arrow

जुम्रे, जुके र लिखे अवसरवादीको झुण्ड रहेको माओवादी केन्द्र ‘प्रचण्ड प्राइभेट लिमिटेड’ : किराँती (अन्तर्वार्ता)

‘माओवाद र पहिचानको मुद्दा स्वीकार गरे खड्ग ओलीलाई अध्यक्ष मान्न तयार छौँ’

logo
प्रकाशित २०७४ पुष १३ बिहिबार
kirati_news.jpg

माओवादी केन्द्रका सचिवालय सदस्य गोपाल किराँतीले एमाले र माओवादीको पार्टी एकताका लागि कुनै आधार तयार नभएको बताएका छन् । नेता किराँतीले एमालेले माओवादको सिद्धान्त र पहिचानको मुद्दा स्वीकारे मात्रै आफुहरु पार्टी एकतामा सहभागि हुने बताए । किराँतीले आफुहरुले उठाएका वैचारिक र सैद्धान्तिक मुद्दालाई अघि सारेर अघि नबढे छुट्टै पार्टी गठन गरेर अघि बढ्ने चेतावनी समेत दिएका छन् । यसै विषयमा हामीले किराँतीसँग कुराकानी गरेका छौँ ।

० पार्टीप्रति तपाईंको असन्तुष्टि केमा ?
– राजनीतिक कार्यदिशा, पहिचानको मुद्दा र नेतृत्वको कार्यशैलीमा मेरो प्रश्न हो । यी तीनवटा विषयमा मेरो फरक मत छ । संघर्ष अघि बढाइएको छ ।

० एमालेसँगको पार्टी एकता गर्न तपाईंको समर्थन छैन ?
– यो एकता भन्ने लोकप्रिय शब्द उहाँहरुले प्रयोग गरिराख्नु भएको छ । हामी त्यसलाई बिलय भनिरहेका छौं, पार्टी भनेको के हो ? पार्टी केले बन्छ ? यसका आधार हुन्छन् । वर्ग दृष्टिकोण, विचारधारा, रणनीति, कार्यनीति, राजनीतिक कार्यदिशालगायतका थुप्रै विषय वस्तुले पार्टी बनेको हुन्छ । मार्क्सवाद, लेनिनवादको विचाराधारा एमालेले मान्ने कुरै भएन । जसरी पनि एकता भनेको माओवाद छोडेर एकता गर्न खोजिएको प्रष्टै छ ।
माओवादी केन्द्रले अहिलेसम्म उठाएको आएको अर्को मुद्दा हो, पहिचानको । यो पनि एमालेले मान्दैन, त्यो छोडेर नै एकता हुन्छ । केको आधार र केका निम्ति एकता भनेर हामी प्रश्न गरिरहेका छौं । माओवादीको नेतृत्व जो दाम्लो चुँडाएर एमालेतिर हाम्फाल्दैछ, उहाँहरुसँग यसको जवाफ छैन, हामी त्यो जवाफ खोजिराखेका छौं । एमालेले माओवाद र पहिचानको मुद्दा मान्यो भने हामी नाँचेर त्यो एकतामा जाने हो, नत्र गइदैन ।

० एकताको आधार तयार भएको छ ?
– छैन, प्रश्न हाम्रो त्यसैमा हो, जस्तो माओत्सतुङले तीन गर र तीन नगर भन्ने सिद्धान्त दिनुभएको छ, माक्र्सवाद लागू गर, संशोधनवाद होइन, खुला र स्पष्ट हौ, छलछाम र षड्यन्त्र नगर, जुट नफुट । तर अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र एमालेसँगको यो एकतामा ठीक उल्टो गर्नुभयो । मार्क्सवादमा मौनता, असोज १६ गते षड्न्त्र गर्नुभयो र के आधारमा जुट्ने ? अध्यक्ष प्रचण्डले गरेका यी तीन काम हुन् ।
कांगे्रससँग माओवादी केन्द्रको एकता नहुने किन ? सैद्धान्तिक प्रश्न होला, एमालेले कम्युनिष्ट पार्टी त लेख्छ, तर कांग्रेसभन्दा चरम प्रतिक्र्रियावादमा पतन भइसकेको छ । माक्र्सवाद, लेनिनवादमा जुट्ने हो, त्यो मान्दैन भने फुट्ने हो । माओवादी आन्दोलनमा जसले माओवादी र पहिचानको मुद्दा छोड्छ, त्यो पार्टी फुटाउने समूह हो । हामी चाहिँ माओवादी केन्द्र दह्रोसँग समातेर बस्ने भनिरहेका छौं ।

० उहाँहरुले समाजवादी क्रान्तिका लागि एउटा पार्टी बनाउने भनिरहनु भएको छ त ?
– वाम गठबन्धनमा हाम्रो आपत्ती छैन, एकता भन्ने बिलयमा हाम्रो गम्भीर प्रश्न हो । हामी यो बिलयसँग आतंकित, भयवित र पीडित छौं । समाजवाद भनेको के हो ? कांगे्रसले पनि भन्छ, एमाओवादीको नौं महाधिवेशनले भन्यो, उपेन्द्र यादवले पनि भन्छ, नारायणमान विजुक्छेले पनि भन्नुहुन्छ, तर वाम गठबन्धनले भनेको समाजवाद के हो ? त्यही नै प्रष्ट छैन । त्यसकारण जनतालाई झुक्याउने काम भएको छ । कम्युनिष्टहरुले चाहने वैज्ञानिक समाजवाद हो । यो वैज्ञानिक समाजवादलाई बद्नाम गर्न खोजिएको छ । वाम गठबन्धनले समाजवाद ल्याउँछ भन्ने कुरा हामी रक्तिभर पत्याउन सक्दैनौं । वाम गठबन्धनका प्रमुख खड्ग ओलीलाई माओवादी केन्द्रको प्रश्न हुन्छ, के निजी अस्पताल, बैंक र विद्यालयलाई राष्ट्रिय करण गर्न सक्छ ? श्रमिकवर्गका लागि राष्ट्रिय पूँजी निर्माण गर्न सक्छ ? आउँदो बजेटमा विश्व बैंक, अन्तर्रा्ष्ट्रिय मुद्दाकोष र एसियाली विकास बैंकजस्ता वित्तीय साम्रराज्यवादीहरुको चँगुलबाट नेपाली अर्थतन्त्रलाई मुक्त गर्न सक्छ ? यी ज्वलन्त प्रश्नको सकरात्मक जवाफ नदिइकन समाजवाद हुँदैन ।

० आठौं महाधिवेशन होस् भनेर अध्यक्षलाई चिठी लेख्नुभयो नि ?
– हो, यी प्रश्नहरु भए, हामीले त्यसमा आफ्नो मत राखेका छैनौं । महाधिवेशन गर्ने बेला पनि भयो, १० वटा समूह जुटेर हामी केन्द्र भयौं । त्यसले १३ बुँदे आधारपत्र बनायो, त्यसमा महाधिवेशन गरेर कार्य्दिशा निश्चित गर्ने पनि भनिएको छ । माओवादी केन्द्रमा प्रहसन भइरहेको छ, ४२ सयजनाको महाधिवेशन आयोजक समिति छ, तल सबै लथालिङ भए, माओवाद र पहिचानको मुद्दामा गम्भीर प्रश्न उठेको छ । अध्यक्ष प्रचण्डलगायत नेतृत्व तहमा रहनुभएका कमरेडहरुले विश्वास बेचिखाने परिस्थिति सिर्जना भयो, त्यसकारण महाधिवेशन आयोजना गर्न जरुरी छ । त्यो महाधिवेशनको बहुमतले प्रचण्ड कमरेडले भन्नुभएको कार्य्दिशालाई पारित गर्छ भने हामी पनि मान्न तयार हुन्छौं । प्रचण्ड मेरो नेता हो, तर उहाँमाथि माओवादी केन्द्र प्रचण्ड प्रा. लि. भन्ने टिप्पणी हुन्छ । मलाई दुःख लाग्छ । प्रचण्ड प्रा.लि. बनाउन खोजेपछि यो कम्युनिष्ट पार्टी हो, यो जनवादी केन्द्रीयताको अभ्यास हुनुपर्छ भनेर हामीले माग गरेका छौं । आठौं महाधिवेशनतर्फ माओवादी केन्द्र अगाडि बढ्छ भनेर आशा गर्न सकिन्छ ।

० माओवादी केन्द्र महाधिवेशन आयोजक समितिमा रुपान्तरण भइसकेको हो ?
– माओवादी केन्द्र २०७३ साल जेठ ६ गते गठन भयो, यो लगातार राष्ट्रिय महाधिवेशन आयोजक समितिमा छ । त्यसको प्रमुख अध्यक्ष प्रचण्ड हुनुहुन्छ, हामी त्यसका सदस्य हौं, चुनाव आयो, सरकार बन्ने भएकाले पोलिटव्यूरो र सचिवालय पनि बनाइएको छ । राष्ट्रिय महाधिवेशन आयोजक समितिको प्रदेश समिति हुन्छ । यो समितिले महाधिवेशन आयोजना गर्नुपर्छ, तोकिएको काम नगरेर भाँडा खोप्टयाउने काम गरियो भने अध्यक्ष प्रचण्डलगायतका नेताहरुको नैतिकतामाथि आजीवनरुपमा प्रश्न उठ्छ ।

० महाधिवेशन नगरेर अभ्यास अर्कोतिर हुँदैछ भन्ने हो ?
– गठबन्धनसम्म ठीक हो, अन्यथा लिनु हुन्न । कथित एकता वा विलयको तयारी गरिसकेपछि त्यसमा हामी प्रश्न उठाइरहेका छौं । माओवादी केन्द्रमा तीन खाले समूह छन् । एउटा जुम्रे अवसरवादी, यो भनेको पार्टीलाई पौष्टिक आहारा नदिने, खाली पार्टीको रगत मात्र चुस्ने, अर्को लिखे अवसरवादीहरु र केही क्रान्तिकारीहरु छन् । क्रान्तिकारीहरु महाधिवेशनतर्फ जाऔं, पार्टीलाई सुदृढ गरौं, एकताको सम्बन्धमा छलफल गरौं, महाधिवेशनबाट भाग्न पाइँदैन भनेर जोड गरिरहेका छौं । जुम्रे अवसरवादीको गतिविधि मैले स्थायी समिति सदस्य र केन्द्रीय कार्यालय सदस्य भएर देखे । अध्यक्ष प्रचण्डले विचार र राजनीतिको सम्बन्धलाई जे प्रस्ताव ल्याउनु हुन्छ, उफ्रेर समर्थन गर्ने, तर उता मन्त्री बन्ने वा ठूलो मन्त्री बन्ने, कुन मन्त्रालय लिन चाहिँ झिनाझपटी गर्छन् साथीहरु । कम्युनिष्ट पार्टीको जति माथिल्लो तहमा गयो, त्यत्ति त्याग गर्नुपर्छ भन ठान्थे । जति माथिल्लो तहको जिम्मेवारी पायो, उसले धेरैलाई हेर्नुपर्छ । कम्युनिष्ट नभए पनि महेन्द्र मल्लको कथाजस्तै ठानेको थिएँ, तर त्यसको उल्टो रहेछ । त्यस्तालाई हामी जुम्रे अवसरवादी भन्छौं । लिखे अवसरवादी भनेको चाहिँ वैचारिक राजनीति बुझ्न नखोज्ने, बुझे पनि बोल्न नचाहने, बोल्दा पाउनै आँटेको केही कुरा गुम्ला भनेर थरर काम्छन् । तिनीहरुसँग हामी संघर्ष गरिरहेका छौं । जुमे्र, जुके र लिखे अवसरवादीको कारण हाम्रा नेता छाडा भएका छन् । प्रचण्ड प्राइभेट लिमिटेड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल प्राइभेट लिमिटेड भएको छ । हामी त्यसो हुन दिँदैनौं । ती अवसरवादीलाई मैले स्थायी समिति सदस्य भएर देखे, केन्द्रीय कार्यालयको सदस्य भएर पनि देखे ।
प्रचण्ड मेरो नेता हो, तर पार्टी प्रचण्ड प्राइभेट लिमिटेड भयो भन्ने टिप्पणीहरु आउँदा मलाई दुःख लाग्दैन ?

० तपाईले बीचमा केन्द्रीय कार्यालयका सदस्यहरुलाई एक तह घटुवा गर्नु पर्छ भन्नु भयो, त्यसको कारण के थियो ?
–त्यो हामीले २०६२ सालमा भएको चुनुवाङ बैठकमा अभ्यास गरेका थियौँ, एक तह घटुवा । त्यसमा धेरै ठूलो संघर्ष भन्दा पनि केन्द्रीय कार्यालय धेरै ठूलो भयो, व्यवहारिक भएन जुम्रे र लिखे अवसरवादीहरुले विगारे भनेर भनेको हो । माओवादी केन्द्र बन्दा ९ जनाको केन्द्रीय कार्यालय थियो । एकता भो, खुसी लाग्यो भन्दै म खोटाङतिर लागे । एक महिनापछि काठमाडौं आउँदा त तपाई केन्द्रीय कार्यालय सदस्य हुनु भएको छ, बैठकमा आउनु पर्ने भो भनियो । अनि चकित भए । मै बैठकमा गए र त्यहाँ पनि भने यो, ९ जनाको केन्द्रीय कार्यालय ठिक थियो । यो ३४ जनाको बनाइयो व्यवहारिक भएन, म नरहन तयार छुँ । मलाई हटाइयोस् भन्दा अध्यक्ष प्रचण्डले होइन अहिले त्यसो गर्नु हुँदैन भन्नु भयो । सबै एक एक तह झरौँ न त तल भनेर मैले राजीनामा दिए । पोहोर तिरको कुरा हो । त्यो राजीनमा स्वीकृत गरिएन । त्यसपछि ४ महिना पछि म फेरि त्यो केन्द्रीय कार्यालय भनिएकोमा जान थाले । त्यो संगठनलाई चुस्त बनाउने कुरा थियो । धेरै ठूलो संघर्ष थिएन ।

० अहिले पार्टी एकताका लागि चलेको छलफल १ नम्बर नभई चौथोबाट सुरु भयो भन्ने सुनिन्छ, तपाईले सुनेको कुरा केही भिन्न छ ?
–गाउँतिर बुढापाकाले के भन्थे भने, बाघले गाइगोरु मार्छ, त्यो मार्ने बाघ चैँ भाले हो कि पोथी ? पत्ता लगाउँदा पुच्छरपट्टीबाट खान थालेको रहेछ भने त्यो पोथी बाघ हो । टाउकोपट्टीबाट खान थालेको रहेछ भने त्यो भाले बाघ हो भन्ने छ । त्यस्तै कम्युनिष्ट पार्टीको एकता विचारधाराबाट सुरु हुन्छ, पद बाँडफाँडबाट सुरु हुँदैन । विचार भनेको सिद्धान्त, सिद्धान्त भनेको के हो भने विज्ञान । माक्र्सवाद, लेलिनवाद र माओवाद भनेको विज्ञान हो । त्यो विज्ञान चैँ सिद्धान्तमा हुन्छ । सिद्धान्तको आधारबाट सुरु गर्नु पर्नेमा पुच्छरबाट एकताको विलयको चर्चा गरेर पोथी बाघको परिचय दिनु भा छ । त्यही भएर यो अप्राकृतिक भयो, गलत भयो भनिराखेका छौँ । कतिपय साथीहरु प्रचण्ड अध्यक्ष भए त भयो नि त, किन न्युहु खोजेको तिमिहरुले भन्ने पनि गर्नहुन्छ । को अध्यक्ष र उपाध्यक्ष दोस्रो कुरा हो । माओवाद र पहिचानको मुद्दा स्वीकार गरे खड्ग ओलीलाई अध्यक्ष मान्न हामीलाई केही समस्या छैन । नाचेर हामी मान्छौँ । माओवाद र पहिचान छोडिन्छ, त्यहाँनेर विलय गरिन्छ भने मान्य हुँदैन । मानौ प्रचण्ड अध्यक्ष, नारायणकाजी उपाध्यक्ष, महरा, वादलहरु उपाध्यक्ष, महासचिव भए रे भने पनि माओवाद र पहिचान छोडेर गइन्छ भने मान्ने कुरो हुँदैन । त्यो बेला हामी माओवादी केन्द्र पुर्नगठन गर्न बाध्य हुनेछौँ ।

० यहाँनेर तपाइले हिजो पार्टीको संगठन चुस्त हुनुपर्छ भनेको कुरा र अहिले एकताको छलफल चौथो नम्बरबाट आरम्भ भएको कुराको संगति मिलेन, माओवादी त्यति धेरै कमजोर भइसकेको हो र ?
–त्यही मिलेन र त हामी प्रश्न गरिरहेका छौँ । अब महाधिवेशन आयोजना गरियोस् । त्यसपछि कसलाई के दिने भन्ने कुराको निधो हुने हो । महाधिवेशन गरियो भने जुम्रे र लिखेहरु हावी हुन पाउँदैनन् । व्यापक कार्यकर्ता छलफलमा सहभागि हुन्छन् । तिनका प्रतिनिधिहरुले ठिक निर्णय लिन्छन् । भन्ने हाम्रो अपेक्षा हो । व्यक्तिगत रुपमा नेताहरुले भेट्दा पनि माओवाद किन छोड्छु मैले ? पहिचान किन छोड्छु भनेर पाखुरा सुर्किनु हुन्छ । फेरि छ बुँदेमा त छैन । संयुक्त निर्वाचन घोषणापत्रमा हुने कुरा पनि भएन । माओवादी केन्द्रका नेताहरु प्रतिनिधिसभामा सांसद हुनु भो ३६ जना । उहाँहरुलाई तपाईहरुले माओवाद र पहिचान छोड् भो भन्दा पाखुरा सुर्किनु हुन्छ । पार्टी एकता संयोजन समितिको जो ६ बुँदे पत्र हो । त्यसमा माओवाद र पहिचानको मुद्दा छैन र तपाईले छोड्नु भो । दोस्रो निर्वाचन घोषणापत्र जुन छ । त्यसमा माओवाद र पहिचान छैन । जुन घोषणपत्रको आधारमा तपाई सांसद निर्वाचित हुनु भो । अदालतमा गएर हामीले मुद्दा हालु कि, प्रचण्ड चितवनबाट सांसद निर्वाचित हुनु भो । प्रचण्ड कामरेड सांसद चाँही माओवाद र पहिचानको पक्षधर हो कि होइन ? भनेर अदालतमा मुद्दा हाल्यो भने अदालतको स्वभाविक फैसला हुने थियो कि, होइन । किन भने निर्वाचन घोषणापत्रमा माओवाद र पहिचान छैन । नभएको हुनाले माओवाद र पहिचानको प्रतिनिधित्व सांसद प्रचण्डले गर्नु हुन्न । अदालतको फैसला यही हुन्छ । त्यसैले तपाईहरुले त्यो मुद्दा छोड्नु भो हामी उम्मेदवार भएनौ हामीले छोडेका छैनौँ भन्ने बहस पनि हामीले गरिरहेका छौँ ।

० तपाईहरु ज–जसले विमत्ति राखिरहनु भएको छ, के भयो भने तपाईहरु पार्टी एकतामा सामेल हुने हो ?
–मैले अघि नै भने, माक्र्सवाद, लेलिनवाद र माओवादको पथ प्रदर्शक सिद्धान्त एमाले समूहले स्वीकार्नु पर्छ । पहिचानको मुद्दा बडो सम्वेदनशील विषय छ । कम्युनिष्टहरुले नसम्हाल्ने हो र छाडिदिने हो भने आइएन्जीओले लैजान्छ । नेपाल अफगानिस्तान हुन्छ । त्यसकारण यसलाई स्वीकार गर्नु पर्छ । त्यसो गर्दा पूर्वतिर एउटा साकेला भन्ने ढोल झ्याम्टा बजाएर नाच्ने हुन्छ । ढोल, झ्याम्टै बजाएर त्यो एकतामा जान्छौँ । माओवाद र पहिचान छोडेर र कुल्चेर गरिने एकतामा हामी जाँदैनौँ । कोही जान्छन् भने जाउन् । दोहोरी लाउने कुरा भएन । हामी माओवादी केन्द्र पुर्नगठन गरेर सञ्चालन गर्न बाध्य हुनेछौँ ।

० भनेको अहिले रहेको माओवादी केन्द्र तपाईहरुले सञ्चालन गर्नु हुन्छ ?  
–हो । हजारौँको रगत बगेको छ । लाखौँको पसिना र आँशु बगेको छ । त्यो सिद्धान्त र संगठन माओवादी केन्द्र हामी छोड्दैनौँ ।
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ