arrow

भारतीय दूतावासले इन्धन मागेपछि सर्वत्र हाँसो (टिप्पणी)

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1003842717.jpeg
काठमाडौं । इन्धनको हाहाकार मच्चिएका बेला भारतीय दूतावासले इन्धन उपलब्ध गराउन नेपाल अइल निगमलाई पत्राचार गरेपछि सर्वत्र हाँसो उठेको छ । नेपाल सरकार र दलहरुले पटक–पटक नेपालका लागि भारतीय राजदूत रणजित रायलाई नाकाबन्दीबारे सम्झाउँदा र सोध्दा समेत सुने नसुन्यै गर्ने दूतावासले तेल माग्दा अइल निगमकै कर्मचारी पनि छक्क परेका छन् ।
 
अघोषित रूपमा नाकाबन्दी गरिरहेको भारतकै दूतावासले इन्धन उपलब्ध गराइदिन नेपाल आयल निगमसँग आग्रह गर्दा सर्वत्र हाँसो त उठ्ने नै भयो, सोमबार दूतावासले फ्याक्समार्फत पठाएको पत्रले समेत पेट्रोलियम पदार्थको हाहाकारप्रति व्यंग्य गरेको छ । अइल निगमका अधिकारी भन्छन्,– ‘इन्धनको आपूर्तिमा आफैं बन्द गर्ने छिमेकीकै दूतावासले आफैंलाई इन्धन उपलब्ध गराइदिनु भन्दै पत्राचार गरेको छ ।’ कस्तो हाँसो उठ्दो कुरा ?
 
मधेसमा दुई महिना देखि जारी आन्दोलन भन्सार र राजमार्ग केन्द्रित भएपछि बढेको समस्यामा भारतको अपत्यक्ष सहयोग रहेको आरोप लाग्दै आएको छ । आन्दोलन र अघोषित नाकाबन्दीले आपूर्तिमा समस्या थपिंदै गएको छ भने, जनजीवन चौपट बन्दै गएको छ । चिनको नाका खुल्न थालेको थाह पाएपछि इन्डियन अइल कर्पोरेशनले नेपाल अइल निगमलाई खाली ट्याङकर पठाउन अनुरोध गरेपछि ट्याङकर भारत पठाइयो । तर, १० प्रतिशत भन्दा बढी इन्धन दिन नसक्ने भन्दै इन्डियन अइल कर्पोरेशनले ट्याङर भारतमै थन्क्याईदिएको छ । दुवै अइल निगमबीच भएको बिटूबी सम्झौताको समेत ठाडो उल्लंघन गर्दै भारतले नेपाल अइल निगमलाई करोडौं नोक्सान गरेकामा क्षतिपूर्ति माग गरिएको छ ।
 
नेपाल अइल निगमका अनुसार सहज रूपमा सञ्चालन गर्न भारतीय दूतावासलगायत करिब १६ दूतावास र कूटनीतिक नियोगले इन्धन माग गरेका छन् । माग गर्नेहरूमा भारत, मलेसिया, मेक्सिको, म्यानमार, अस्ट्रेलियालगायत दूतावास छन् । ती निकायहरूले पत्रमार्फत एक सयदेखि डेढ सय लिटरसम्म इन्धन उपलब्ध गराइदिन आग्रह गरेको निगमका अधिकारीहरूले बताए । सो इन्धन एक साताका लागि मागिएको ती अधिकारीले बताए ।
 
निगम प्रबन्ध निर्देशक गोपाल खड्काले इन्धनविना दैनिक कार्य सम्भव नभएकाले कार्य सहज रूपमा सञ्चालन गर्न भारतलगायत अन्य दूतावासले इन्धन माग गरेको बताए । दूतावासको पत्रमा हस्ताक्षर गरेर वितरण विभागमा पठाएको बताउँदै उनले भने,–‘ इन्धन वितरण गरेर नगरेको बारेमा भने जानकारी छैन।’ 
 
परराष्ट्र मन्त्रालयले आवश्यक इन्धनका लागि दूतावासलगायत कूटनीतिक नियोगलाई निगमसँग पत्राचार गर्न भनेको खड्काले बताए । उनले थपे–‘सोहीअनुसार दूतावासहरूले पत्राचार गरेका हुन् ।’
 
भारतले आनौपचारिक रुपमा नाकाबन्दी खुलेको जनाए पनि अइल कर्पोरेशनले १० प्रतिशत ट्याङकरमा मात्र इन्धन भर्ने नीति लागू गरेको छ । आइतबारबाट माथिको आदेश भन्दै १० प्रतिशत मात्रै इन्धन दिने गरेको निगमका प्रवक्ता दीपक बरालले बताएका छन् । मंगलबार पनि लोडका लाथि गएका एक सय ६८ ट्यांकर पठाएपनि माथिको आदेश भन्दै ३५ ट्यांकर मात्रै लोड भएको बरालको भनाई छ । अइल कर्पोरेशनसंग कुरा भएर भनेजति ट्याङकर पठाइन्छ, बरालले भने,–‘इन्धन भर्ने एजेन्टले माथिको आदेश भन्दै १० प्रतिशतमा मात्रै भर्ने गरेका छन् ।’
 
अघोषित रुपमा असहयोग गर्दै आएको भारतले १० प्रतिशतको नीति समेत औपचारिक रूपमा जानकारी गराएको छैन । नाकाबन्दी लगाएको र खोलेकोबारे औपचारिक रुपमा मुख नखोलेको भारत सरकारले नेपालको संविधान जारीप्रति कुनै असन्तोष नरहेको जिकिर गर्दै आएको छ ।
 
तर, कुन आधारले नाकाबन्दी भयो भन्नेबारे अझै प्रष्ट्याएको छैन । मधेस आन्दोलनले असुरक्षित रहेको भन्ने भारत सीमान क्षेत्रमा अति सम्वेदनशील र ज्वलनशिल इन्धन (पेट्रोल, डिजल र एलपी ग्याँस) का ट्याँकर बुलेट जोखिम मोलेर राखिरहेको छ । सामान्यतया निगमले पेट्रोल र डिजेल तथा मट्टितेल गरेर दैनिक ३ सयदेखि साढे ३ सय ट्यांकर इन्धन आयात गर्दै आएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ