arrow

मञ्चमै किन भक्कानिए महामन्त्री लिङ्देन ?

logo
प्रकाशित २०७४ पुष २ आइतबार
lingden-kamal.jpg

झापा । दुई सय ७५ जनाको प्रतिनिधिसभाका लागि राप्रपाले मुलुकभरबाट एक सिट मात्र जित्यो । राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट विजयी हुँदै राप्रपाको इज्जत जोगाए ।

लिङ्देनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई भारी मतान्तरले पराजित गरेर चर्चित बने । झापा–३ बाहेक राप्रपाले कहीँ पनि जित निकाल्न सकेन । मकवानपुर–१ बाट राप्रपाका अध्यक्ष कमल थापा पनि पराजित भए ।

राप्रपाको इज्जत जोगाएका तिनै राजेन्द्र लिङ्देनलाई बधाई दिन उपप्रधानमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष थापा शनिबार झापा पुगे । बिर्तामोडको अग्रशेन भवनमा आयोजित कार्यक्रममा पुगेर महामन्त्री लिङ्देनलाई गल्र्याम्म अँगालो हालेर बधाई दिए । र, सम्मानपत्रद्वारा सम्मान पनि गरे ।

लिङ्देनलाई बधाई दिन राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, सहमहामन्त्री राम थापा, अन्य केन्द्रीय सदस्यहरु र पार्टीका जिल्लास्थित नेता तथा कार्यकर्ताको समेत उपस्थिति थियो ।

‘लिङ्देन राप्रपाका गौरव’

कार्यक्रममा मन्तव्य राख्दै राप्रपा अध्यक्ष थापाले लिङ्देनलाई ‘राप्रपाका गौरव’को संज्ञा दिए । उनले महामन्त्री लिङ्देनलाई पटक–पटक ‘मेरो भाइ’ भनेर सम्बोधन गरे ।

 ‘आज मेरो मनभित्र रहेका भावनाहरुलाई सही शब्दमा व्यक्त गर्न सक्ने क्षमता मसँग छैन, त्यति धेरै खुशी लागेको छ,’ थापाले भने, ‘राप्रपाका उदीयमान नेतृत्व मेरा भाइ राजेन्द्र लिङ्देन, जसको काँधमा आज मात्र होइन भोलिको राप्रपाको पनि जिम्मेवारी छ, त्यस्तो व्यक्ति आज झापाबाट संसद्मा अत्यधिक बहुमतबाट विजयी हुनुभएको छ, म हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

२० मिनेट सम्बोधन गरेका अध्यक्ष थापाले लिङ्देनको खुलेरै प्रशंसा गरे । विद्यार्थी जीवनदेखि नै राष्ट्रवादी भावना मनभित्र बोकेर संघर्षमा रहेको र पार्टी स्थापनाकालदेखि रगत पसिना बगाउँदै पार्टीलाई यो अवस्थासम्म ल्याउनका लागि लिङ्देनले महत्वपूर्ण योगदान पुर्याएको थापाले स्मरण गरे ।

 ‘यही बिर्तामोडमा विरोधीहरुले सांघातिक आक्रमण गरे, मरेको भन्ठानेर छोडेर गएका थिए,’ थापाले स्मरण गरे, ‘आज उहाँ देशको गरिमामय सदनको निर्वाचित सदस्य हुनुभयो ।’ 

लिङ्देनको विजयलाई सुनिश्चित गरेकोमा पार्टीका कार्यकर्ता र मतदातामा अध्यक्ष थापाले धन्यवाद ज्ञापन गरे । लिङ्देनलाई विजय गराउन सहयोग तथा सहकार्य गर्ने राजनीतिक दलप्रति पनि आभार प्रकट गरे ।

‘मलाई पूरा आत्मविश्वास छ, संसद्मा राजेन्द्र लिङ्देनको उपस्थितिको उचाई र वजन यति धेरै हुनेछ कि हामीलाई संख्या कमीको कहिल्यै महसुस हुने छैन,’ थापाले भने, ‘सदनमा उहाँको आवाज र बिचार सुन्नका लागि सबै राजनीतिक दलका नेताको कान ठाडा हुनेछन्, हाम्रा बिचार र भावनालाई शसक्त ढंगबाट संसद्मा प्रस्तुत गरेर हामी सबैलाई उहाँले गौरवान्वित तुल्याउनुहुनेछ ।’

लिङ्देनको विजयको खुशीयाली मनाउन उपस्थित अध्यक्ष थापाले पार्टीले अकल्पनीय र निराशाजनक पराजय भोगेको बताए । निर्वाचनमा हार र जित स्वभाविक भए पनि यसपटकको परिणाम अत्यन्तै निराशाजनक र अनपेक्षित रहेको उनको भनाइ थियो ।

पार्टी अध्यक्षका नाताले सम्पूर्ण नैतिक जिम्मेवारी आफैँले लिने थापाले बताए । उनले अब मुलुकमा शान्ति र स्थायित्व कायम हुने विश्वास व्यक्त गर्दै देश आर्थिक विकास र सिम्बृद्धिको दिशातर्फ उन्मुख हुने बताए ।

‘मेरो हारलाई मैले त्यति महत्व दिएको छैन, धेरैपटक यसअघि पनि चुनाव हारेको छु, यो हारले मलाई कति पनि विचलित बनाउँदैन,’ थापाले भने, ‘तर, समानुपातिकमा पनि अपेक्षा गरेको मत पाइएन । ३ प्रतिशत मत पनि प्राप्त गरेनौँ । हिन्दू राष्ट्र र राजतन्त्रको सिद्धान्त बोकेको पार्टीलाई जनताले भोट दिएनन्, यो वास्तविकता मेरा लागि अत्यन्त पीडादायक बनेको छ ।

जब लिङ्देन भावुक बने‘

अध्यक्ष थापाको हातबाट सम्मान ग्रहणपछि मन्तव्य राख्न माइक्रोफोन समातेका लिङ्देन बोल्नै सकेनन् । निकै भावुक बनेका लिङ्देनको गला अवरुद्ध थियो । उनी पटक–पटक भक्कानिए । सधैँ निडर र दह्रो मन भएका लिङ्देन यसरी भावुक बनेको देखेपछि हलमा उपस्थित धेरै नेता तथा कार्यकताले आँशु थाम्न सकेनन् । विजयको खुशीयाली मनाउन जम्मा भएका कार्यकर्ताले हर्षका आँशु बगाए ।

कार्यक्रममा पार्टी अध्यक्ष थापालाई लिङ्देनले वर्तमान युगको भीमशेन थापाको संज्ञा दिए । ‘अध्यक्षज्यूको देशभक्ति र धर्मप्रेमलाई यो देशले बुझन सकेन, अहिले उहाँ सबैभन्दा बढी अपजसको शिकार हुनुभएको छ,’ लिङ्देनले भने, ‘म आभार व्यक्त गर्न चाहन्छु, जसले आफू हार्न तयार रहेर पनि मेरो जितलाई सुनिश्चित बनाउनुभयो, यो कुरा धेरै साथीहरुलाई थाहा छैन ।’ उनले अब पनि अध्यक्ष थापाकै नेतृत्वमा पार्टी अगाडि बढ्ने बताए ।

कांग्रेसले बेइमानीको राजनीति गरेपछि अध्यक्ष थापाले वामपन्थी गठबन्धनसँग सहकार्य गर्न महत्वपूर्ण भूमिका निभाएर आफ्नो जित सुनिश्चित गरेको भन्दै लिङ्देनले आफू सधैँ ऋणि रहने बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ