arrow

बाम दम्भः काँग्रेसको चर्को विरोधबीच गाउँपालिकाको नाम परिवर्तन

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
rolpa1.jpg

रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ। दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो।

पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो। दोस्रो गाउँसभाले बहुमतबाट नाम परिवर्तन गरेको हो। नाम परिवर्तनमा विरोध हुने भएपछि बिहानैदेखि गाउँपालिकाको परिसरमा प्रहरीले सुरक्षा दिएका थिए। 

४४ सदस्यीय गाउँसभामा १९ जनप्रतिनिधिले नाम परिवर्तनको निर्णयमा असहमति जाहेर गरेका छन्। बहुमतको दम्भ देखाउँदै गाउँपालिकाको नाम परिवर्तन गर्न खोजिएको भन्दै ४ नम्बर वडा अध्यक्ष गञ्ज क्षेत्रीको नेतृत्वको जनप्रतिनिधिले दिनभर विरोध जनाइरहे।

बहुमतबाट नाम परिवर्तन गरिएपछि सभा कक्षमै विमती राख्ने जनप्रनिधिले नारा लगाएका थिए। ‘गाउँपालिकाको नाम फेर्न पाइदैन, बहुमतको दम्भ देखाउन पाइदैन, गाउँपालिको नाम परिवर्तन गर्ने निर्णय मान्दैनौं,’ लगायतका नारा निरन्तर लगाएका थिए। 

नेपाली कांग्रेसबाट उम्मेदवार बनेर विजयी बनेका जनप्रतिनिधिले नाम परिवर्तन गर्न नहुने अडान लिएका थिए। असन्तुष्ट बजारवासी र माओवादी केन्द्र इतर दलका नेता कार्यकर्ताले पनि गाउँपालिका बाहिर विरोध प्रदर्शन गरेका थिए। विरोध भइरहेकै समयमा बहुमतबाट नाम परिवर्तनको प्रस्ताव पारित गरिएपछि विपक्षमा रहेका जनप्रतिनिधि सभाबाट बाहिरिएका छन्।

स्थानीय तहको नाम र केन्द्र निर्धारण जिल्ला प्राविधिक समितिले सिफारिस गरेपछि सुवर्णावती गाउँपालिका रहेको थियो। स्थानीय तहका जनप्रतिनिधिको पहिलो बैठकको ६ महिनाभित्र आवश्यक ठानेमा नाम र केन्द्र बहुमतबाट परिवर्तन गर्न सकिने प्रावधान छ। सोही प्रावधानलाई टेकेर नाम परिवर्तन गरिएको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले जनाए। सुवर्णावती नामको ऐतिहासिकता नभएकाले नाम परिवर्तन जायज भएको उनले बताए।

गजुलका किमबहादुर थापा ‘सुनिल’ लडाकु कमाण्डर थिए। रोल्पाकै जिनाबाङको मुनिमारेमा तत्कालीन शाही सेनाको हेलिकोप्टरबाट गरिएको आक्रमणबाट मारिएका थिए। ‘उच्च तहका कमाण्डरको सम्मान हुने’ भन्दै सहिद सुनिल स्मृति गाउँपालिका नामाकरण गरिएको बताइएको छ। 

विपक्षीले धेरै सहिद भएको गाउँपालिकामा एक जनाको नामबाट मात्र नामाकरण गलत हुने तर्क गरेका छन्। नाम परिवर्तन नै आवश्क भए प्रयाप्त बहस र छलफल गर्न सकिने भन्दाभन्दै जबरजस्ती नाम परिवर्तन गरेकोले विरोध गरिएको महिला सदस्य तेजु विष्टले बताइन्।

एक नगरपालिका र नौ गाउँपालिकामा सुकिदह गाउँपालिकाको नाम र केन्द्र परिवर्तन हुँदा पनि विरोध भएको थियो। गाउँपालिकाको कार्यालयमा समेत तालाबन्दी भएको थियो। सहिदको नाममा भन्दै गंगादेव गाउँपालिका नामाकरण गरिएपछि विरोध चर्किएको हो। नाम र केन्द्र परिवर्तनको निर्णय र साविककै केन्द्र र नाम राख्ने माग दुवै मन्त्रालयमा पेश गर्ने सहमति भएको छ।

दुईखोली गाउँपालिकाको सहिदको नामबाट नामाकरण गर्ने चर्चा सेलाएको छ। त्रिवेणी गाउँपालिको केन्द्र सार्ने माग चर्किदै गएको थियो। स्थानीय तहको केही संरचना र कार्यालय नुवागाउँमा स्थापना गर्ने सहमतिपछि विवाद साम्य भएको छ। (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ