arrow

प्रदेश सभाको सिट बाँडफाँड शुक्रबार मात्रै, निर्णयले रोकियो

logo
प्रकाशित २०७४ पुष ६ बिहिबार
Election-Commission-hamrakura-3.jpg.jpeg

काठमाडौं । प्रदेशसभातर्फको समानुपातिक निर्वाचनतर्फको सिट बाँडफाँड शुक्रबार मात्रै हुने भएको छ । निर्वाचन आयोगले विहिबार साँझ अबेरसम्म विवरण तयार पार्ने काम गरेपनि छलफल र अन्तिम निर्णय गर्न समय नपुगेको प्रवक्ता नवराज ढकालले हाम्राकुरालाई जानकारी दिए ।

उनले भने, ‘हामीले धेरै विवरणहरुको काम सकेका छौँ । तर, निर्णय गर्नु पर्ने र विवरण हेरफेर गर्नु पर्नेमा समय पुग्न सकेन ।’ आयोग पदाधिकारीहरुको बैठक पनि बस्नु पर्ने हुन्छ । सात वटै प्रदेशका लागि प्रदेशसभामा २२० स्थानमा दलहरूले प्राप्त गरेको सिट बाँडफाँटको घोषणा गर्ने आयोगको तयारी थियो ।

प्रदेश १ का  ३७, प्रदेश २ का  ३, प्रदेश ३ का ४४, प्रदेश ४ का २४, प्रदेश ५ का ३५, प्रदेश ६ का १६ र प्रदेश ७ का २१ गरी जम्मा २२० स्थानमा मङ्सिर १० र २१ मा समानुपातिकतर्फ मतदान भएको थियो ।
प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको एक दशमलव पाँच प्रतिशत अथवा त्यो भन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने छन् ।

दलहरूले प्राप्त गरेको कुल सदर मत गणना गर्दा एक दशमलब पाँच प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत दलले प्राप्त गरेको कुल मतमा गणना गरिने छैन । समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले ७७ वटै जिल्लाबाट दलहरूले प्राप्त गरेको मत परिणामलाई सात प्रदेश अनुसार केन्द्रीकृत गर्ने कार्यलाई पूर्णता दिएको छ ।

आयोगले राजनीतिक दलले प्राप्त गरेको सिट बाँडफाँट गरेपछि नतिजा सम्बन्धित राजनीतिक दललाई चिठीसाथ पठाउने छ । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले कुल खसेको सदर मतको गणना गरी प्रत्येक दलले प्राप्त गरेको मत खुलाई आयोगमा मत परिणाम घोषणाका लागि पेस गर्ने व्यवस्था छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ