arrow

आरुषी–हेमराज हत्या काण्डः दोष फेरि नेपाली कामदारलाई 

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
aarushi-hemraj.jpg

काठमाडौँ । ‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ ।

उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिंदै फैसला आउने क्रमसँगै गत अक्टोबर दोस्रो सातामा इलाहावाद उच्च न्यायालयले यसअघि ‘क्लिन–चिट’ पाइसकेका कामदारलाई दोषी देखाइएको छ ।

नोयडाका प्रतिष्ठित चिकित्सक राजेश–नुपुर तलवारकी एकमात्र छोरी आरुषीको शंकास्पद हत्यामा तत्काल आशंका गरिएका घरेलु कामदार हेमराज बञ्जाडेको पनि त्यही अपार्टमेन्टमा आरुषी मृत भेटिएको दुई दिनपछि शव भेटिएको थियो । 

भारतको केन्द्रिय अनुसन्धान ईकाइ, सीबीआईले विभिन्न तह र चरणमा गरेको हत्या अनुसन्धानपछि चार वर्षअघि आरुषीका पितामाता स्वयं हत्यारा रहेको फैसलासहित अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो । 

तर, सीबीआई अनुसन्धानको पछिल्लो चरणमा एउटै घटना र प्रकृतिको फैसलामा विगतमा ‘निर्दोष’ सावित भइसकेका पात्रलाई दोष देखाएर थुनामा रहेका तलवार दम्पतीलाई सजायमुक्त गरिएपछि पीडित पक्षका तर्फबाट मृतक हेमराजकी श्रीमती खुमकला बन्जाडेले दिल्ली पुगेर सर्वोच्च अदालतमा उजुरी हालेकी छिन् ।

‘मेरा श्रीमान हेमराज बन्जाडेको हत्या कसले गरेको हो ? सीबीआई र अरु सम्बद्ध निकायले मेरा श्रीमानको हत्याराबारेमा अलग सोधबिन किन गर्न नचाहेको हो ?’,अर्घाखाँचीको, धारापानी निवासी खुमकलाले दिल्ली पुगेर फिरेपछि भनिन् । 

दिल्लीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोग लिएर न्यायको खोजीमा अदालत पुगेकी खुमकलाले अहिलेसम्म श्रीमान हत्यामा संलग्न अभियुक्त अथवा कानुनी तहको क्षतीपुर्तिबारेमा कहींकतैबाट भरथेग पाएकी छैनन् । अदालती फैसलामा आरुषी र हेमराज हत्यापछि तलवार परिवारसम्बद्ध नेपाली घरेलु कामदारहरु कृष्ण थापा, राजकुमार तथा विजय मण्डल (भारतीय) लाई दोषी देखाएको छ । 

यीमध्ये कृष्ण र राजकुमार अहिले नेपालमै बसेर आफ्नो रोजीरोटी धान्ने काम गरिरहेका छन् । आरुषी हत्याकाण्डको अनुसन्धान गर्ने क्रममा यी नेपाली कामदारहरुलाई सीबीआईले चर्को यातनासहित बयान लिएको खबर पनि बाहिर आएको थियो ।

‘अदालतमा कामदारहरु कृष्ण, राजकुमार र विजयका पक्षबाट बहस पैरवी गरिदिने कोही थिएन । उनीहरुको भनाइसमेत राख्न दिइएन, यो प्रचलित न्यायको सिद्धान्तविपरित भयो,’ एकता समाजका महासचिव खगेश्वर शर्माले दिल्लीबाट जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

पछिल्लो फैसलामा हेमराजको हत्याको कारणबारेमा केही खुलाइएको छैन । त्यसमाथि, कामदारहरु स्वयं आरुषी हत्याका ‘भागिदार हुन सक्ने’ भनेर मृत हेमराजमाथि समेत शंकाको दृष्टि राखिएको फैसलाले संकेत गरेको छ ।

भारतीय समाजमा एकदमै प्रचलित बनेको रहस्यमयी काण्ड ‘आरुषी–हेमराज हत्या’ माथि पुस्तक तथा फिल्मसमेत बनिसकेको छ ।

फैसलाले नेपाली कामदारलाई ‘दोषी करार’ गर्न चाहेको र आफ्ना श्रीमान हेमराजको हत्याबारे सीबीआईले केही नबोलेकोमा न्याय खोज्न दिल्ली पुगेकी खुमकलाले त्यहाको नेपाली दुतावाससमक्ष पनि आफ्नो सरोकार सुनाउन चाहेकी थिइन् । ‘तर दुतावासको कन्सुलर सेवासँग पहुँच राख्नै सकिएन, यस्ता गम्भीर प्रकृतिका मामलामा दुतावासले सुनुवाइ गर्ने गरेको नजिर हामीसँग छँदै छैन,’ समाजका दिल्लीस्थित एक अधिकारीले भने ।

अर्घाखाँचीको धारापानी गाउँमा खेतीपातीसँगै मुस्किलले जीवनयापन गरिरहेकी खुमकलाको छोरा छातीको समस्याबाट ग्रसित भएर उपचाररत छन् । अनाहकमा पति मारिएको घटना सबैतिर चर्चित भए पनि खुमकलाले कहींकतैबाट सहयोग वा सान्त्वना पाएकी छैनन् । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ