arrow

८१ लाख मत गणना : संसद्मा काँग्रेस दोस्रो, माओवादी तेस्रो !

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
election_update.JPG

काठमाडौं । समानुपातिक निर्वाचन प्रणाली तर्फ निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार ८१ लाख भन्दा बढी मत गणना सुरु भईसकेको छ । शुक्रबार दिउँसोसम्मको मतपरिणाम अनुसार ८१ लाख ११ हजार ८ सय ९१ मत गनेर सकिएको छ । 

अहिलेसम्मको यो तथ्यांकको आधारमा नेकपा एमाले पहिलो पार्टी, नेपाली काँग्रेस दोस्रो पार्टी र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी बन्ने देखिएको छ । अझै २० लाखको हाराहारीमा मत गन्न बाँकी रहेकोले यसलाई नै आधिकारिक मान्न सकिने अवस्था भने छैन । 

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत् भएको मतमा ३ प्रतिशत मत नपुर्याएको दलको मत नै गणना नहुने भएकोले यो समाचार तयार पार्दासम्म ५ वटा दलहरुले मात्रै राष्ट्रिय दलको मान्यता पाउने गरी ३ प्रतिशत थ्रेस होल्ड कटाएका छन् । अहिलेसम्मको तथ्यांक अनुसार कूल सदर मतको ३ प्रतिशत हुन आउने २ ला ४३ हजार मत ल्याउने दलको मात्रै ३ प्रतिशत मत आएको मानिने छ । अहिलेसम्मको प्राप्त मतपरिणाममा छैटौं हुने दल विवेकशील साझा पार्टीले कूल २ लाख ४ हजार मत मात्रै ल्याएकोले विवेकशीलको पनि मत ३ प्रतिशत पुग्ने सम्भावना देखिएको छैन । 

यस्तो अवस्थामा संसद्को सबैभन्दा ठूलो दल बन्न लागेको नेकपा एमालेको ४२ सिट आउने देखिएको छ भने नेपाली काँग्रेसको अहिलेकै अवस्थामा ६० सिट आउने देखिएको हो । तेस्रो हुने नेकपा माओवादी केन्द्रको १७ सिट र चौथो हुने संघीय समाजवादी फोरमको ६ सिट समानुपातिकमा आउने देखिन्छ । राजपपाको भने ५ सिट आउने देखिन्छ । 

यस्तो अवस्थामा ठूलो पार्टी एमालेको प्रत्यक्ष तर्फ कूल ८० सिट रहेकोमा समानुपातिक तर्फ ४२ सिट जोड्दा कूल १ सय २२ सिट हुन्छ भने नेपाली काँग्रेसको प्रत्यक्ष तर्फ २३ सिट र समानुपातिक तर्फ ४० सिट गर्दा कूल ६३ सिट हुन आउँछ । माओवादीको भने प्रत्यक्ष तर्फको ३६ सिट र समानुपातिकमा अहिलेको अवस्थामा १७ सिट जित्दा उसको जम्मा ५३ सिट मात्रै आउँछ । यस्तो अवस्थामा नेकपा माओवादी संसद्को तेस्रो ठूलो दल हुनेछ भने काँग्रेस दोस्रो ठूलो दल बन्नेछ । 

यो प्रारम्भिक मत परिणामको आधारमा मात्रै तयार पारिएको सिट संख्या हो । यसको पूरा नतिजा भने पूरै मत गनिसकेपछि नै आउने छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ