arrow

नौ घण्टापछि ग्याँस उद्योगको आगो नियन्त्रणमा

logo
बिजय चौहान,
प्रकाशित २०७४ पुष ५ बुधबार
gas-plant.jpg

वीरगन्ज । सुपर ग्याँस उद्योगमा लागेको आगो ९ घण्टापछि नियन्त्रणमा आएको छ । वीरगन्ज उपमहानगरपालिकाको वाड नं. २३ सुगौलीविर्तामा रहेको सुपर ग्याँसमा बुधवार विहान ६ बजेदेखि लागेको आगो अपराह्न २ बजेपछि नियन्त्रणमा आएको हो ।

स्थानीय बासिन्दा, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपालको विभिन्न जिल्ला तथा सिमावर्ती भारतीय सहर रक्सौलबाट आएका बारुणयन्त्रको सहयोगमा आगोलाई  नियन्त्रणमा लिइएको पर्साका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले जानकारी दिए ।

उनले आगो निभाउने सिलिन्डर (फएर इङ्गस्टमिशन) को सहयोगमा स्थानीय बासिन्दाले उद्योग भित्र रहेका ग्याँस बुलेटको आगो निभाएपछि बाँकी स्थानमा लागेको आगोलाई बाराको अमलेखगञ्ज तथा रक्सौलबाट आएका रसायन युक्त बारुणयन्त्रको सहयोगमा स्थानीय सुरक्षाकर्मीहरुले आगो नियन्त्रणमा लिएको बताए ।

ग्याँस उद्योग नजिकैको खेतमा दुई व्यक्तिको शव फेलापरेको जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी सिंहले मृतकको परिचय हाल यकीन हुन नसेको बताए । उनले वीरगन्ज महानगरपालिकाको बारुणयन्त्रका दुई जना कर्मचारी सम्पर्कविहीन भएपनि मृतक उनी नै भएको यकीन साथ भन्न नसकिने जानकारी दिए ।

आगलागीबाट उद्योगमा भएको क्षतिको विवरण हाल यकीन गर्न नसकिएको स्थानीय प्रशासनले जनाएको छ । उद्योगका लागि भारतबाट आयात गरिएको खाना पकाउने एल.पि.जी ग्याँस अन्लोड गर्ने क्रममा ग्याँस लिक भएको र सोही ग्याँसलाई नियन्त्रण गर्न घटनास्थल पुगेको बारुण यन्त्रको इन्जिनबाट आगो सल्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको स्थानीय प्रशासनले जनाएको छ ।

आगो निभाउन पुगेको बारुयन्त्रका अग्नी नियन्त्रक मधुसुधन मिश्र र यादव प्रसाद अधिकारी सम्पर्क विहीन रहेका छन भने उक्त घण्टामा परी बारुणयन्त्रका चालक अरुण कुमार  महतो र अग्नी नियन्त्रक सञ्जिव नेपाल गम्भीर घाइते भएको  प्रहरीले जनाएको छ ।

घाइते दुवै जनालाई नेपाली सेनाको हेलिकप्टरले थप उपचारको लागि काठमाण्डौको वीर अस्पतालको ट्रमा सेन्टर लगिएको प्रहरीले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ