arrow

यहाँ पुग्यो एमाले–माओवादी एकता !

logo
प्रकाशित २०७४ पुष १० सोमबार
prachanda-oli.png

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलगत्तै पार्टी एकीकरण गर्नेगरी छ बुँदे सहमतिमार्फत चुनावमा होमिएका दुई कम्युनिस्ट नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणमा ढिलाइ भएपछि राजनीतिक वृत्तमा अनेक टीकाटिप्पणी सुरु भएको छ। 

एमाले र माओवादीबीच असोज १७ गते भएको सहमतिको पहिलो बुँदामा पार्टी एकीकरणको गृहकार्यका लागि एमालेबाट चार जना र माओवादी केन्द्रतर्फबाट तीन जना पदाधिकारी रहनेगरी पार्टी एकता संयोजन समिति समेत गठन गरिएको थियो। समितिको संयोजन दुवै दलका अध्यक्षले गर्ने सहमति छ।

निर्वाचनलगत्तै पार्टी एकीकरण प्रक्रिया सुरु हुने दुवै दलका नेताले बताउने गरे पनि निर्वाचन सम्पन्न भएको दुई साता बढी समय भइसक्दासमेत संयोजन समितिको औपचारिक बैठक समेत बस्न सकेको छैन। 

बैठक बस्न नसकेपछि पार्टी एकताप्रक्रिया नै धरापमा पर्ने आशङ्का कतिपय नेता तथा कार्यकर्ता पङ्क्तिमै देखिएको छ। तर एमाले स्थायी कमिटी सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दुई दलका नेताबीच औपचारिक बैठक बस्न नसके पनि आन्तरिक रूपमा अनौपचारिक छलफल र संवाद जारी रहेको दाबी गरे।

निर्वाचनपछि चुनावी क्षेत्रका मतदातालाई दिनुपर्ने धन्यवाद र भेटघाटका कारण धेरै समय त्यसमा लागेकाले शीर्ष तहका दुई नेताबीचको समय अभावले बैठक बस्न नसकेको दुवै दलका नेताको प्रस्टीकरण छ। 

दुवै दलका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को आन्तरिक व्यस्तताकै कारण औपचारिक बैठक बस्न नसकेको हो, तर अनौपचारिक संवाद निरन्तर भइरहको छ, उनले भने।

शनिबारका लागि तोकिएको पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेपछि धेरैले टिप्पणी गर्ने अवसर पाएका थिए। माओवादी अध्यक्ष प्रचण्ड शनिबार भैरहवाको कार्यक्रममा व्यस्त रहनुपरेको र मौसमको खराबीले जहाज नउडेपछि बैठकमा सहभागी हुन नसकेको उनको सचिवालयले जानकारी दिएको छ। बैठक बस्ने पूर्वतयारी थियो तर मौसमको प्रतिकूलताका कारण बैठक बस्न नसकेको हो, अन्य कुनै कारण छैन, सचिवालयका एक सदस्यले भने।

नेता नेम्वाङले दुई नेताबीच निरन्तर टेलिफोन संवाद र सम्पर्क भइरहेकाले पार्टी एकताका विषयमा कुनै आशङ्का व्यक्त गर्नु उपयुक्त नरहेको बताए। ‘प्राविधिक कारणले बैठक हुन नसक्नु एउटा पक्ष हो, तर बैठक बस्न नसकेकै कारण पार्टी एकीकरणमा बाधा पुग्छ कि भन्ने आशङ्का गर्नुको कुनै तुक छैन, उनले भने। दुवै नेताबीच समय मिलेका बेला उपयुक्त समयमा बैठक बस्ने उनले बताए।

‘दुई प्रमुख कम्युनिस्ट नेताबीच भइरहेको एकताले अन्य शक्ति झस्केकाले भरसक एकता नहोस् भन्ने चाहना राख्ने तत्वहरूले फैलाएको हल्ला मात्र हो, पार्टी एकीकरण हुनेमा कुनै दुविधा छैन’, उनले भने। यता माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस सहयोगी मनहरि तिमिल्सिनाका अनुसार शनिबार भैरहवाको कार्यक्रम र आइतबार र सोमबार चित्तवनको कार्यक्रममा अध्यक्ष प्रचण्ड व्यस्त रहनुपर्ने भएकाले मङ्गलबार मात्र एकता संयोजन समितिको बैठक बस्ने बताए। ‘बैठक बस्ने विषयमा कुनै द्विविधा छैन, समयअभावका कारणले मात्र बैठकको अनुकूलता मिल्न नसकेको हो’, उनले भने।

तिमिल्सिनाका अनुसार आइतबार बिहान दुवै अध्यक्षबीच करिब १० मिनेट टेलिफोन संवाद भएको छ। संवादमा पार्टी एकीकरण, राष्ट्रियसभा गठनका लागि अध्यादेश र सरकार गठनको प्रक्रियाका विषयमा केन्द्रित भएर संवाद भएको तिमिल्सिनाले जानकारी दिए।

शनिबारको एक कार्यक्रमा अध्यक्ष प्रचण्डले बोलेको विषयलाई लिएर मिडियामा ट्वीस्ट समाचार प्रकाशन भएकोमा आपत्ति जनाउँदै तिमिल्सिनाले भने, अध्यक्ष प्रचण्डले एउटा कुरा बोले तर मिडियामा अर्को समाचार छापियो। तिमिल्सिनाका अनुसार अध्यक्ष प्रचण्डले भनेका थिए, ‘एमालेले चाहेको भए फोरमलाई लिएर पनि सरकार बनाउन सक्थ्यो तर पार्टी एकतामा एमाले इमानदार भएकै कारण माओवादी केन्द्रसँगको एकतामा जोड दिएको हो। ’

कात्तिक १५ गते बसेको एकता संयोजन समितिको बैठकपछि औपचारिक रूपले अर्को बैठक बस्न सकेको छैन। पार्टी एकता गर्दा नेताहरूको व्यवस्थापन र जिम्मेवारी मिलाउनुपर्ने भएकाले केही समय लाग्ने नेताहरूको भनाइ छ। 

एमाले स्थायी कमिटी बैठकमा पनि सोबारे अध्यक्ष ओलीले धारणा राखेका थिए। आगामी सरकारको प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओलीलाई अगाडि सार्ने एमालेले तयारी गरेपछि एकतापछि पार्टी अध्यक्षको जिम्मेवारी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पाउनुपर्ने तर्क माओवादी नेताको छ। यस विषयमा संयोजन समितिको बैठकले ठोस गृहकार्य र निर्णय गर्ने दुवै दलका नेताले बताउँदै आएका छन्। (गोरखापत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ