arrow

प्रकाशमान र गगनले आपसमा साटे बधाई, काँग्रेस कार्यकर्ता र शुभेच्छुकमा छायो खुशीको तरंग

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
gagan-prakashman.jpg

काठमाडौं। नेपाली काँग्रेसका नेता तथा पूर्व महामन्त्री एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह र काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाबीच बधाई साटासाट गरेको एक तस्विरले नेपाली काँग्रेसका आम कार्यकर्ता र शुभेच्छुकहरुमा खुशीको लहर पैदा गरेको छ। 

काठमाडौंबाट प्रतिनिधित्व गर्ने यी दुई नेता हालै सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा अनेक प्रतिकुल परिस्थितिबीचबाट निर्वाचित भएर आएका छन्। 

पार्टीभित्र आफ्नै छवि बनाएर यी नेताहरु अगाडि बढ्दै आएका छन् । सर्वोच्च कमाण्डर गणेशमान सिंहको तस्वीर मुनी सिंह निवास चाक्सीबारीमा भएको यो सद्भावपूर्ण मिलनले थप हौसला दिएको छ । एकताको सन्देश दिएको छ । 

पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा भए पनि अहिले देखिएको सद्भावले एक पटक समस्त काँग्रेस कार्यकर्तालाई जस्तोसुकै असहज परिस्थितिमा पनि मिलेर सहज वातावरणमा जान सकिने रहेछ भन्ने उदाहरण मिलेको छ । 

राजनीतिक जीवनमा सार्वजनिक शिष्टाचार मात्र देखिने गरेको यी नेताहरुको सम्वन्ध सौहार्द रहोस भनेर काठमाडौंका धेरै नेता कार्यकर्ता र शुभेच्छुकहरुको चासो रहँदै आएको थियो। तर कतिपयले उनीहरुको मेल नहोस भन्ने चाहना समेत राख्दै आएका थिए। 

तर आम चाहनालाई भने दुवै नेताले राम्रोसँग बुझेका थिए। चुनावको बेलामा एक अर्काको कार्यक्रममा गएर सम्वोधन समेत गरेका उनीहरु लोकलाजका लागि मात्र गएको धेरैले अर्थ्याएका थिए। 

तर दुवैले एक अर्कालाई खुला दिलले मत मागेका थिए। गगन थापामाथि बम आक्रमण भएका दिन प्रकाशमान सिंह सिफलको कार्यक्रममा उनलाई मत माग्नै पुगेका थिए। 

प्रतिनिधि सभाको चुनावमा काठमाडौंमा निर्वाचितहरुमा प्रकाशमानसिंह र गगन थापा एक एक जना आफ्ना समुहका नेता सहित निर्वाचित भए। 

काठमाडौंमा समान हैसियत बनाएका यी दुई नेताहरु भावि दिनमा सहकार्य गरेर अघी बढिदिए हुन्थ्यो भन्ने चुनावी परिणाम आउनुअघी देखिनै धेरैले सुझाएका थिए। 

काठमाडौंका आम कार्यकर्ता र समग्रमा पार्टी नै यि दुई नेता मिलिदिए पार्टी नै लाभान्वित हुन्थ्यो भन्ने धेरै चाहना थियो। 

धेरै शुभेच्छुकहरुको यहि भावनालाई पनि कदर गर्दै नेता गगन थापा आफ्ना पार्टी नेता प्रकाशमानसिंहको चाक्सिवारी निवासमा पुगे। 

२०४६ सालको जनआन्दोलनका कमाण्डर लौहपुरुष गणेशमान सिंहका पुत्र प्रकाशमानसिंहको चाक्सिवारी निवासमा पुगेर उनले चुनावमा जीतेको सिंहलाई वधाई दिए। आफ्नै घरमा वधाई दिन आएका थापालाई सिंहले टीका र खादा लगाइ वधाई दिए। 

दुई नेताले खुसी मुद्रामा एक अर्कालाई वधाई साटासाट गरेको तस्विर सार्वजनिक भए लगत्तै देशभर र संसारभर रहेका काँग्रेस नेता कार्यकर्ताले खुसी प्रकट गर्दै यो सम्वन्धलाई दिगो रुपमा अगाडी बढाउन आग्रह गरे। 

देश र जनताले आशा र भरोसा गरेका नेताहरुबीचको यो सम्वन्ध जुगजुगसम्म टिक्नुपर्ने आम काँग्रेसका शुभेच्छुकहरुको भनाइ छ। 

आफूहरुले जीतेपनि चुनावी परिणाम काँग्रेसको पक्षमा नआएपछि पार्टी सभापतिलाई रक्षात्मक बनाउने अभिव्यक्ति दिएका यी दुई नेताको वधाई साटासाँटको यो मिलनले पार्टी राजनीतिमा पनि महत्वपूर्ण संकेत समेत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ