arrow

दुई एमाले सचिवको पानी बाराबार, को बन्ला मन्त्री ?

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
pradip-gyawali-gokarna-bista.jpg

गुल्मी । बाम गठबन्धनको धनी जिल्लामा पर्छ गुल्मी । त्यसमा पनि प्रतिनिधिसभाको प्रत्यक्षमा जित्ने दुई भाग्यमानीमा दुवै जना नेकपा एमालेका प्रभावशाली नेताहरु । 
दुवै जना एमालेका सचिव । अर्थात् क्षेत्र नम्बर १ का विजेता प्रदीप ज्ञवाली र क्षेत्र नम्बर २ का विजेता गोकर्ण विष्ट । 
यसअघिको सरकारमा दुवै जना थिएनन् । विष्टले चुनाव जिते पनि मन्त्री बन्न पाएनन् । ज्ञवालीले आफ्नै पार्टीका नेताको अन्तर्घातले चुनाव हारे । मन्त्री बन्ने कुरौ भएन । 

यसपटक वाम गठबन्धनको बलियो साथले दुवैले सजिलै चुनाव जिते । यसमा जितको जश आपसमा बाँड्न परेन । 

०७० को निर्वाचनमा विष्टले अन्तर्घात गरेर ज्ञवालीले चुनाव हारेको चर्चा व्यापक भयो । गुल्मीमामात्र नभइ यसले पार्टी मुख्यालयमा पनि चर्चा पायो । तर पुष्टि भएन । 

सचिवको मामलामा गुल्मी धनी छ । तर फुटले गर्दा माहौल बिग्रिएको यहाँका पुराना वामपन्थी नेताहरु बताउँछन् । 

एक जना पुराना नेताले सुनाए, ‘कमरेडहरु दुवै जना परिचित हुनुहुन्छ, चर्चित हुनुहुन्छ, निष्कलंक हुनुहुन्छ, तर आपसको बेमेलले कार्यकर्ता मर्कामा परेका छन्, जिल्ला समृद्ध हुन पाएन, नयाँले उहाँहरुकै देखासिकी गरे ।’

उनी भन्छन्, ‘हुनत ओली कमरेड (एमाले अध्यक्ष केपी शर्मा ओली) र नेपाल कमरेड (एमालेका वरिष्ठ नेता) बीचको टकरावले अरु नेता पनि बाँडिनु भयो, यो दुर्भाग्य भयो, पार्टीको चुनावमा बाँडिनु स्वभाविकै हो, यहाँ त यो मेरो र यो तेरो मान्छे भनेर जरो गाडिएको छ ।’

ज्ञवाली ओलीको र विष्ट नेपालको मान्छे भनेर चिनिन्छन् । 

को बन्ला मन्त्री ? 
दुवै जना यसअघि नै मन्त्री भइसकेका हुन् । प्रदीप ज्ञवालीले पहिले नै मन्त्रालय सम्हाले । उनी कुनै कलंकमा रहेनन् । 

गोकर्ण विष्टले पनि उर्जा मन्त्रालय सम्हाले । बिजुली बाँडेर चर्चा बटुले । तर दोस्रो पटक उनी मन्त्री बन्न पाएनन् । 

उनीपछि मन्त्री बनेकी एमालेकै राधा ज्ञवालीले धेरै अपजश बोकिन् । धेरैलाई विष्टलाई सम्झिए । 

तर जनार्दन शर्मा (माओवादी केन्द्रबाट) मन्त्री बनेपछि विष्ट पनि बिर्सिइए । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणमा आएपछि बिजुलीले नेपालीलाई साथ दियो । विष्ट त केही पनि रहेनछन् भन्ने भयो । 

अहिले दुई मन्त्री एक मन्त्री बन्ने धेरैको अड्कल छ । तर दुवैको दाउ मन्त्री बन्ने कि अबको पार्टी महाधिवेशनबाट महासचिव बन्ने भन्नेमा छ । 

एमालेका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँहरु दुवैलाई अहिले समस्या छ, मन्त्रीमा अल्झने कि महासचिव बन्ने बाटोमा हिँड्ने ।’ 

उनी अगाडि थप्छन्, ‘वाम गठबन्धनले भने उहाँहरुलाई पनि झस्काएको छ, महासचिव पनि गुम्ने र मन्त्री पद पनि गुम्ने पो हो कि !’  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ