arrow

सशस्त्र मुख्यालयको स्टोरमा आगो झोंस्ने कार्यमा संलग्न भन्दै लेखाका सई पक्राउ

ठूला माछा पनि पर्ने सम्भावना

logo
प्रकाशित २०७४ पुष १६ आइतबार
APF_NEW.JPG

काठमाडौं । सशस्त्र प्रहरीको मुख्यालयमा रहेको स्टोरमा आगो लगाउने कार्यमा संलग्न रहेको शंकामा लेखा शाखामा कार्यरत एक प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले प्रहरी नायव निरीक्षक सई हुम बहादुर थापालाई पक्राउ गरेको हो ।

सई थापा भन्दाअघि हवल्दार रामकृष्ण श्रेष्ठ पक्राउ परेका थिए । अनुसन्धानका लागि सई थापालाई पनि पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी दिवेश लोहनीले हाम्रा कुरालाई जानकारी दिए ।

उनले भने, ‘संलग्नताको कुरा आएपछि पक्राउ गरिएको हो । यसअघि पक्राउ परेका हवल्दार भन्दा माथि रहेको व्यक्तिलाई पनि आगो लगाउँदा केही न केही फाइदा पुग्ने थियो कि भनेर सोधपुछ गर्न म्याद थप नै गरिएको छ ।’ आइतबारै जिल्ला अदालतबाट म्याद थप गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआले सशस्त्रको खरिद प्रक्रियामा भएको अनियमितताबारे छानविन गरिरहेको समयमा प्रमाणहरु नष्ट गर्न भन्दै आगो लगाएको देखिन आएको लोहनीले बताए । घटना योजनावद्ध रहेको भन्दै प्रहरीले अनुसन्धान तीब्र पारेको छ ।

पक्राउ परेका हवल्दारले पटक–पटक अख्तियारले बयानका लागि बोलाएकाले आफु नै फस्ने भएपछि आगो लगाएको स्वीकारेका छन् । सशस्त्रले पनि एआईजी प्रेम शाहीको संयोजकत्वमा छानविन समिति बनाएर घटनाको अनुसन्धान गरिरहेकोछ । आगो लगाउने कार्यमा अहिलेसम्म त्यही शाखामा कार्यरत चार–पाँच जनाको संलग्नता खुलेको छ ।

घटनाक्रमले खरिदप्रक्रियासँग जोडिएका उच्च अधिकारीहरु समेत तानिन सक्ने सम्भावना बढेको लोहनीले बताएका छन् । उनका उनुसार यसको तह माथिसम्मै हुनसक्ने र पूरै योजनावद्ध हुन सक्छ ।

विगतमा भएका विभिन्न कारोबारका विल लगायतका कागजात स्टोर शाखामा राखिएको र बिद्युत् सर्ट भएर आगो लागेको भनेर कागजपत्र जलाएर कारबाहीबाट जोगिने प्रयास गरिएको देखिन आएको छ ।

हवल्दार श्रेष्ठले मध्यरातपछि सशस्त्रको स्टोर भएको भवनमा पेट्रोल छर्किएर आगो लगाएर भागेका थिए । आगोमा परेर केही महत्वपूर्ण कागजपत्रहरु जलेका छन् ।  यो घटनाबारे गृह मन्त्रालयले पनि घटनाको अनुसन्धान गरिरहेको छ । तीनै तर्फबाट यो घटनाको अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ