- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ। रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ।
यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ। साँझ परेपछि पनि चिडियाखानाका जीवजन्तु र तिनका आनीबानी नजिकबाट नियाल्न सकिन्छ। चिडियाखानाका प्राविधिकले रातको समयमा सक्रिय हुने ‘रात्रिचर जीव’ लक्षित ‘नाइट गाइडेड टुर’को सेवा दिँदै आएका छन्।
‘सबै जीवजन्तु दिउँसो मात्रै सक्रिय हुँदैनन्, राति सक्रिय हुने, खेल्ने र आहारा खाने पनि धेरै छन्।’ –चिडियाखानाका आयोजना व्यवस्थापक डा चिरञ्जीवीप्रसाद पोखरेलले भने।
कुल १ सय २० रोपनी क्षेत्रफलमा फैलिएको चिडियाखानामा हाल विभिन्न १ सय १४ प्रजातिका जीवजन्तु प्रदर्शनीमा राखिएका छन्। तीमध्ये विभिन्न १८ प्रजातिका निशाचर जन्तु छन्।
पाटे बाघ, गैंडा, जलगैंडा, स्याल, हिमाली भालु, काठेभालु, चितुवा, हिमाली नील बिरालो, चरीबाघ, ठूलो नील बिरालो, वन बिरालो, ध्वाँसे नील बिरालो, दुम्सीजस्ता जन्तु चिडियाखानाका रात्रिचर स्तनधारी जीव हुन्। हाप्सिलो, लाटोकोसेरो र मलाह हुचिल पनि रातमा सक्रिय रहने चिडियाखानाभित्रका पन्छी हुन्।
अंग्रेजी महिनाको नोभेम्बर १५ देखि जनवरी १५ तारिखसम्म (करिब २ महिना) चिडियाखानाले ‘रात्रिचर जीव’ नियाल्न सकिने समय छुट्याएको छ।
रात्रिकालीन अवलोकनको प्राथमिकता भने विद्यालय तहमा अध्ययनरत चिडियाखानाका मित अर्थात् ‘फ्रेन्ड्स अफ जुका सदस्यलाई प्रदान गरिएको पोखरेलले जानकारी दिए।
काठमाडौं उपत्यकाका करिब ५ सय विद्यालयका ८० हजारभन्दा बढी विद्यार्थी ‘फ्रेन्ड्स अफ जुका सदस्य बनेका छन्। रात्रिकालीन अवलोकन कार्यक्रम पुरानै भए पनि केही वर्षयता विद्यार्थीको आकर्षण झनै बढेको पोखरेलले बताए।
दिउँसो देख्न मुस्किल हुने स्तनधारी जीव ‘उड्ने लोखर्के’ (कोइरालो) रात्रिकालीन अवलोकनको विशेष आकर्षण हो।
प्राकृतिक बासस्थानमा यो जन्तुले पन्छी उडे जसरी २ सय ५० फिट हाराहारीको दूरी ‘ग्लाइडिङ’ गर्न सक्ने विज्ञहरू बताउँछन्।
सो जन्तु २ महिनाअघि चिडियाखानाका वरिष्ठ भेट प्राविधिक राधाकृष्ण घर्तीले ललितपुरको गोदावरीबाट उद्धार गरेर जावलाखेल ल्याएका थिए ।
प्राविधिक जनशक्तिको अभाव र सुरक्षाजस्ता कारणले रात्रिकालीन जीवजन्तु अवलोकन सुविधा तत्काल आम सर्वसाधारणका लागि भने खुला गर्न नसकिने त्यहाँका सहायक क्युरेटर गणेश कोइरालाले बताए।
‘त्यसै पनि निशाचर जीवको संख्या न्यून छ, हामी प्राविधिक पनि थोरै छौं, सुरक्षा र अन्य प्रशासनिक कारणले तत्काल सर्वसाधारणलाई यस्तो सुविधा उपलब्ध गराउन असमर्थ छौं।’ (नेपाल समाचारपत्र दैनिक)