arrow

एक रनको रोमाञ्चक जितसँगै इपिएलको उपाधि विराटनगरलाई

logo
कुमार चौलागाईं,
प्रकाशित २०७४ पुष १५ शनिबार
EPL-logo-jpg.jpg

काठमाडौँ ।  भैरहवा ग्लाडिएटर्समाथि एक रनको रोमाञ्चक जित हात पार्दै विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधि जितेको छ । त्रिवि कीर्तिपुरको खेल मैदानमा भर्खरै सकिएको खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिलो ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।

एकसय ५० रनको विजय लक्ष्यका साथ मैदान उत्रेको शरद भेषवाकरको कप्तानीमा खेलिरहेको भैरहवा ग्लाडियटर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।  क्रिकेट खेलको एकै ओभरले हार जित दिलाउँछ भन्ने उक्ति आज त्रिवि खेल मैदानमा प्रमाणित भएको छ । अठाऔँ ओभरसम्म आफ्नो नियन्त्रण राखेको खेलको अन्तिम २ ओभरमा टिक्न नसक्दा भैरहवा जितबाट विमुख भयो । अन्तिम दुई ओभरमा मात्र भैरहवाले ५ विकेट गुमाएको थियो ।

एकसय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले शुरुवातमा निकै राम्रो गरेको थियो । आठौँ ओभरमा अंशुमान रथले ३६ रन दिएपछि खेल भैरहवाको पक्षमा गएको मानिएको थियो । तर १५औँ ओभरको पहिलो बलमै भैरहवाका कप्तान शरद रन आउट हुन पुगे । त्यसपछि विराटनगर खेलमा फर्कियो । यद्यपि अन्तिम २ ओभर मात्र ११ रन चाहिएको थियो र भैरहवाको जितको सम्भावना कायमै थियो । तर, कप्तान पारस खड्काले १९औँ ओभरको २ रन दिएर २ विकेट लिएपछि भैरहवालाई अन्तिम ओभरमा ९ रन चाहियो ।

अन्तिम ओभरमा अनिल साहको पहिलो बलमै कृष्ण कार्कीले चौका हान्दै जितको आशा कायम राखे पनि दोस्रो बलमा उनी आउट भए । निकै रोमाञ्चक बनेको अन्तिम ओभरको तेस्रो बलमा रन नै थिएनन् । चौथो बलमा भुवन कार्की रन आउट भए भने पाँचौँ बलमा पुनित मिश्रको विकेट गुम्यो ।

अन्तिम बलमा भैरहवालाई जितका लागि ५ रन चाहियो तर ३ रन मात्र जोड्न सक्यो र एक रनको नाटकीय जित निकाल्दै विराटनगर च्याम्पियन बन्यो ।  यसअघि विराटनगरका लागि अंशुमन रथले ४१, कप्तान खड्काले २७, हरिशंकर शाहले २२ तथा प्रनित थापा मगरले १४ तथा करण केसीले नौ रन बनाएका थिए ।

शुरुवातमा राम्रो प्रदर्शन गरे पनि पछिल्ला क्रमका ब्याट्सम्यानहरू सस्तैमा आउट भएपछि विराटनगरले मध्यम योगफल तयार पारेको हो । भैरहवाका लागि पुनित मिश्र र कृष्ण कार्कीले दुई÷दुई तथा शरद भेषवाकर र आरिफ शेखले एक÷एक विकेट लिए ।  यो प्रतियोगितामा पारस खड्काको टिम विराटनगरसँग शरद भेषावकरको भैरहवाको तेस्रो हार हो । भैरहवा समूह चरण र पहिलो क्वालिफायरमा पनि हारेको थियो । ‘म्यान अफ द फाइनल’ विराटनगरका कप्तान खड्का नै चुनिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ