arrow

ओली-प्रचण्ड वार्ता : अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक नछाड्ने प्रचण्डको अडान 

logo
प्रकाशित २०७४ मंसिर २९ शुक्रबार
oli_prachanda.jpg

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले आफूहरुबीच भएको पूर्व सहमति अनुसार शक्ति बाँडफाँडमा आफ्नो अडान कायम राखेका छन् । शुक्रबार दिउँसो दुई नेताहरुबीच भएको वार्ताका क्रममा अध्यक्ष प्रचण्डले पूर्व सहमति अनुसार पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक कार्यकारी पद आफूले पाउनु पर्ने अडान दोहोर्याएको स्रोतले जानकारी दिएको छ । उनीहरुबीच वार्ता सकिएपछि राष्ट्रपतिसँग पनि वार्तामा भएका कुराकानी सुनाउने सहमति भएको छ । 

लामो समय पछिको भेटका क्रममा राष्ट्रिय सभा गठन र राष्ट्रपतिकहाँ पुगेको सो सम्बन्धी अध्यादेशको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल समेत भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ । शुक्रबार विहान मात्रै एमालेमा ओली निकट मानिने महासचिव ईश्वर पोखरेलले सार्वजनिक कार्यक्रममा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष ओली नै बन्नुपर्ने बताएपछि भएको दुई अध्यक्षहरुको भेटलाई महत्वपूर्ण रुपमा लिईएको छ । 

तुरुन्तै दुई पार्टीबीच एकीकरण गर्ने सहमति गरेका यी दुई पार्टीअध्यक्षहरुबीच लामो समयपछि भएको भेटका क्रममा शक्ति बाँडफाँड, सत्ता साझेदारी र पार्टी एकीकरणको बारेमा पूर्ण तयारी सहित छलफल भएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । 

शुक्रबार दिउँसो भेटपछि प्रचण्डको सचिवालयले छलफलमा नयाँ सरकार गठन, पार्टी एकता प्रकिया, राष्ट्रिय सभाको गठन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर छलफल भएको उल्लेख गरेको छ । अध्यक्ष प्रचण्ड र ओलीबीच भएको छलफलमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र कम्युनिष्ट गठबन्धन परिणाममूखी भएको निष्कर्ष पनि निकालिएको जनाएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ