arrow

चुनाव हारेपछि पनि मतदाता सामु पुगे काँग्रेस उम्मेदवार

logo
प्रकाश धौलाकोटी 
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
congress-flag2.jpg

तेह्रथुम । थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलोमा पुगिरहेका हुन्छन् । त्यसो त चुनाव जितेपछि फेरि गाउँ आउँदैनन् भन्ने मतदाताको आरोप चुनाव जितेका नेतालाई सबैतिर नै हुन्छ । 

तर यहाँको प्रदेशसभा ख क्षेत्रमा प्रत्यक्षतर्फ पराजित बनेका एक नेता हारे पनि फेरि गाउँमा मतदातामाझ पुगेका छन् । 

चुनाव हारेपछि प्रदेशसभा ख क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार विजय सम्बाहाम्फे पुनः गाउँ पसेका हुन् । 

सम्बाहाम्फेले मत परिणाम घोषणा भएकै दिनदेखि गाउँगाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन् । प्रदेशसभा ख क्षेत्रमा जम्मा आठ राजनीतिक दलको उम्मेदवारी थियो । 

कुल ३० हजार ५८८ मतदातामध्ये १९ हजार ९६३ मत खसेकोमा १० हजार ३०२ मत ल्याएर वाम गठबन्धनका लागि एमालेका उम्मेदवार तेजमान कन्दङ्वा विजयी भए । 

काँग्रेस उम्मेदवार सम्बाहाम्फे आठ हजार ४७ मत ल्याउँदै दुई हजार २५५ मतले पराजित भए । तर पराजित हुनुमा उनी कति पनि दुःखी देखिएनन् ।  

यसपटकको चुनावमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिश भएका सम्बाहाम्फे वाम–गठबन्धन भएपछि टिकट नपाएर काँग्रेस प्रवेश गरी प्रदेशसभा ख मा उम्मेदवार बनेका थिए । 

त्यसो त उनका लागि काँग्रेस पनि नौलो पार्टी थिएन । 

२०६४ अघि नै काँग्रेसको जिल्ला कोषाध्यक्ष भइसकेका उनी पुनः काँग्रेसमै फर्किएर उम्मेदवार भएका हुन् । हाल निजी तथा व्यावसायिक विद्यालय अर्गनाइजेसनको केन्द्रीय अध्यक्षसमेत रहेका सम्बाहाम्फे चुनावमा आएको परिणामबाट आफू दुःखी नभएको बताउँछन् । 

“जनताको घरदैलोसम्म पुगेर अनुमोदित हुने मौका पाएँ,” उनी भन्छन्, “चुनावमा जित्नुमात्र ठूलो कुरा होइन ।” 

चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँगाउँ पुगिरहेका उनले आफूले बाँडेका आशा र योजना चुनाव हारे पनि पूरा गर्ने प्रतिबद्धतासमेत जनाइरहेका छन् । 

“चुनाव त मैले हारेकै हुँ” उनी भन्छन्, “चुनाव हारे पनि म जनताको मन जित्न गाउँ आएको हुँ, चुनाव जित्नुमात्र ठूलो कुरा हैन, जनताको मन जित्नु चाँहि ठूलो कुरा हो ।” 

सम्बाहाम्फेले आफ्नो क्षेत्रका मतदातालाई आफ्नो मत खेर गयो भनेर निरुत्साहित नहुन भनिरहेका छन् । 

“चुनावी अभियानका क्रममा मतदातामाझ बोलेका योजना र प्रतिबद्धता पूरा गर्न आफू निरन्तर लागिरहन्छु, अब म जनताको मन जित्छु” उनले भने । प्रदेशसभा ख क्षेत्रमा मेन्छ्यायेम, फेदाप र आठराई गाउँपालिका पर्दछन् । 

सम्बाहाम्फे फेदाप गाउँपालिकाको जलजलेमा जन्मिएका हुन् । अहिले उनी काठमाडौँमा बस्छन् । 

लामो समयसम्म काठमाडौँमा बसेर शिक्षा सेवा गरेका सम्बाहाम्फेले जन्मथलो फर्किएर राजनीति गर्ने शोख देखाएका हुन् । 

आफू थोरै मतान्तरले पराजित हुनु नै उपलब्धि भएको सम्बाहाम्फेले बताए । 

“यो जिल्ला वामपन्थीको बाहुल्य क्षेत्र हो”, उनी भन्छन्, “संगठन कमजोर भएको काँग्रेसबाट उम्मेदवार भएर यति मत ल्याउनु मेरो लागि उपलब्धि नै हो ।” 

सम्बाहाम्फेले पत्रकार सम्मेलनको आयोजना गर्दै आफूलाई मतदान गर्ने मतदातालाई धन्यवादसमेत दिए । उनले विजयी एमालेका तेजमान कन्दङवालाई बधाईसमेत दिइसकेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ