arrow

बाम गठबन्धनको सरकार बन्ने भएपछि ओली निवास धाउन थाले व्यवसायीहरु 

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
FNCCI_OLI.jpg

काठमाडौं । प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको मत गणना सकिएसँगै व्यवसायीहरु एमाले अध्यक्ष केपी ओलीको निवासमा धाउन थालेका छन् । विभिन्न व्यवसायिक संस्थाहरुको टोली नै गएर केपीओलीलाई बधाई र शुभकामना दिएर फर्किने क्रम बढ्दो छ । सोमबार मात्रै केपीओली निवास बालकोटमा दुईवटा व्यवसायिक संगठनहरु गएर ओलीलाई बधाई दिएर फर्किएका छन् । 

केपी ओलीलाई भेट्न गएको एमाले निकट मानिएका महासंघका पूर्व अध्यक्षहरुको टोलीले बिहीबार ज्ञापन पत्र लिएर बालकोट पुगेका थिए । महासंघका पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पद्म ज्योती,प्रदिप कुमार श्रेष्ठ,रविभक्त श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ,कुशकुमार जोशी,सुरज बैद्य र भाष्करराज कर्णिकारले संयुक्त हस्ताक्षर गरेर बुझाएको ज्ञापन पत्रमा देशको संक्रमणकाल अन्त्यका लागी प्रमुख विपक्षी दलका नेताको हैसियतमा ओलीले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गरेका थिए । ज्ञापन पत्रमा वाम गठबन्धनको दुई तिहाइ आसपासको बहुमतले देश अब स्थिरताको यात्रामा अघि बढेको महशुस भएको उल्लेख गरिएको छ । 

उनीहरुसँगको भेटमा ओलीले ०४६ सालको परिवर्तन पछि देशमा निजीकरणका नाममा भ्रष्टीकरण बढेको बताए । ‘नीजिकरण र उदारीकरणका नाममा देशमा भएका ३८ वटा उद्योगहरु काँग्रेसको पालामा बेचिए ’ ओलीले भने ‘जसले गर्दा स्वेदशमा भएको रोजगारी समेत गुमेर आज लाखौं युवा खाडीमा पसिना बगाइरहेका छन् ।’ ओलीले आगामी सरकारले स्वदेशमै राम्रो पारिश्रमिक सहितको रोजगारीको व्यवस्थामा ध्यान दिने बताएका छन् ।

सम्पती शुद्धीकरणका नाममा व्यावसायीहरुलाई आफ्नो पुंजीलाई सहज ढंगले परिचालन गर्न रोक लगाएकोमा ओलीले बताए । ‘आफ्नै खाताबाट १० लाख रुपैंया भन्दा बढी रकम झिक्न बन्धेज लगाएपछि लगानीको वातावरण कसरी बन्छ ?’ ओलीको प्रश्न थियो ‘सरकारको काम  लगानी मैत्री वातावरण बनाएर व्यावसायीसंग कर उठाउने हो तर अनावश्यक बखेडा झिकेर गैर कानुनी रकम आजर्न गर्ने होइन । ’

ओलीले आगामी सरकार देश निर्माणका लागी निजी क्षेत्रसंग हातमालो गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी नेपाल माडबाडी सेवा परिषद् पनि ओलीलाई भेट्न बालकोट गएका छन् । बालकोट मै अध्यक्ष ओलीलाई बधाइ दिन आएको परिषद केन्द्रीय समितीसँग कुरा गर्दै ओलीले माडवारी समुदायले देशको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । 

तर यो समुदायलाई केही राजनीतिक दलले दुहुनो गाई बनाएको दृष्टान्त दिदैं वाम गठबन्धनका विरुद्ध विपक्षीले फैलाएका हल्लामा नलाग्न ओलीले परिषदलाई आग्रह गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ