arrow

बामदेवले चुनाव हार्दा कसलाई फाइदा ? कसले गर्‍यो पार्टी ?

logo
प्रकाशित २०७४ पुष ४ मंगलबार
bamdev-gautem.jpg.jpeg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पार्टीको तहमा बलियो पकड राख्ने नेता हुन् । प्रायः उपाध्यक्ष पार्टीको तहमा छायाँमा पर्ने गरे पनि उनी संरचनागत ढाँचामा पगरी लगाइएका उपाध्यक्ष हैनन् । 

बामदेव भोलिका प्रधानमन्त्री हुन् । भोलिका पार्टी अध्यक्ष हुन् । त्यसैले पनि उनको खुट्टा तान्ने प्रवृत्ति व्यापक छ । कम्युनिष्ट गठबन्धन नभए पनि चुनाव जित्ने निश्चित भएका बामदेव झन् गठबन्धनको मत पाउँदा पनि किन हारे ? 

उनी एकमात्र कम्युनिष्ट गठबन्धनका सूत्रधार हुन् । उनलाई पछिल्लो समय मात्र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सघाएका थिए । 

भनिन्छ ०५२ सालमा तत्कालीन माओवादी सशस्त्र द्धन्द्ध चर्काउन जंगल गएदेखि नै बामदेवमा कम्युनिष्ट गठबन्धनको बीउ पलाएको थियो । 

आज २२ वर्षपछि त्यो सम्भव भएको छ । तर खुशीको उन्मादका बेलामा तिनै बामदेव निर्वाचनमा पराजित भएका छन् । 

निर्वाचनमा बेहोरेको हारका पछाडि ठूलै षड्यन्त्र भएको ठहर गर्दै उनले छानिबनका लागि तीव्रता दिएका छन् । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दबाब पनि उत्तिकै छ । उजुरीका चाङ छन् । 

उच्च स्रोतका अनुसार बामदेवलाई उनकै पार्टीबाट ठूलो षड्यन्त्र भएको छ । 

नाम नभन्ने शर्तमा स्रोतले हाम्राकुरालाई भन्यो, ‘उहाँले चुनावअघि गठबन्धनको रोजाइको प्रधानमन्त्री म नै हुँ भन्नुभयो, पार्टीलाई मिलाएकाले अरुलाई पनि त्यस्तै लाग्यो, अनि खुट्टा तान्ने काम शुरु भयो ।’ 

स्रोत थप भन्छ –‘लहरो तान्दा पहरो थर्किने डर हुन्छ अब यो विषयले प्रवेश पाएको छ, कतिका मेहनत सफल भएका छन्, कतिलाई नाफा–घाटा भएको होला, उपाध्यक्ष कामरेडले त्यसको हिसाब नलिइ चूप लागेर बस्नुहुनेछैन ।’

कसलाई भयो प्रत्यक्ष फाइदा ? 
उपाध्यक्षले हार्दा तत्काल चुनौतीको सामना गर्न नपर्ने भएकाले अध्यक्षलाई फाइदा हुनु स्वभाविकै हो । तर यतिबेला सबैभन्दा ठूलो फाइदा पार्टी महासचिव ईश्वर पोखरेललाई फाइदा भएको स्रोत बताउँछ । 

महासचिव नै भए पनि बामदेवका सामु टिक्न निकै कठिन हुने भएकाले पनि पोखरेल छायाँमा परेजस्ता हुन्थे । यसपटक त दुई दुई पटक चुनावमा हार बेहोरेपछि फेरि सांसद बनेका छन् । 

स्रोत भन्छ ‘मैले पनि सुनेको हुँ, आफैले देखेको हैन, तर ईश्वर कामरेडको नजिककैले भनेका थिए पार्टी र खुशीयाली भब्य थियो, अब सरकारमा पनि राम्रो पकड हुने भयो, पार्टीमा पनि हुने भयो भनेर ।’

अर्को एक स्रोत भन्छ, ‘ईश्वर कामरेडले सोचेजस्तो त नहोला, बामदेव कामरेड चुप लागेर बस्न सक्ने हुनुहुन्न, तर फाइदा भने ईश्वर कामरेडलाई भएकै हो ।’

कसलाई कति फाइदा र कसलाई कति घाटा भयो त्यो उनीहरु नै जानुन् । तर २० वर्षअघिको स्थानीय तहको निर्वाचनलाई एमालेमय बनाएर सफल पार्टी बनाउन जानेका बामदेव कुनै पनि बेला उठ्न सक्छन् र षड्यन्त्रकारीलाई अगाडि बढ्न दिन्नन् भन्नेमा उनी निकटकाहरु विश्वस्त छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ