arrow

प्रदेश सभा संरचना बनाउन मात्रै १ अर्ब ५ करोड 

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
nepali-rupees.jpg.jpeg

काठमाडौं । मन्त्रिपरिषद्को निर्णय नहुँदा प्रदेश सभा भवन तयार पार्ने जिम्मेवारी पाएको सहरी विकास मन्त्रालय अलमलमा परेको छ । सरकारले प्रदेशको राजधानी तय गरिनसकेकाले मन्त्रालय अन्योलमा परेको हो । सहरी विकास मन्त्रालयले अर्थ मन्त्रालयसँग सातवटै प्रदेश सभाको संरचना तयार गर्न तत्काल १ अर्ब ५ करोड माग गरेको छ ।

सरकारले प्रदेशको राजधानी तोक्ने सम्भावित क्षेत्रमा प्रदेश सभा सञ्चालनका लागि आवश्यक भवनबारे मन्त्रालयले अध्ययन गरिसकेको छ । प्रदेश नम्बर १ मा धरान, विराटनगर, धनकुटा तथा इटहरीमा सम्भावित भवनको खोजी गरिएको छ । 

त्यस्तै २ मा जनकपुर, ३ मा काठमाडौं, बनेपा, हेटौँडा, ४ मा पोखरा, ५ मा बुटवल, दाङ, ६ मा सुर्खेत र ७ मा धनगढी, दिपायललगायतका क्षेत्रमा सम्भावित प्रदेश सभाका लागि भवन खोजिएको छ ।

मन्त्रालयका प्रवक्ता शम्भु केसीले सरकारले प्रदेश सभाको राजधानी तोकिनसकेकाले प्रदेश सभा कहाँ रहने भन्नेबारे आफूहरू नै अनविज्ञ रहेको बताए । उनले भने, ‘प्रदेश सभाको राजधानी कहाँ रहने, के–कस्तो संरचना बनाउनुपर्ने, कति कर्मचारी चाहिने भन्नेबारे हामी नै अन्योलमा छौँ । मन्त्रिपरिषद्बाट आवश्यक निर्णय हुन जरुरी छ ।’ सातवटै प्रदेश सभामा सभाहल तयारीका लागि मात्रै १ अर्ब ५ करोड मागिएको उनले बताए ।

प्रदेश प्रमुख नतोकिँदा प्रदेश सभाको परिणाम अन्योलमा
सरकारले प्रदेश प्रमुख नतोक्दा प्रदेश सभाको निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गर्न निर्वाचन आयोग अप्ठ्यारोमा परेको छ । प्रदेश सभाको निर्वाचन परिणाम आयोगले प्रदेश प्रमुखलाई बुझाउने संवैधानिक व्यवस्था छ । तर, सरकारले प्रदेश प्रमुख तोकिसकेको छैन । 

प्रदेश प्रमुखसमक्ष आयोगले अन्तिम मतपरिणाम बुझाएको २० दिनभित्र प्रदेश सभाको अधिवेशन बोलाउनुपर्ने संविधानको धारा १८३ मा व्यवस्था छ । सरकारले प्रदेश प्रमुख नतोकेपछि प्रदेश सभाको अधिवेशन आह्वान तथा प्रदेश सरकार गठन अन्योलमा परेको छ ।

सचिवालयकै खर्चमा संघीय संसद्
अर्थ मन्त्रालयले संघीय संसद् पुनर्संरचना गर्न आवश्यक रकम निकासा नगरेपछि सचिवालयले आफ्नै बजेटबाट काम अघि बढाइरहेको छ । सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा हल पुनर्संरचनाका लागि सरकारसँग ३ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । 

तर, अर्थ मन्त्रालयले तत्काल आफ्नै खर्चबाट काम अघि बढाउन भनेपछि सचिवालयले काम अघि बढाएको हो । अपुग पैसा भने दिन आफूहरू तयार रहेको अर्थ मन्त्रालयका सहसचिव केवल भण्डारीले बताए ।

संसद् सचिवालयका कर्मचारीले भने अर्थ मन्त्रालयले चाँडै निर्णय नगरेकाले संघीय संसद् पुनर्संरचना गर्न ढिलाइ भएको बताएका छन् । यही अवस्थामा पुस मसान्तसम्म प्रतिनिधिसभा हल तयार हुने र राष्ट्रिय सभा हल बनाउन भने केही दिन लम्बिने सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाको निर्वाचन मतपरिणाम आइसके पनि आयोगले परिणामलाई औपचारिक घोषणा गरेको छैन । आयोगले घोषणा गरी राष्ट्रपति कार्यालयमा बुझाएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । यसअघि ६ सय १ सदस्यीय संविधानसभाका लागि प्रयोग भएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै सरकारले संघीय संसद्को रूपमा प्रयोग गर्ने गरी भाडामा लिएको छ । 

संसद् सचिवालयले यसअघिको एक सदनात्मक ६ सय १ सदस्यीय हलमा २ सय ७५ सदस्यीय प्रतिनिधिसभा हल बनाउने कामलाई अन्तिम चरणमा पुर्‍याएको छ । 

दुई सदनात्मक संघीय संसद्अन्तर्गतको माथिल्लो सदन राष्ट्रिय सभा हललाई भने सोही भवनको नुप्से हलमा पूरै नयाँ संरचना तयार पार्ने गरी सचिवालयले काम अघि बढाएको छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ