arrow

सम्पदा मास्न मरिहत्ये गर्ने मेयर 'ग्यास बम' रोक्न किन उदासिन ?

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
bidhya_sundar.jpg

काठमाडौं । राजधानीका विभिन्न स्थानहरुमा अस्तव्यस्त फुटपाथले जो कोहीलाई पनि हिँड्न असहज भएकै होला । काठमाडौंको पुरानो बसपार्कभित्र हेर्न जाने हो भने बस चढ्ने यात्रुले बस्ने ठाउँ नपाउने गरी त्यहाँ व्यवसायीहरुले ठाउँ कब्जा गरेका छन् । बालाजुमाछा पोखरीमा रहेको ग्रीनबेल्ट क्षेत्रमा फुटपाथमा ब्यापार गर्नेहरुको जमात देख्न सकिन्छ । 

यी सबै परिघटनाहरु काठमाडौं महानगरपालिकाको क्षेत्र भित्रका घटनाहरु हुन् । काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास लिमिटेडले काठमाडौंबासीलाई नै असुरक्षित हुनेगरी ५ गुणा क्षमता बढाउँदा महानगरका मेयर विद्यासुन्दर शाक्य मौन छन् । १६ नं वडाका वडाध्यक्ष मुकुन्द रिजालले मेयरलाई नै भेटेर बालाजुमा ग्यास प्लान्ट विस्तार गर्न दिने हो भने काठमाडौंमा पशुपति र स्वयम्भू निकट भविष्यमा नै नरहन पनि सक्छ भन्ने चेतावनी दिएपनि त्यसमा मेयर शाक्यले कुनै सुनुवाई गरेनन् । 

जनताबाट १२ प्रतिशत कर उठाउने सवालमा अर्थमन्त्रालयलाई पत्र लेख्न सक्ने मेयर शाक्यले ग्यास प्लान्टलाई रोक्न तर्फ उदासिन बन्नुले पनि उनको नियतमाथि नै प्रश्नचिह्न खडा गरेको छ । काठमाडौंका जनताको मत ल्याएर विजयी भएका मेयर शाक्य काठमाडौंबासीको सुरक्षासँग जोडिएको विषयमा मौन बन्नु र रानीपोखरीको सभ्यतामाथि धावा बोल्नुले झनै उनको चरित्रलाई थप शंकास्पद बनाईदिएको छ । 

रानीपोखरी विवादमा संस्कृति माथिको हस्तक्षेपले महानगरमा विवाद चुलिएको छ भने महानगरबासी पनि उनीप्रति आक्रोशित बन्न थालेका छन् । यही विषयलार्इ लिएर मेयर र उपमेयरबीचको विवादका कारण रानीपोखरीमा राजनीति नै चलिरहेको देखिन्छ । यसमा सम्पदा जोगाउनु पर्ने र जस्तात्यस्तै बनाउनु पर्ने तर्क सम्पदाविद्हरुले गरिरहेका छन् भने त्यसको पक्षमा उपमेयर हरिप्रभा खड्गी उभिएकी छिन् । सम्पदा मूल मन्दिरमात्रै रहेकोले रानीपोखरीको बाहिरी स्वरुप आधुनिक बनाउन सकिने पक्षमा मेयर शाक्य रहेको छन् । उनको यो कदमको धेरैले विरोध पनि गरिरहेका छन् । 

मेयर शाक्यको योजना पनि एक ठाउँमा सही हुनसक्ला । स्वायत्त स्थानीय तहको परिकल्पनामा देश गएको बेलामा आयआर्जनको स्रोत पनि हुनेगरी रानीपोखरीलाई विकास गर्नु उनको उद्देश्य हुनसक्छ । तर, पुरानो बसपार्कमा चलखेल गर्ने, सारा फुटपाथमा चलखेल गर्ने, सार्वजनिक शौचालयदेखि विजुलीको पोलसम्म पनि चलखेल गर्न नछाड्ने महानगरपालिकाका केही कर्मचारीलाई संरक्षण दिएर बसेका मेयरले रानीपोखरीको व्यवसायिक लाभ महानगरपालिकालाई दिनसक्छन् भन्नु हास्यास्पद नै हुनसक्छ । कर्मचारीको भ्रष्ट प्रवृत्ति रोक्न नसक्नु मेयर शाक्यकै कमजोरी हो । मेयर बनेर आईसकेपछि उनले कर्मचारीलाई पनि आफ्नो नीति अनुसार चलाउन सक्दैनन् र कर्मचारीकै पछि हिड्नुपर्छ भने मेयरको कुर्सीमा बस्नुको कुनै तात्पर्य नहोला भन्ने आवाज पनि उठ्न थालेको छ। 

मेयर शाक्य कर्मचारीहरुद्वारा यति दबिएका छन् कि महानगरपालिकाको स्रोत लुटेर खान पल्किएका केही कर्मचारीहरुलाई उनले प्रतिप्रश्न गर्न समेत सक्दैनन् । उनीहरुकै आर्थिक सहयोगमा चुनाव जितेको आरोप लाग्ने गरेका मेयरले केही दिन अघि काठमाडौंको केन्द्रमा अनुगमनको क्रममा भेटेका केही घटनाहरुले पनि उनको लाचारीपन स्पष्ट हुन्छ । 

काठमाडौंको बागदरबारदेखि सुन्धारा, रत्नपार्क हुँदै सभागृहसम्म जाने क्रममा सुन्धारामा फुटपाथमा रोपिएको रुखलाई जोगाउनको लागि राखिएको फलामको बार मेयर शाक्यकै अगाडि एउटा ट्याम्पोले भाँचिदियो । उनी त्यहाँबाट मौन अघि बढे । न्यूरोड गेट अगाडि पुग्दा त्यहाँ रहेको ट्राफिक आईल्याण्डमा रहेको फुल गाईले खाएको अवस्थामा थियो । उनले पनि यस्तो भएछ त भन्दै केही पनि नभनी अघि बढे । अन्तमा भोटाहिटी अगाडि फुटपाथलाई नै दूर्गन्धित बन्नेगरी ढल फुटेको भेटियो । उनले आफूले ४ पटक निर्देशन दिँदा पनि यो नबनेको भन्दै उल्टै गुनासो गरेर अघि बढे । उनी अनुगमन गर्न गएकै दिन अबैधानिक विज्ञापनदेखि दूर्गन्धित काठमाडौंसमेतको परिदृश्य देखियो । तर सबै सरोकारवाला निकायका प्रमुखहरु त्यहीँ भएपनि उनले केही निर्देशन दिएनन् । 

अहिले रानीपोखरीलाई पनि व्यवसायिक हब बनाउने उनको यो योजनामा अवश्य पनि शंका गर्न सकिने अवस्था देखिन्छ । काठमाडौंबासीको त्रासको विषय बनेको नेपाल ग्यासको विषयमा मौन बस्ने मेयर शाक्य रानीपोखरीको ऐतिहासिक अस्तित्व मेटाउन को बाट परिचालित छन् भन्ने विषय भने खोजीकै विषय बन्न सक्छ । सम्पदा मासेर पैसा आम्दानी गर्नकै लागि काठमाडौंबासीले उनलाई जिताएका हुन् ? या त सम्पदा संरक्षणको लागि उनी मेयर बनेर आएका हुन् । त्यो पनि काठमाडौंबासीले सार्वजनिक ठाउँमा मेयर शाक्यलाई प्रश्न सोध्नुपर्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ