arrow

बुढीगण्डकी निर्माणमा यसरी जुटाइँदै छ स्रोत, प्रतिवेदन सरकारको हातमा (प्रतिवेदनसहित)

डा. वाग्ले भन्छन्–स्वदेशी स्रोतले पुग्छ

logo
प्रकाशित २०७४ पुष ३ सोमबार
wagle_-thapa.JPG

काठमाडौं । बुढीगण्डकी जलपिद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाका तयार गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।

सोमबार डा.वाग्ले नेतृत्वको समितिले उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको १२, १३, १४ र १५ नम्बर बुँदामा आयोजनाको ठेक्का मोडालिटी, आर्थिक सम्भाव्यता, लगानीका विकल्पहरु र स्वदेशी लगानीको खाका र विकल्पहरु उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझाएपछि उर्जामन्त्री थापाले समितिका सदस्यहरुलाई धन्यवाद दिएका छन् । प्रतिवेदनमा बुढीगण्डकी जलाशययुक्त आयोजना इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्ट्रक्सन (ईपीसी) मोडलमा विकास गरिने उल्लेख छ । जसका लागि ट्रयाक्टेवेल इन्जिनियरिङले बोलपत्र दस्तावेजहरु तयार पारी पेश गरिसकेको छ ।

आर्थिक सम्भाव्यतामा उत्पादित विजुली मूलभूत रुपमा स्वदेशमै उपभोग गरिने र नीतिगत प्रोत्साहन गरी स्वदेशमै खपत हुने भन्दा बढी ऊर्जा भएमा क्रसबोर्डर व्यापार पनि गर्न सकिने भनिएको छ । सुख्खायामको उर्जालाई नदी प्रवाही जलविद्युत् आयोजनाहरुको विद्युत् मूल्यलाई आधार मानी आयोजनाको आर्थिक मूल्य इकोनोमिक भ्येल्यू निकालिएको छ ।

जस अनुसार सुख्खायामको ऊर्जा प्रति मेगावाट घण्टा ४२५ अमेरिकी डलर र वर्षायामको ऊर्जा शून्य मूल्यमा निर्धारण भएको थियो । लगानीका विकल्पहरुमा सार्वजनिक स्वामित्वमा विकास, पूर्ण निजी स्वामित्वमा विकास र पूर्ण नीजि–सार्वजनिक स्वामित्वमा विकास भनिएको छ ।

फ्रान्सको ट्रयाक्टेवेल इन्जिनियरिङले तयार पारेको प्रतिवेदन अनुरुप यस आयोजनाको कुल लागत अमेरिकी डलरको हालको मूल्यमा करिब २ खरब ७० अरब रहेको छ । तर, आयोजना अवधिमा हुने मूल्यवृद्धि तथा कुनै कारणले आयोजना सम्पन्न गर्ने समयावधि बढ्न गएमा आयोजनाको लागत पुनः बढ्न सक्ने सम्भावना भएकाले यो प्रयोजनका लागि २ खरब ७० अरबलाई नै कुल लागन मानी विश्लेषण गरिएको, प्रतिवेदनमा उल्लेख छ ।

बुढीगण्डकीलाई स्वदेशी लगानीबाट निर्माण गर्न नेपाल सरकारले पेट्रोलियम इन्धन आयातमा लगाउँदै आएको ५ रुपैँया प्रतिलिटरको पूर्वाधार–कार्वन करलाई बलियो स्रोत मानिएको छ । नेपालमा पेट्रोलियम इन्धन खपतको विगत १० वर्षको तथ्याङ्क अनुसार  प्रत्येक वर्ष करिव १५ प्रतिशतले वृद्धि भएको देखिन्छ । विगत १५ वर्षको तथ्याङक हेर्दा यसको वृद्धि करिब १२ प्रतिशत रहेको देखिन्छ । यस्तै, बहुपक्षीय दातृसंस्थाहरुबाट प्राप्त हुने ऋण, सहुलियतपूर्ण ऋण, आम जनताको सहयोग, कार्वन व्यापार आदीलाई पनि स्रोत मानिएको छ ।

स्वदेशी स्रोतले पुग्छ : वाग्ले
योजना आयोगका उपाध्यक्ष एवं समिति संयोजक डा.वाग्लेले स्वदेशी स्रोतले नै बुढीगण्डकी निर्माण हुने बताएका छन् । प्रतिवेदन बुझाएपछि हाम्राकुरासँग कुरा गर्दै डा. वाग्लेले भने, ‘स्वदेशी स्रोतले नै पुग्छ । यदी पुगेन भने बाह्य स्रोतको बाटो खुला राखिएको छ । पहिलो प्राथमिकता स्वदेशी स्रोतमै हुन्छ ।’

उनले नपुगेको खण्डमा सरकार जमानि बसेर बाह्य स्रोत लिन सकिने बताए । डा. वाग्लेले स्वदेशी स्रोत जुट्नेमा आफुहरु ढुक्क रहेको पनि सुनाएका छन् । वाग्लेले बुढीगण्डकी जलविद्युत आयोजना बनाउन ३ खरब ६७ अरब जुटाउन सकिने समेत बताएका छन् ।

समितिमा डा. वाग्ले संयोजक, राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, अर्थ सचिव शंकरप्रसाद अधिकारी, ऊर्जा सचिव अनुप कुमार उपाध्याय, ऊर्जाकै सहसचिव दिनेश कुमार घिमिरे सदस्य छन् । विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य सचिव छन् ।

प्रतिवेदन

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ