arrow

प्रदेश सभामा पाएको ३ सिटमा विवेकशीलले क–कसको नाम पठायो ? (विज्ञप्तिसहित)

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
bibekshil.jpg

काठमाडौं । विवेकशील साझाले प्रदेशसभामा पाएको तीन सिटको बाँडफाँड गरेको छ । पौष १२ गते बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभामा पाएको सिट बाँडफाँड गरेको हो ।

प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्ड अनुरुप समानुपातिकतर्फ प्रदेश नम्बर ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको प्रवक्ता सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

रमेश पौड्याल, शोभा शाक्य र बिराज भक्त श्रेष्ठको नाम निर्वाचन आयोगमा पठाइएको आचार्यले बताएका छन् ।

प्रेस विज्ञप्ति

यहि २०७४ पौष १२ गते बसेको विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठकले प्रदेशसभा निर्वाचन ऐन, २०७४ अन्तर्गत निर्वाचन आयोगले तोकेको मापदण्ड अनुरुप रही समानुपातिकतर्फ प्रदेश नं ३ मा पार्टीको केन्द्रीय संयोजन समितिका सदस्य रमेश पौड्यालको नेतृत्वमा तीन जना सदस्य पठाउने निर्णय गरेको छ l यसै निर्णय मुताविक रमेश पौड्याल, शोभा शाक्य र बिराज भक्त श्रेष्ठको नाम आजै निर्वाचन आयोगमा पठाईएको छ l

विवेकशील साझा पार्टीले प्रदेश ३ को प्रदेशसभामा चौथो ठुलो पार्टीको रुपमा प्रतिनिधित्व गर्दैछ। यस प्रदेशमा पार्टीले समानुपातिक तर्फ एक लाख चौविस हजार चार सय बयालीस (१,२४,४४२) मत प्राप्त गरेको थियो। पार्टीलाई यस स्थानमा पुर्याउनुहुने समस्त मतदाताहरुमा हार्दिक धन्यवाद दिन चाहान्छौं l साथै, हाम्रा सदस्यहरुले प्रदेशसभामा खेल्ने भूमिकाबाट हामीलाई प्राप्त हरेक मतमाथि न्याय गर्ने विश्वास दिलाउँन चाहान्छौं l

छनौट भएका उमेदवारहरुको संक्षिप्त परिचय यस प्रकार छ l

१)    रमेश पौड्याल (सिन्धुपाल्चोक)

रमेश पौड्यालले विवेकशील साझा पार्टीलाई प्रदेश ३ को प्रदेशसभामा पार्टीको संसदीय दलको नेतृत्व गर्दै छन् | ३९ बर्षिय पौड्याल विगत चार बर्षदेखि नविन र सुसंस्कृत राजनीतिक अभियानमा क्रियाशील छन् l पौड्यालले त्रिभुवन बिश्वबिद्यालयबाट समाजशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर एवं नेदरल्याण्डस् स्थित वागनिगन युनिभर्सिटीबाट विकास ब्यबस्थापन विषयमा स्नातकोत्तर गरेका छन् l पौड्याल पार्टीको केन्द्रीय संयोजन समिति सदस्य एवं प्रवक्ता हुन् l

२)    शोभा शाक्य (ललितपुर)

गत स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयर पदमा प्रतिस्पर्धा गरेकी शाक्यले सम्मानजनक मतसहित दोश्रो स्थान हासिल गरेकी थिईन् l विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार र सम्मानबाट सम्मानित शाक्यले विभिन्न सामाजिक संस्थाहरुको नेतृत्व गरेकी छन् । महिला उत्थान र शसक्तिकरणमा बिभिन्न भूमिका खेलेकी शाक्य बुद्ध शिक्षाबाट विशेष प्रभावित छिन् । शाक्य पार्टीकी केन्द्रीय सदस्य हुन् l

३)    विराज भक्त श्रेष्ठ (काठमाडौं)

काठमाडौँको इन्द्रचोकमा जन्मिएका विराज भक्त श्रेष्ठ पार्टीका केन्द्रीय सदस्य हुन्। उनी सानै उमेरदेखि सामाजिक काममा सक्रिय थिए। विद्यालयस्तरमा रेडक्रसको अध्यक्ष बनेका श्रेष्ठ अहिले पनि सम्पदा संरक्षण लगायत विभिन्न सामाजिक सेवाका कामहरुमा आवद्ध छन्। व्यवस्थापन अध्ययन गरेका श्रेष्ठले विभिन्न संघ-संस्थामा व्याबस्थापकका रूपमा पनि नेतृत्व गरेका छन्।

सूर्यराज आचार्य

प्रवक्ता

विवेकशील साझा पार्टी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ