arrow

मेयर-उपमेयर झगडिएपछि रानीपोखरी पुनःनिर्माणको काम रोकियो

logo
प्रकाशित २०७४ पुष १२ बुधबार
RaniPokhari-balgopalewswor.jpeg

काठमाडौँ । आपसी विवादपछि काठमाडौँ महानगरपालिकाले रानीपोखरी पुनःनिर्माणको काम मंगलबारदेखि अघि बढाउन सकेको छैन ।

विवादको विषयमा थप छलफल भइ सहमति भएपछि मात्र काम अघि बढाइने निर्माणका लागि जिम्मा पाएको ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिए ।

गत मंगलबार पुरातात्विक महत्व कायम गर्दै निर्माण कार्य कसरी बढाउने भन्ने सम्बन्धमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी पक्षबीच विवाद उत्पन्न भएपछि काम अघि बढ्न नसकेको हो ।

विवादपछि रोकिएको पुनःनिर्माणको काम सञ्चालन गर्ने क्रममा विवादको विषयलाई चुलिन नदिन पुरातत्व र प्राधिकरणसँग बसेर छलफल गरी अघि बढ्ने प्रमुख शाक्यको भनाइ छ ।

प्रमुख शाक्यले पुनःनिर्माणको काम निरन्तर गराउन ठेकेदारलाई निर्देशन दिइरहँदा उता उपप्रमुख खड्गीले नियमविपरीत निर्माण भएको भन्ने कुरा उठान गरिरहेका थिए ।

सम्झौताअनुसार गत कात्तिक मसान्तसम्ममा पहिलो चरणको बाहिरी पर्खाल लगाउने काम सम्पन्न गरिसक्नुपर्ने भए पनि यस्तै विवादका कारण उक्त कामसमेत पूरा हुन सकेको छैन ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको  २०७२ माघ २ मा राष्ट्रपतिबाट शिलान्यास भइ पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो । १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन खोलिएको इतिहासमा उल्लेख छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ