arrow

५ नम्बर प्रदेशको राजधानीमा बखेडा, कपिलवस्तु बनाउन माग

logo
प्रकाशित २०७४ पुष २ आइतबार

जितपुर । प्रदेशको राजधानी कपिलवस्तु बनाउन यहाँबाट नवनिर्वाचित प्रतिनिधिसभाका सांसद तथा प्रदेशसभाका विधायकले माग गरेका छन् । 

शनिबार तौलिहवामा राखिएको सम्मान तथा स्वागत कार्यक्रममा सांसद तथा विधायकले हरेक दृष्टिले प्रदेशको राजधानी कपिलवस्तु नै उपयुक्त हुने भन्दै राजधानी बनाउन जोडदार माग गरेका हुन् । 

भगवान् गौतम बुद्धका पिता शुद्धोधनको राजधानी तिलौराकोट रहेको र बुद्धसँग सम्बन्धित सयबढी पुरातात्विकस्थल यस जिल्लामा रहेकाले प्रदेश नं ५ को राजधानी कपिलवस्तु नै अति उत्तम हुनेमा सबैको जोड थियो । 

कपिलवस्तु क्षेत्र नं १ का नवनिर्वाचित सांसद चक्रपाणि खनाल बलदेवले भौगोलिकरुपमा पनि ५ नं प्रदेशको केन्द्र कपिलवस्तु नै पर्ने र सांस्कृतिक, पुरातात्विक दुवै हिसाबले राजधानीका लागि उपयुक्त ठाउँ भएको विचार व्यक्त गरे । 

त्यस्तै अर्का सांसद बृजेशकुमार गुप्ताले पनि बौद्धकालीन संघीय राज्य कपिलवस्तु रहेको र गणतन्त्रको संघीय राजधानी पनि कपिलवस्तुमै हुनुपर्ने जिकिर गरे । 

कार्यक्रममा प्रदेश विधायक विष्णु पन्थी, दीर्घनारायण पाण्डे, धर्मबहादुरलाल श्रीवास्तव, अर्जुन केसी लगायतले पनि प्रदेश राजधानी कपिलवस्तु बनाउन सदन तताउन परे पनि तयार भएको उद्घोष गरे । 

पूर्वाधार अध्ययनका लागि प्रधानमन्त्री कार्यालयबाट खटिएको सरकारी टोलीले बुटवलमा पर्याप्त पूर्वाधार भेटिएकाले तत्काल प्रदेश राजधानीका रुपमा बुटवल नै उपयुक्त हुने निष्कर्ष निकालेकै दिन कपिलवस्तुका सांसदको भने यस्तो भनाइ आएको हो । 

उता संविधानको धारा २८८ को उपधारा २ मा भने संविधानबमोजिमका प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुनेछ भन्ने कुरा उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ