arrow

कम्युनिष्ट गठबन्धनबीचको सहमति : नेपाली जनतामाथि गम्भीर धोका !

logo
प्रकाशित २०७४ पुष ८ शनिबार
oli-prachanda.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार भरतपुर आयोजित पत्रकार सम्मेलनमा एउटा कुरा खुलासा गरे । उनको त्यो खुलासासँगै कम्युनिष्ट गठबन्धनप्रति आस्था राख्ने धेरैको मन कुँडिएको छ । चुनावमा एक किसिमले भोट माग्न गएका धेरै कार्यकर्ताहरु विचलित बन्न पुगेका छन् । 

अध्यक्ष दाहालले बाम गठबन्धन जोडिने बेलामा सरकार पालैपालो चलाउने सहमति भएको बताए । यस विषयमा पहिलो पटक खुलाशा गर्दै दाहालले भने ‘ओलीजी र मेरो बीचमा प्रधानमन्त्रीका लागि आलोपालोको तरिका अपनाउने सैद्धान्तिक सहमति भएकै हो । पार्टी एकता भने यसैको लागि गठित संयोजन समिति बैठकबाट अन्तिम टुंगो लाग्नेछ।’

एमाले र माओवादी केन्द्रबीच असोज १७ गते चुनावी तालमेल भएको थियो । उनीहरुले यही तालमेलपछि प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि एक भएर चुनावी मैदानमा उत्रिए । एउटै घोषणापत्र ल्याए । त्यसमा जनतालाई समृद्धिको लागि स्थायी सरकारको आवश्यकता पनि औल्याए । उनीहरुले विभिन्न बुँदामा बाम गठबन्धनलाई बहुमत दिनु पर्ने आवश्यकता पनि औल्याएका थिए । तर, जनताले मत दिईसकेपछि अध्यक्ष दाहालले आफैंले जनतालाई धोका दिनेगरी गरेको सहमतिबारे खुलासा गरेका छन् । 

यसअघि ओली र दाहालमध्ये एकले पार्टी नेतृत्व, अर्कोले सरकार हाँक्ने सहमति भएको गाइँगुइँ चल्दै आए पनि सरकारै आलोपालो चलाउनेबारे कुनै चर्चा सार्वजनिक भएको थिएन। वाम गठबन्धनले स्थायी सरकार र आर्थिक समृद्धिको नारा दिएर चुनावमा भोट मागेको थियो। एमाले नेताहरुले त अहिलेसम्म सो अभिव्यक्ति स्वीकारेका छैनन् । नेपालको संविधानले नै २ वर्षसम्म सरकारको विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था गरेको छ । 

पालैपालो सरकार सम्झौताले कसरी भयो जनतालाई धोका ?

आलोपालो सरकार गठन गर्ने सहमतिसँगै जनताले स्थिर सरकारको लागि बाम गठबन्धनलाई दिएको मतको कदर नहुने भएको छ । जनताले दिएको मत केपी ओलीलाई आधा कार्यकाल र प्रचण्डलाई बाँडीँचुँडी खाऊ भनेर दिएको मत होईन । जनताले आर्थिक समृद्धिको सपना देखेर दिएको मतलाई अहिले आफ्नो स्वार्थ अनुसार प्रयोग गर्न लाग्नु नै जनतामाथिको धोका हो । 

उनीहरुले निर्वाचन अघि भएको सहमति जनतामा किन सार्वजनिक गरेनन् ? यो पनि उनीहरुमाथि सोध्नैपर्ने प्रश्न हो । उनीहरुको तर्क अनुसार सरकारको नेतृत्व परिवर्तन हुँदैमा राष्ट्रिय नीति नबदलिने भएकोले अहिले सरकार परिवर्तन हुँदैमा समस्या सिर्जना हुँदैन । तर, प्रधानमन्त्री परिवर्तन भएसँगै आ आफ्नो भागमा परेका मन्त्रालयहरु पनि सबै परिवर्तन हुन्छ । माओवादीकै नेताहरुको भनाई अनुसार पनि एमालेले प्रधानमन्त्री पाउँदा गृहमन्त्री माओवादीको तर्फबाट हुने निश्चित छ । यो पहिलेदेखि नै चल्दै आएको चलन हो । 

२ वर्षपछि प्रधानमन्त्री बदलिएपछि गृहमन्त्री पनि बदलिनु स्वभाविक हो । प्रधानमन्त्रीले आफू अनुकूलको अर्थमन्त्री राख्ने चलन छ । यसरी अर्थमन्त्री पनि आफ्नै अनुकूलको राख्न खोज्दा सरकारका प्राय अधिकांश मन्त्रीहरु परिवर्तन हुने निश्चित छ । 

अब कुरा आयो पार्टी एकीकरण भएपछि त्यस्तो हुँदैन भन्ने । नेकपा एमाले भित्रै पनि अहिले केपी ओली, माधव नेपाल र बामदेव गौतम भनेर गुटको राजनीति हुन्छ भने पार्टी एकीकरण भयो भन्दैमा एमाले र माओवादीबीच त्यति धेरै विश्वासको खेती होला भन्न पनि सक्ने अवस्था हुँदैन । यदि विश्वास थियो भने दुई दुई वर्षको नेतृत्वको सहमति किन गर्नुपथ्र्याे ? 

सरकार परिवर्तन हुँदा कसरी रोकिन्छ विकास ? 
अहिलेसम्म विकास नहुनुमा कर्मचारी तन्त्र हाबी हुनु नै मूल कारण हो भने दीर्घकालीन रणनीतिको अभाव अर्काे कारण हो । अहिले आउने सरकारहरु कति महिनामा फिर्ता जानुपर्ने हो भन्ने भर हुँदैन । त्यसैले उनीहरुले दीर्घकालीन रणनीतिको बारेमा सोच्नपनि सोच्दैनन् । जसरी चलिरहेको छ । त्यसैलाई निरन्तरता दिएर फर्किने गरेका छन् । 

यसरी केही महिनाको लागि आउने सरकारले न त प्रशासनिक प्रक्रियाबारे केही बुझेको हुन्छ न त आफैंले केही निर्णय नै गर्न सक्छन् । त्यस्तो अवस्थामा कर्मचारीको विश्वास गर्दा अविकासको काम सधैं पछि परिरहेको यथार्थ हामी सामु छ । केपी ओली र दाहालबीच भएको भनिएको सो सम्झौताले पनि यही अवस्थालाई निरन्तरता दिने प्रयास गरेको देखिन्छ । यो नै नेपाली जनताप्रति उनीहरुले दिएको गम्भीर धोका हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ