arrow

सन् २०३० मा ५० लाख पर्यटक नेपाल भित्राउने उद्देश्य

logo
प्रकाशित २०७४ मंसिर २८ बिहिबार
tourism.JPG

काठमाडौं । प्यासिफिक एशिया ट्राभल एशोसियसन (पाटा) नेपाल चाप्टरले सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्राउन ‘भिजन ५ मिलियन योजना’ सार्वजनिक गरेको छ । बुधबार पाटाको ४१ औं साधारणसभाको कार्यक्रममा पाटाले सरकार र निजी क्षेत्र मिलेर सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक ल्याउने मिसन बनाएको हो ।

पाटाले भिजन ५ मिलियन योजनालाई सार्वजनिक गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा ब्राण्डिङ गरी पर्यटकलाई नेपाल ल्याउनका लागि पहलकदमी भूमिकासमेत खेल्ने जनाएको छ । पाटाले संयुक्त राष्ट्रसंघको पर्यटनसम्बन्धी सहश्राब्दी विकास लक्ष्य अनुरुप सन् २०३० सम्म नेपालमा ५० लाख पर्यटक भित्र्याउने गुरुयोजना बनाएको हो ।

साधारणसभामा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले नेपालमा पर्यटक भित्राउनका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिनुपर्ने बताए । ‘निजी क्षेत्रले मात्र काम गरेर हुँदैन त्यसका लागि सरकारले पनि पूर्वाधार निर्माण गर्नुपर्छ, सरकारले अधिक पर्यटक भित्राउन पूर्वाधार निर्माणमा जोड दिएको छ,’ उनले भने । 

निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम चाडो सकेको खण्डमा पर्यटन क्षेत्रमा ठूलो परिवर्तन आउने न्यौपानेले बताए । ‘भारत र चीनका पर्यटकलाई लक्षित गरेर कार्यक्रम बनाउन सकेमा मात्र पनि ठूलो संख्यामा नेपालमा पर्यटक आउँछन्,’ उनले भने ।  

कार्यक्रममा राष्टिय योजना आयोगका पूर्व उपाध्यक्ष डा युवराज खतिवडाले पर्यटनमार्फत मुलकको आर्थिक विकास संभव रहेकाले पूर्वाधार विकासमा नै जोड दिनुपर्ने बताए । पूर्वाधार विकासका लागि सरकार र निजीक्षेत्र मिलेर काम गर्नुपर्छ, उनले भने । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दीपकराज जोशीले पर्यटकीय संभावना बोकेका नयाँ गन्तब्यको खोजी गरी ब्यापक प्रवद्र्धनमा साझेदारिताकासाथ अघि बढाएमा हाम्रा योजनाले सार्थका पाउने बनाए । 

पाटा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सुमन पाण्डेले भूकम्पपछिको पर्यटनको अवस्था सामान्य बन्दै गएकाले अब पर्यटनमा व्यापाक लगानी र प्याकेजको आवश्यकता परेको बताए । ‘अब बन्ने सरकारले पनि सन् २०३० सम्ममा ५० लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ हामीले पनि त्यहि लक्ष्यलाई भिजन बनाएका छौं,’ उनले भने । अब सरकारसँग मिलेर काम गर्नुपर्ने बेला आएको उनले बताए ।

पाटाको ४१ औँ साधारणसभाले पर्यटन व्यवसायी सुनिल शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पाटाको निर्वतमान अध्यक्षमा सुमन पाण्डे, प्रथम उपाध्यक्षमा नेपाल  पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, उपाध्यक्षमा नेपाल वायु सेवा निगमका ‘कर्पोरेट’ निर्देशक जनकराज कालाखेती, महासचिवमा विभुतिचन्द ठाकुर र कोषाध्यक्षमा शिवप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै सदस्यमा नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उडडनपाधिकरण (क्यान) पदेन सदस्य रहेका छन् भने अन्य सात जना निजी क्षेत्रबाट सदस्य चयन भएका छन । साधारणसभाले हिमालयन टाभल मार्ट तथा इन्टरनेश्नल टाभल ब्लगर्स एन्ड मिडिया कन्फ्रेन्स –२०१८ नेपालमा आयोजना गर्ने निर्णय पनि गरेको छ । यस्तै साधारणसभाले पाटा नेपालको पोखरा च्याप्टर स्थापना गर्ने समेत निर्णय गरेको छ ।

यसैबीच पाटाले नेपालको पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जना पर्यटन व्यवसायिलाई पदान गर्ने पाटा ‘पर्सनालिटी अवार्ड–२०१७’ बाट वरिष्ठ पर्यटन व्यवसायी तथा सकारात्मक सोचका अभियानता कर्ण शाक्यलाई सम्मान गरेको छ । पाटा नेपाल च्याप्टरले यो वर्षबाट ‘बेष्ट स्टुुडेन्ट्स च्याप्टर अवार्ड’ बाट नेपाल कलेज अफ ट्राभल एण्ड टुरिजमको स्टुडेन्ट्स च्याप्टरलाई पदान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ