arrow

‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अब बन्नै मुस्किल, यसरी चौपट पारिँदै’

पोखरा विमानस्थलका हाकिमलाई वाम गठबन्धनको सरकार आउनु अघि नै चिठ्ठा

logo
प्रकाशित २०७४ पुष २ आइतबार
Nijgadh-airport-445x300.jpg.jpeg

काठमाडौं । बहुप्रतिक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नेमा अब ठूलो शंका उब्जिएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई ईकाईमा झारिएसँगै चलखेल सुरु भएको छ । सबै भन्दा बढी भूभागमा फैलिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना अहिले एउटा इकाईमा झरेको छ ।

नेपाल नागरिक उडडयन प्राधिकरणको महानिर्देशको मातहतमा रहने गरी गठन भएको राष्ट्रिय गौरव आयोजना प्राधिकरण अन्तर्गत अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना र गौतमवुद्ध विमानस्थल, सुदृढीकरण कार्य (आयोजना) इकाईको रुपमा रहेका छन् ।

जसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको अस्तित्व समाप्त भएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख र गौतमवुद्ध विमानस्थल, सुदृढीकरण कार्य आयोजना प्रमुखहरु भूमिका विहिन छन् । स्रोतका अनुसार रोचक त के छ, भने, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखले भाग्य चम्काएका छन् । आइतबार उनीसँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।

उनलाई नेपाल नागरिक उड्डयन प्राकिरणले राष्ट्रिय गौरव आयोजना प्राधिकरण प्रमुखको जिम्मेवारी दिएको छ । दुई आयोजना प्रमुखको भने छ महिना वितिसक्दा समेत भूमिका तोकिएको छैन । उनीहरु काम विहिन छन् । तीनै आयोजनाको हेड भएपछि पोखरा विमानस्थल निर्माण आयोजना प्रमुख प्रदीप अधिकारी स्मार्ट भएका छन् । मिश्रित सेवा समूहतर्फका उनी एकै पटक ९औँबाट ११औँ तह पुगे । उनी रेगुलेटरी बडी तर्फका अधिकारी हुन् । तर, उनलाई नै तीन वटै आयोजनाको हाकिम बनाउन निकै चलखेल भएको स्रोतले बताएको छ ।

११औँ तहका उनीसामु १२औँ तहका कर्मचारी समेत थर्कमान हुन् गरेका छन् । उनी प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम बाहेक कसैको कुरा खाँदैनन् । पोखराको काम कार्गो कम्पलेक्स सिनामंगल काठमाडौँबाटै भ्याउने गरेका छन् । त्यतिमात्रै होइन उनले तीनै आयोजनाबाट आफ्नो भनेको खाने व्यक्तिलाई टीका लगाईदिएर सोझै नियुक्ति गर्ने गरेको समेत खुलेको छ।

अनुभवि कर्मचारी तथा इन्जिनियरहरु सबै पीडित भएका छन् । नागरिक उड्डयन प्राधिकरणले २०७४-०८-११ मा पठाएका दुई पत्रमा एउटामा राष्ट्रिय गौरव आयोजना प्राधिकरण गठन भएको जानकारी सम्बन्धमा छ भने अर्को प्रदीप गिरीलाई तिनै आयोजना हेर्ने जिम्मेवारी दिएको सम्बन्धमा छ । जानकारीको पत्र २०७४–०८–१३ मा दर्ता भएको छ भने, गिरीलाई जिम्मेवारी दिएको पत्र २०७४–०८–१४ मा दर्ता भएको छ ।

तर, इकाईमा लगिएको ६ महिना वित्दा पनि पहिलेका आयोजना प्रमुखहरुलाई के भनेर जिम्मेजारी दिने भन्ने जानकारी समेत दिइएको छैन । बहुप्रतिक्षित आयोजनाहरुलाई इकाईमा ल्याइएपछि सबै भद्रगोल भएको छ । मन्त्रालयले इकाई चिन्दैन ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल विस्तृत योजना अध्ययन प्रतिवेदन डीपीआर तयार भएको छैन । वातावरणीय प्रभाव मूल्याङ्कन इआईएसमेत स्वीकृत हुन बाँकी छ । डीपीआर बन्नु पहिले इआईए हुन आवश्यक छ । इआईएलाई डीपीआरमा समावेश गरिनु पर्ने व्यवस्था छ । निजगढ विमानस्थल बन्दा उत्तरमा १० किलोमिटर र दक्षिणमा १५ किलोमिटर बन क्षेत्र मासिने छ । यसको इआईए महत्वर्ण मानिएको छ ।

राष्ट्रिय गौरवको आयोजनासँग जोडिएका एक अधिकारी भन्छन्, ‘पहिलेकै संरचनामा ठिक थियो । अहिले प्राधिकरणमा ल्याइएपनि वैधानिक व्यक्तिलाई नियुक्त गरेको भए ठिकै थियो । प्राधिकरण प्रमुखको नियुक्ति नै गैर कानुनी छ । सेवा र समूह मिल्दैन । त्यस्तो व्यक्तिबाट गर्न खोजिएको के हो ? यसलाई निजीकरण गरिएको छ । मनसाय नै गलत छ । जसले अब आयोजना नबन्ने सम्भावना निकै बढेर गएको छ ।’

पोखरा विमानस्थल निर्माणको आयोजना प्रमुख रहेका प्रदीप अधिकारी एमाले निकट हुन् । वाम गठबन्धनको सरकार आउनु अघि नै उनलाई चिठ्ठा परिसकेको छ ।

२०७४ पुसभित्र निर्माण सक्ने भनिएको गौतमबुद्धको काम चौपट
भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप एक वर्ष ढिलो हुने भएको छ । २०७४ पुसभित्र निर्माण सक्ने गरी २०७१ माघ १ गतेबाट निर्माण शुरु भएको राष्ट्रिय गौरवको आयोजना ठेकेदार कम्पनीको लापर्बाहीका कारण एक वर्ष लम्बिने भएको हो ।

‘नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप’ नामको चिनियाँ कम्पनी मुख्य ठेकेदार कम्पनी र नेपाली स्थानीय ठेकेदारबीचको विवादले निकै समय निर्माणको काम अवरुद्ध भएको थियो । शुरुमा २७७ र थप ५०० गरी जम्मा सात सय ८७ बिगाहा क्षेत्रफलमा तीन किलोमिटर भन्दा लामो धावनमार्ग भएको भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । यसको कुल लागत छ अरब २२ करोड  छ ।

चार दशक देखिको सपना उस्तै
चार दशक अघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि भनेर जग्गा अधिग्रहण गरिएको थियो । गएको वैशाख महिनामा विमानस्थलको शिलान्यास भयो । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने रकमको जोहो भई चिनियाँ ठेकदार कम्पनी निर्माणको पूर्वतयारीमा जुटिसकेको अधिकारीहरुले बताएका छन्।

चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब २२ अर्बको लागतमा विमानस्थलको निर्माण कार्य चार वर्षभित्रमा पूरा हुने भनिएको छ । तर, अब शंका उब्जिएको छ । यसैका आयोजना प्रमुख अब तीन आयोजनाका हाकिम भएका छन् । उनले सबै आयोजनालाई अन्योलमा पारेका बताइँदै छ ।

अब निजगढको नाम हराउँदै
विश्वकै फराकिलो विमानस्थलको रुपमा लिइएको निजगढ विमानस्थलको डीपीआर नै तयार भएको छैन । काम सुरु हुने त धेरै परको कुरा हो । साढे ८ वर्गकिलोमिटर क्षेत्रफलमा निर्माण हुने अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको लागत अनुमानित १ खरब २१ अरब छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ