका विदेशमन्त्री, उपविदेशमन्त्री, विदेश मन्त्रालयका अन्य विशिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।

सो भेटमा भएका द्विपक्षीय वार्ताहरुमा कोरियाली प्रायद्वीपको सङ्कटका बिषयमा छलफल भएको र उक्त समस्याको शान्तिपूर्ण समाधानका लागि अधिकारीहरुले जोड दिएका पनि प्राप्त समाचारमा जनाइएको छ ।

उता कोरियाली प्रायद्वीपमा अमेरिका, दक्षिण कोरिया र जापानले हालैमात्र सामुद्रिक सैन्य अभ्यास गरेका बताइएको थियो । त्रिपक्षीय रुपमा गरिएको सो अभ्यास खासगरी उत्तर कोरियाले पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका विरुद्धमा लक्षित थियो ।

विशेषगरी कोरियाली प्रायद्वीपमा हुनसक्ने सम्भावित ब्यालेस्टिक क्षेप्यास्त्रको रोकावटका लागि गरिने उपायहरुका बारेमा त्यस अभ्यासका क्रममा एक संयन्त्रको स्थापना गरी प्रयास गरिएको बताइएको छ ।

उत्तर कोरियाका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले दुई महिनामात्र अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गरेका थिए । उक्त सैन्य अभ्यासको उत्तर कोरियाले विरोध गर्दै आएको छ ।

जापान, दक्षिण कोरिया र अमेरिकासँग उत्तर कोरियाको सम्बन्ध बिग्रिएको छ । उत्तर कोरियाले गर्ने गरेका क्षेप्यास्त्रहरुको परीक्षणमा उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकालाई लक्ष्य गरेको भन्ने गर्दछ ।

उत्तर कोरियाले जारी राखेको आणविक कार्यक्रमका कारण यस्तो अवस्था आएको हो । जसले गर्दा अमेरिका र उत्तर कोरियाले एक अर्काका विरुद्धमा निकै कडा अभिव्यक्ति दिइआएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पको केही समय मात्र अघि भएको दक्षिण कोरिया, जापान र चीनको भ्रमणका समयमा पनि राष्ट्रपति टम्पले उत्तर कोरियाको निकै नै आलोचना गरेका थिए । एएफपी,सिन्ह्वा

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ