arrow

आर्थिक समृद्धि र विकासको आगामी अभिभारा

logo
शारदा गौतम,
प्रकाशित २०७४ पुष ४ मंगलबार
With_Shasanka.jpg

काठमाडौं ।  देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भई प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक भइसकेकाले यति बेला सरकार निर्माणका बारेमा विभिन्न खाले बहस र छलफल भइरहेका छन् । दुई मुख्य कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका दलहरु मिलेर बनेको वामगठबन्धन साना शक्तिहरु मिलाएर कांग्रेस नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनसामु प्रत्यक्षतर्फको निर्वाचनमा हावी देखिनु अस्वभाविक होइन । प्रत्यक्ष तर्फको निर्वाचनबाट एमाले ठूलो दल र माओवादी दोस्रो ठूलो बन्दै गर्दा नेपाली कांग्रेस तेस्रो ठूलो दलमा खुम्चिनुपरेपनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत नेकपा एमाले र नेपाली कांग्रेसले प्राप्त गरेको मत भने झण्डै बराबरी नै छ ।

समानुपातिकतर्फको मतमा नेकपा एमालेले नेपाली कांग्रेसलाई झिनो मतान्तरले उछिनेको छ जसअनुरुप नेकपा एमालेले ४१ र नेपाली कांग्रेसले ४० सिट प्राप्त गर्ने देखिएको छ । वाम तालमेलका कारण प्रत्यक्षतर्फ उत्साहजनक मत ल्याएको माओवादी केन्द्रले भने समानुपातिकमा एमाले र कांग्रेसले ल्याएको मतको तुलनामा आधा पनि ल्याउन सकेन । अब माओवादीले समानुपातिकबाट जम्मा १७ सिट प्राप्त गर्ने देखिन्छ । प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई १३ सिटले उछिनेको माओवादी केन्द्रलाई समानुपातिकमा २३ बढी सिट जितेर समग्रमा १० सिट बढी प्राप्त गरी नेपाली कांग्रेस दोस्रो ठूलो दल बन्ने लगभग पक्कापक्की छ ।

समानुपातिकतर्फ तालमेल गरेर चुनाव लड्न नमिल्ने भएकाले दलहरुको वास्तविक हैसियत यसले प्रतिविम्वित गरेको छ । यसरी हेर्दा नेकपा एमाले र नेपाली कांग्रेस झण्डै समान हैसियतमा छन् भने नेकपा माओवादी केन्द्रले आफूलाई यी दुई दलहरुको आधाआधीको स्थितिमा पनि प्रस्तुत गर्न सकेको छैन । यद्यपि लोकतन्त्रमा संसदीय अभ्यास र सरकार गठन कुनै पनि दलको वास्तविक हैसियतका आधारमा नभएर उसले जितेको सिटका आधारमा हुने भएकाले वामगठबन्धनको सहकार्य नटुटेको खण्डमा संघीय सरकार मात्र नभएर प्रदेश नम्बर २ मा बाहेक अन्य प्रदेश सरकार पनि वामगठबन्धनले बनाउन सक्ने देखिन्छ ।

निर्वाचनअघिको सन्दर्भलाई फर्केर हेर्दा निर्वाचनअघिको ठूलो दल नेपाली कांग्रेसले सामाजिक एवं आर्थिक समृद्धिको मार्गचित्र तयार गरेको थियो । चर्चित उद्योगपति नेपाली कांग्रेसका नेता विनोद चौधरीले तयार गरेको सामाजिक एवं आर्थिक विकासको मार्गचित्रमा आगामी दिनमा नेपाललाई आर्थिक समृद्धि र विकासको दिशामा अगाडि बढाउन गर्नुपर्ने कुराहरु उल्लेख गरिएको छ । देशमा राजनीतिक मुद्दा सकिएकाले आर्थिक समृद्धि र विकासको दिशामा अगाडि बढ्नुपर्ने भन्दै विनोद चौधरीले विज्ञ समूहसँग बसेर बनाएको मार्गचित्रका अंश अंश केलाएर हेर्ने हो भने आजको पुस्ताले चाहेको भोलिको नेपालको चित्र देख्न सकिन्छ । निर्वाचनपछि कांग्रेस फेरि पनि ठूलो शक्ति होला भन्ने ठानेर आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले आर्थिक समृद्धि र विकासका लागि गर्नुपर्ने कुराहरुको फेहरिस्तका रुपमा चौधरीले तयार गरेको मार्गचित्रको भविष्य कांग्रेसको प्राविधिक पराजयसँगै के हुने हो अलमल पैदा भएको छ ।

अहिलेको मत परिणामले संघीय र प्रादेशिक सरकारमा वामगठबन्धन वा कांग्रेस इतरका दलहरुको सहभागिता र बोलवाला हुने लगभग निश्चित जस्तै नै छ । चार दशकभन्दा बढी लामो उद्यमशीलताको अनवरत यात्रामा आफूले हासिल गरेको व्यवसायिक सफलताको अनुभवमार्फत् देशको सार्वजनिक र विकास प्रशासनमा सुधार र विकास गर्ने सोच अनुरुप विनोद चौधरी राष्ट्रिय राजनीतिमा आउन चाहेको भएपनि वामगठबन्धनको विजय र कांग्रेसको प्राविधिक पराजयका कारण आगामी पाँच वर्ष आफ्नो सोच अनुरुप काम गर्नका लागि चौधरीलाई खासै सहज नहुने देखिन्छ ।

देशमा शान्ति, अमनचयन र आर्थिक समृद्धिसहितको विकास होस् भन्ने चाहना राख्ने एक जना स्वतन्त्र नागरिकका लागि निर्वाचनमा पार्टी र व्यक्ति विशेषको जय र पराजय सर्वदा गौण नै रहन्छ । जस्तो कि आमसर्वसाधारणलाई वामगठनबन्धन वा लोकतान्त्रिक गठबन्धनको विजय वा पराजयले खासै अर्थ राख्दैन, जति अर्थ अबको पाँच वर्षमा हुने समग्र राष्ट्रकै आर्थिक समृद्धि र विकासको विषयले राख्दछ । आगामी पाँच वर्षका लागि उद्यमी चौधरीले जुन मार्गचित्र प्रस्तुत गरेका छन्, आमसर्वसाधारणको आँखाबाट हेर्दा त्यो अत्यन्तै सह्रानीय र स्वागतयोग्य छ ।

हो, विनोद चौधरी पूर्णकालीन राजनीतिमा लागेको उद्घोषसँगै नेपाली कांग्रेसको राजनीतिमा लागे र कांग्रेसलाई जिताउने अभियानमा एक महिनाको अवधिमा ४० भन्दा बढी निर्वाचन क्षेत्रमा उपस्थित भएर विभिन्न सभाहरुलाई सम्बोधन गरे । सक्रिय राजनीतिमा लागेको एक डेढ महिनाको छोटो अवधिमा कांग्रेसको आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकका रुपमा उनले यो मार्गचित्र तयार पारी सार्वजनिक पनि गरे ।

राजनीतिक संकुचनसहितको आँखाले हेर्ने हो भने विनोद चौधरी नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका व्यक्ति हुन् र उनले बनाएको सामाजिक एवं आर्थिक मार्गचित्र अनुरुप अगाडि बढ्न वामगठबन्धन वा कांग्रेस इतरका दलको नेतृत्वमा बन्ने सरकारलाई कुनै जरुरत छैन । अझ भनौँ, कांग्रेस इतरका दल सहभागी सरकारले कांग्रेसका विनोद चौधरीले निर्माण गरेको मार्गचित्रलाई अनुसरण गरेर त्यसको जस चौधरीलाई दिनु पनि छैन होला ! तर यदि देशमा राजनीतिक मुद्दा सकिएर सामाजिक र आर्थिक विकास गर्नुपर्ने बेला आएको हो र कोही कसैले व्यक्तिगत स्वार्थ एवं लाभ हानिका लागि राजनीति गरेका होइनन् भने चौधरीले तयार गरेको मार्गचित्रलाई अनुसरण गरेमा नयाँ सरकार आमसर्वसाधारणमाझ झनै लोकप्रिय हुन सक्ने देखिन्छ ।

विनोद चौधरीजस्तो एक जना सफल व्यक्तित्वले राष्ट्रको वृहत्तर हितका लागि व्यक्ति र पार्टीभन्दा माथि उठेर गरेको संकल्पसहितको मार्गचित्रलाई सत्ता प्राप्तिका लागि हुने गणितीय खेलमा पिसाएर नष्ट पार्नुहुँदैन, आम सर्वसाधारणले यही चाहना राखेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ