arrow

चीनले नेपालमा कस्तो सरकार चाहन्छ ? केपी र पीकेको अर्थ छैन 

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
nepal-china-flag.jpeg

काठमाडौं । चीनले नेपालमा स्थायी सरकारमात्र चाहेको खुलासा भएको छ । चीनका एकजना वरिष्ठ राजनीतिक विष्लेषकले चीन नेपालमा सुरक्षित पाँचवर्षे स्थायी सरकार भएको हेर्नमात्र चाहेको स्पष्ट पारेर फर्केका छन् । 

तीन दिने नेपाल भ्रमणमा आई उनले नेपालप्रति चीनको भित्री चाहना स्थायी सरकारमै रहेको बताएका हुन् । तीन दिन नेपाल बसाइका क्रममा उनले अधिकांश शीर्ष दलका नेताहरूसँग र उनीहरूका विशेष दूतसँग भेटेका थिए । 

उनीहरूसँगको भेटमा चीनले आफ्नो पार्टीलाई कसरी लिन्छ भन्ने बाहेक कुनै जिज्ञासा नभएको ती चिनियाँ राजनीतिक विश्लेषकले स्पष्ट पारेका छन् ।

उनका अनुसार सबैभन्दा झट्का लाग्ने कुरा त के भने कम्युनिष्ट गठबन्धनका लागि चीनले सबैभन्दा ठूलो भूमिका खेलेको थियो भन्ने विषयलाई ‘फाल्तुकुरा’ भन्दै उनले चीनले नेपाललाई अस्थिर हैन स्थायी भएको देख्न चाहेको प्रतिक्रिया दिए । 

उनका अनुसार चीनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको पार्टीबीच एकता गर्नका लागि कुनै भूमिकै खेलेको छैन । चीनले ओली र प्रचण्डमध्ये कुनै एककोमात्र नेतृत्वमा सरकार बनोस् भन्ने पनि चाहेको छैन । 

चीनले जोसुकैको नेतृत्वमा सरकार बने पनि पाँच वर्ष ढुक्कले एकै जनाले नेतृत्व गरेको हेर्न खोजेको छ । चीनले भारतको समेत सकारात्मक सहयोग र साथ लिएर अगाडि बढ्ने किसिमको सरकार हुनुपर्नेमा जोड दिएको छ । 

ती उच्च अधिकारीले भनेका छन्, ‘नेपाललाई चीनले मात्र सहयोग गरेर के नै हुने हो र, यहाँ त अबको सरकारको नेतृत्व गर्नेलाई हाम्रोमात्र नभइ भारतको पनि सहयोग होस् ।’ भारतको पनि सहयोग रह्यो भने नेपालले छिट्टै देशमा विकासका काम गर्न सक्ने उनको ठोकुवा छ । 
पछिल्लो राजनीतिक घटनाक्रमले केपी ओलीको प्रधानमन्त्री बन्ने सम्भावना कम हुँदै गएको छ । कम्युनिष्ट गठबन्धनको स्पष्ट बहुमत भए पनि संघीय समाजवादी फोरम र राजपा नेपाललाई समेत समेटेर नयाँ सरकार बन्न सक्छ भनी आँकलन गर्न थालिएको छ । 

ओली र प्रचण्डबीचको जुँगाको लडाइँले पार्टी एकता हुन पनि सकस हुने र सरकारमा पनि आपसी समझदारी नहुने हो कि भन्ने पनि पर्न थालेको छ । त्यसकै मौका काँग्रेसले पनि उठाउन थालेको छ । 

काँग्रेसले ओलीलाई भन्दा प्रचण्डलाई सजिलो मान्छ । एमाले बाहेक पनि दलहरू मिलेर सरकार चलाउन सक्छन् । 

यदि ओलीले आरोप प्रत्यारोप गर्दै जाने हो भने भोलिका दिनमा माओवादी वा काँग्रेसको नेतृत्वमा सरकार नबन्ला भन्न सकिन्न । पहिलो र दोस्रो छाडेर तेस्रो दलले सरकारको नेतृत्व गरेका उदाहरण धेरै छन् । यदि त्यसै भयो भने आश्चर्य नमाने हुन्छ । 

चीनले प्रचण्ड र ओलीको एकैपटक हात थामेन भने पार्टी एकताको चर्चा सेलाउन सक्छ । यदि पार्टी एकता हुने सम्भावना कमजोर बन्दै गए एमाले र माओवादीको संयुक्त सरकार बन्ने छैन । त्यसको फाइदा काँग्रेस र मधेसी दुई दललाई हुनेछ । 

चीनले एमाले र माओवादीको बहुमतीय सरकारमा पनि कुनै आपत्ति नभएको स्पष्ट पारेको छ । तर एउटा रिजर्भेसन राखेको छ कि ‘भारत पनि सघाओस्’ । भारतले पनि साथ दिने हो भने एउटा सरकारले ढुक्कसंग पाँच वर्षसम्म बिँडो थाप्न सक्छ । 

अस्थीर सरकारले मुलुक यसै पनि थिलोथिलो भएको छ । चीनले निकै सहृदयी भएर सोचेको हो भने यसतर्फ पनि दलहरूले ध्यान दिनुपर्ने देखिन्छ । 

गत बिहीबार तीन दिने नेपाल बसाई सकेर फर्केका चिनियाँ अधिकारीले एउटा गतिलो सन्देश छोडेका छन् । उनको सन्देशले काँग्रेसलाई सुध्रिने अवसर छ भने कम्युनिष्ट गठबन्धनलाई एक भएर अगाडि बढ्नु पर्ने छ । ओली र प्रचण्डलाई त्यतिलेमात्र पुग्ने छैन । 

उनीहरूले सन्तुलन राजनीतिमा लागेर देशलाई विकासको बाटोमा हिँडाउनु पर्नेछ । चीनले पनि सही सोचेको हो वा एउटा नयाँ फन्डा छाडेर जाऔं न त भनेर भनिएको हो त्यो त केही दिनको चिनियाँ गतिविधिले पनि फरक पारिसक्नेछ ।

चीनले जेसुकै सोचोस् ती चिनियाँ विष्लेषकको भनाइमा दम छ । भारतीय सहयोग रहेन भने नयाँ सरकारले दुःख पाउने छ । त्यसका लागि मिलेर अगाडि बढ्नुको विकल्प छैन । 

ओली र प्रचण्डको आशीर्वाद पेइचिङबाट नमिल्ने हो भने कम्युनिष्ट गठबन्धनमा पनि विचलन आउने निश्चित छ । (जनभावना साप्ताहिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ