arrow

बंक–नाइल सडकखण्डमा मापदण्ड विपरित निर्माण कार्य भएको स्थानीयको गुनासो

कम रकममा ठेक्का सम्झौता भएकाले काम गुणस्तरहित भएको आरोप

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७४ पुष १४ शुक्रबार
kanchanpur1.jpg

कञ्चनपुर । कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–२ बंकदेखि डडेल्धुरा हुँदै डोटी जोड्ने सडक खण्ड निर्माणको काम मापदण्ड विपरित भईरहेको स्थानीयको गुनासो छ । कृष्णपुर नगरपालिका–२ मा निर्माणधिन बंक–नाईल–बुडर सडकखण्ड मापदण्ड विपरित निर्माण कार्य भईरहेको हो ।

निर्माणको जिम्मा पाएको आरबी कन्सष्ट्रक्सन प्रालिले सडक डिभिजन कार्यालय संग साढे ३ किलोमिटर स्तरोन्नती गर्ने सम्झौता अनुसार समयमै काम सम्पन्न गर्न सकेको छैन् ।  निर्माण कम्पनीले आधा रकममा ठेक्का लिदा समेत काम पुरा नहुने देखिएको छ ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले १ करोड, ४२ लाखमा टेण्डर आब्हान गरेपनि आरबी कन्सष्ट्रक्सन प्रालिले ६७ लाख, ५५ हजारमा भ्याट सहित सम्झौता गरेका थिए । कम रकममा ठेक्का सम्झौता भएकाले काम पनि गुणस्तरहित हुने देखिएको छ । थप गरिएको म्याद सकिन ५ दिन मात्रै बाँकी रहदा कम्पनीले काम गर्न सकेको छैन् । थपिएको म्याद भित्र समेत काम गर्न नसकेको र सडकमा अनियमिता भएको भन्दै स्थानीयले छानबिन गर्न समेत माग गरेका छन् ।  

अधुरै काम, त्यसमा पनि स्टमेट अनुसार काम नभएको भन्दै स्थानीयले बिरोध गरेका छन् । वंकका स्थानीय धन बहादुर विष्टले निर्माण कम्पनीले सडक डिभिजन कार्यालयका कर्मचारीको मिलोमतोमा कमसल समाग्री र ठाँउ ठाउँमा ह्युमपाईप आरसीसी नगरिकनै राखेको बताए । उनका अनुसार ह्युमपाईप राख्दा बेसमा सिमेण्टेड पक्की आरसीसी गर्नुपर्ने भएपनि निर्माण कम्पनीले माटोमै ह्युमपाईप राखेको छ ।

स्थानीय विष्टले निर्माण कम्पनीले मापदण्ड विपरित सडक निर्माण कार्य गर्दा समेत सडक डिभिजन कार्यालय मुखदर्शक भएको बताए । उनका अनुसार सडकको चौडाई १० मिटर सुधार गर्नुपर्ने भएपनि निर्माण कम्पनीले आधा मात्रै काम गरेको छ । यस्तै वंकका अर्का स्थानीय युवा अर्जुन सिह साउदले सम्झौता अनुसार निर्माण कम्पनीले काम नगर्दा स्थानीय मारमा परेको बताए ।

 उनका अनुसार सडकमा अनियमिता हुँदा हिउँदमा धुलाम्मे र बर्षातमा हिलाम्मे हुँदा स्थानीय मारमा परेका छन् । बर्षनी सडक सुधारका लागि करौँड बजेट आएपनि सम्बन्धीत निकायसंगको मिलोमतोमा कुम्ल्याउने गर्दा सडक सुधार नभएको बताए । ‘आएको बजेट अनुसार यो सडकमा काम भएको छैन्, ‘उनले भने, ‘ठेकेदारको लार्पबाहीले स्थानीय जनता मारमा परेका छन् ।’ उनका अनुसार सडकमा ८ हजार ६४० घनमिटर माटो हाल्नुपर्ने भएपनि ठेकेदारले दायाबाँयाबाट नाली खनेर सडकमा माटो थुपारिदिएको छ ।

 यस्तै २ हजार ९६० घनमिटर ग्राभिलिङ्ग हाल्नुपर्ने भएपनि त्यो पनि नहालेको साउनले बताए । विगतमा जोशी निर्माण सेवा कम्पनीको लार्पबाहीका कारण पनि सडक सुधारका लागि आएको ८० लाख बजेट स्वाहा भएको उनको आरोप छ । सडक डिभिजन कार्यालयको मिलोमतोमा दोस्रो पटक म्याद थप गर्दा समेत सडक सुधार नभएको उनको दुखेसो छ ।  वंकका अर्का स्थानीय लोक बहादुर साउदले मिलोमतोमा सडकमा अनियमिता भएको बताए । ‘सरकारले ग्रामीण सडक सुधारका लागि दिएको बजेट सरकारी निकायमा बसेकाहरुबाटै स्वाहा पारिएको छ, ‘उनले भने, ‘सडकको बजेट अनियमिता गर्नेहरुलाई कार्बाही गर्नुपर्छ ।’ उनले ठेक्का रद्द गरेर पुनः ठेक्का आब्हान गर्न समेत माग गरेका छन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरका डिभिजन प्रमुख लक्ष्मी दत्त भट्टले निर्माण कार्यमा ढिलासुस्ती भएको बताए । पुस २० गते थपिएको म्याद सकिन लागेको बताउदै समयमै निर्माण कार्य नगर्ने ठेकेदारलाई हजर्ना गर्ने बताए । भुक्तानी नगरिएको बताउदै डिभिजन प्रमुख भट्टले स्टमेट अनुसार काम भए नभएको आइतबार अनुगमन गरेर पुरा गर्न लगाउने बताए । म्याद भन्दा ढिला काम सम्पन्न गरे दैनिक ०.०५ का दरले हर्जना लगाएर सम्झौता रकमबाट हर्जना कट्टी गरिने डिभिजन प्रमुख भट्टको भनाई छ ।

५१ प्रतिशत कममा ठेक्का सम्झौता गर्दा समस्या भएको सडक डिभिजन कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीयले भने स्टमेट अनुसार काम नगरिए सम्बन्धीत निकाय बिरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन् । गत आर्थिक बर्ष २०७३/०७४ को असार मसान्तमै म्याद सकिएको भएपनि ६ महिना थप गर्दा समेत निर्माण कम्पनीले अझै काम गर्न सकेको छैन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ