arrow

वाम नेता मिलाउन सकस, कसको चाहना के ? बाबुराम र उपेन्द्र पनि ?

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
bam-neta.jpg

काठमाडौं । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् ।

दुवै अध्यक्ष तहमा पार्टी एकतापछि नेताहरूको व्यवस्थापनका विषयमा सघन छलफल चलिरहेको थाहा भएको छ । एकतापछिको आफ्नो भूमिकाका विषयमा नेताका आआफ्नै इच्छा अभिव्यक्त हुन थालेका छन् ।

आसन्न वाम सरकारको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्ने करिब सहमति भए पनि पार्टी एकतापछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधव नेपाललगायत नेताको व्यवस्थापनका विषयमा गठबन्धनले ठोस निर्णय लिइसकेको छैन ।

दुवै पार्टीका अध्यक्ष कार्यकारी भूमिकामा रहने बताइए पनि अहिलेसम्म त्यस्तो मोडालिटीको ठोस खाका तयार भने भइसकेको छैन । समान कार्यकारी भूमिकामा रहने ‘भद्र सहमति’ सहित पार्टी एकताको घोषणा गरिएको छ तर त्यस्तो भूमिकाको व्यवस्थापन मिलाउन नेताबीच गृहकार्य जारी छ । बुधबार र शुक्रबार ओली–दाहालबीचको एक्लाएक्लै छलफल त्यसैमा केन्द्रित देखिन्छ ।

सम्मानजनक एकताका लागि नेतृत्वको पदीय व्यवस्थापनको प्रश्नलाई दोस्रो पुस्ताका नेताहरूले दबाब रूपमा उठाएका कारण पनि गठबन्धनका दुवै अध्यक्ष थप दबाबमा छन् ।

कसको चाहना के ?

ओली-दाहालका अतिरिक्त पूर्वप्रधानमन्त्री भइसकेका झलनाथ खनाल र माधव नेपाल एमालेका वरिष्ठ नेता हुन् । दोस्रो वरीयतामा रहेका तर प्रभावशाली नेताहरूको व्यवस्थापनमा पनि उत्तिकै चुनौती देखिन्छ । एमालेभित्र वामदेव गौतम र सुवास नेम्बाङ तथा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासम्मको पदीय व्यवस्थापन पार्टी एकतापछिको चुनौती बन्दै छ ।

पार्टी एकता गर्दा कम्तीमा यी आठ जना नेताको पदीय व्यवस्थापन पहिले नै मिलाउनुपर्ने आवश्यकता देखिएको माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले बताए । त्यसपछिका अन्य नेताको पदीय मिलान भने एकतापछि नै गर्न सकिने गरी छलफल चलिरहेको पौडेलले आइतबार केही सञ्चारकर्मीसँग छलफलका क्रममा खुलाए ।

दोस्रो तहका नेतासम्मको ‘पोजिसन’ एकतापूर्व नै किटान खोज्दा एकता भाँडिनसक्नेतर्फ ओली(दाहाल दुवै सचेत देखिएका छन् । त्यसो हुँदा केही शीर्ष नेताको पदीय व्यवस्थापनको मोटो खाका मिलाएर अन्यलाई भने एकतापछिको सिस्टममा पाइपलाइनमा राखेर व्यवस्थापन गर्दै जाने योजनामा दाहाल(ओली छन् ।

नयाँ सरकारको प्रधानमन्त्रीमा ओली निर्विकल्प छन् । माओवादी अध्यक्षले समेत अबको सरकार ओलीकै नेतृत्वमा बन्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । तर, ओलीको चाहना प्रधानमन्त्रीको अतिरिक्त पार्टी अध्यक्ष र संसदीय दलको नेतासम्म पनि देखिएको छ । उनीनिकट ईश्वर पोखरेल, शंकर पोखरेललगायत नेताले प्रधानमन्त्रीदेखि पार्टी अध्यक्षसम्म ओली नै बन्ने बताइरहेका छन् । ओली यस विषयमा बोलेका छैनन् । दाहालसँगको एक्लाएक्लै भेटमा पनि ओलीले मुख खोलिनसकेको स्रोतको दाबी छ ।

माओवादीले प्रधानमन्त्री र एकीकृत पार्टी नेतृत्वको विषय बाँडफाँट गर्नुपर्ने चाहना राखेको छ । संगठनात्मक घनत्व एमालेको बढी भएका कारण यी दुई पदमध्ये पहिलो रोजाइको पद एमालेले लिने र छाडिएको पदमा माओवादीले लिने गरी ओली(दाहालको पदीय व्यवस्थापन हुने अपेक्षा माओवादीले लिएको छ ।

तर, पार्टी एकतापछि अध्यक्ष पद माओवादीलाई छाड्नुपरेमा भने राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमा एमालेले आफ्नो दाबी गर्न खोजेको छ । माओवादी अध्यक्ष दाहाल कार्यकारी भूमिकामै रहन चाहने भएकाले उनलाई सहअध्यक्षमा राख्न र मनाउन नसकिने एमालेले बुझेको छ ।

ओली(दाहालको पदीय व्यवस्थापनसँगै पूर्वप्रधानमन्त्री खनाल र नेपालको पदीय व्यवस्थापनमा पनि गठबन्धनलाई चुनौती छ । खनालले मिडियामार्फत राष्ट्रपति बन्ने चाहना राख्न थालेका छन् । 

ओलीको चाहना आफ्नो पक्षमा नरहेको बुझेका खनालले माओवादी नेताहरूले अलिक प्रेसर आफ्नो पक्षमा बढाइदिए बन्न सकिने ठानेका छन् । उनले राष्ट्रपतिमा प्रस्तावित गरिए स्विकार्ने सार्वजनिक अभिव्यक्ति विभिन्न सञ्चारमाध्यममार्फत दिइसकेका छन् । 

तर, कार्यकारी चलाइसकेको नेता सेरेमोनियल राष्ट्रपतिमा जाँदा भविष्यका लागि गलत नजिर स्थापित हुने तर्क एमाले नेताहरूले उठाएका छन् । ‘झलनाथजीको तीव्र चाहना राष्ट्रपतितिर देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘त्यसका लागि पार्टी एमाले र माओवादीले अलिक बढी जोड दिए हुन्थ्यो भन्ने उहाँमा देखिन्छ ।’

खनालले गठबन्धनभित्रका युवा नेतासँगको भेटमा त्यस्तो वातावरण निर्माणको भूमिकाका लागि अपिल गरेका पनि छन् । तर, एमालेको एउटा पक्षले खनाललाई भन्दा पनि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै दोहोर्‍याउने चाहना देखाएको छ । कतिपय छलफलमा ओली स्वयंले भण्डारीलाई नै राष्टपतिका रूपमा दोहोर्‍याउनुपर्ने धारणा राखिरहेको माओवादी नेताहरू बताउँछन् ।

राष्ट्रपति भण्डारी स्वयंले पनि आफू छोटो समय मात्रै राष्ट्रपति भएकाले पुनः दोहोर्‍याइदिन गठबन्धनका नेतासँग लबिङ थालेकी छन् । भण्डारी नै राष्ट्रपति दोहोरिए माओवादीलाई पनि उपराष्ट्रपति दोहोर्‍याउन दबाब पर्नेछ । 

त्यसो हुँदा उपराष्ट्रपतिमा नन्दबहादुर पुन दोहोरिनेछन् । ‘भण्डारीलाई नै राष्ट्रपति दोहोर्‍याउन परेमा हामीबाट फेरि पासाङजी नै उपराष्ट्रपतिमा दोहोरिनुहुन्छ,’ माओवादी नेता चक्रपाणि खनालले भने । 

तर, राष्ट्रप्रमुख सेरेमोनियल पद भएकाले त्यसलाई कार्यकारी प्रमुखझैं दोहोर्‍याउनु उचित नहुने भन्दै एमालेवृत्तभित्र असन्तुष्टि बढेको छ । एमालेका एक नेताले भने, ‘यस्तो प्रस्ताव नै असहज हो, गणतन्त्र भर्खरै स्थापित भएकाले यस्तो बेला हामीले अरू देशका गणतन्त्रको अनुभवलाई पाठका रूपमा लिनुपर्छ । सेरेमोनियल पद दोहोरिने कुरा अन्यत्रको अनुभवमा उचित देखिन्न ।’

पूर्वप्रधानमन्त्री नेपालको चाहना भने अहिले नै राष्ट्रपति बन्नेतिर नरहेको उनीनिकट स्रोत बताउँछ । उनले अझै पनि राजनीतिमै क्रियाशील हुन चाहेका छन् । 

उता, संविधानसभाबाट संविधान निर्माणको संयोजन गरेको हुनाले अब राष्ट्रपतिमा एमाले नेता सुवास नेम्बाङलाई लैजानुपर्ने एमाले दोस्रो तहका नेताहरूले व्यक्त गरेका छन् । 

तीन पटक सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका नेम्बाङ आफैंले मुख खोलिनसके पनि ‘पार्टी नेतृत्वले मूल्यांकन गर्नुपर्ने’ परोक्ष टिप्पणी गर्ने गरेको स्रोतले बतायो । 

एमाले पक्षले संघीय संसद्को प्रतिनिधिसभा नेम्बाङलाई दिँदा राष्ट्रियसभा र प्रादेशिक संसद् सञ्चालनमा सहजता आउने भन्दै नेतृत्वलाई आग्रह गरिरहेको जानकारी दियो । माओवादीले भने राष्ट्रपति र सभामुखको विषय बाँडफाँट गर्नुपर्ने प्रस्ताव गरेको छ ।

‘राष्ट्रपति उहाँहरूले लिन चाहेमा सभामुखमा हाम्रो अडान हुन्छ,’ माओवादी नेता पौडेलले भने । माओवादी स्रोतका अनुसार माओवादीको भागमा परेमा पूर्वसभामुख ओनसरी घर्ती वा कृष्णबहादुर महरा मध्येबाट आउन सक्नेछन् ।

वामदेव-नारायणकाजीमा यस्तो हुँदै छ छलफल

एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको व्यवस्थापन पनि गठबन्धनभित्र पेचिलो छ । एकता घोषणा पूर्व नै यी दुई नेताको व्यवस्थापन गर्नुपर्ने बाध्यता एमाले(माओवादी दुवैलाई परेको छ ।

प्रतिनिधिसभा निर्वाचन जितेर आएका भए कुनै न कुनै रूपमा गौतम( श्रेष्ठको व्यवस्थापन सहज हुने थियो । तर, निर्वाचनमा दुवै नेता पराजित भएपछि उनीहरूको व्यवस्थापन ओली(दाहाललाई चुनौती बनेर आएको छ ।

एकताअघि नै दुवै नेताको व्यवस्थापनका विषयमा छलफल चलेको स्रोत बताउँछ । तर, यी दुई नेताको व्यवस्थापनमा फरक-फरक मोडालिटीमा छलफल चलेको छ । 

स्रोतका अनुसार जनताले मतबाट पराजित गरिसकेपछि आगामी ५ वर्ष पार्टी कामको जिम्मेवारी लिएर सरकार, सदनलगायत जिम्मेवारीबाहिर गौतम-श्रेष्ठ दुवै नेता बस्नुपर्ने एकथरी धारणा दुवै पार्टीभित्र उठेको छ । 

त्यस्तै, अर्को धारणा राष्ट्रपति या उपराष्ट्रपतिमा समेटिने या उक्त पदमा चुनाव लड्न जाने गठबन्धनभित्रका नेताको स्थानमा पदपूर्ति गर्ने गरी उपचुनावमा निर्वाचन लडाउने भन्नेमा गठबन्धनभित्रै चर्चा चलेको छ।

एमाले नेता गौतमले आफू आर्थिक विकासका कुनै संरचनामा सहभागी भई राष्ट्रलाई योगदान दिन चाहेको सार्वजनिक रूपमा बताएका छन् । ‘आर्थिक विकास र कुनै संरचनामा सहभागी भएर राष्ट्र निर्माणमा योगदान दिने मेरो इच्छा हो,’ चुनावमा पराजित भएपछिको आफ्नो भूमिकाको खोजीमा गौतमले शनिबार एक कार्यक्रममा त्यस्तो आकांक्षा व्यक्त गरेका हुन् ।

बाबुराम–उपेन्द्रको चाहना पनि गठबन्धनतिरै –

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको चाहना पनि वाम गठबन्धनतिरै लहसिने खालको छ । त्यसैका लागि दुवै नेताले गठबन्धनका शीर्ष नेतृत्वसँगको भेटघाटलाई तीव्रता दिइरहेका छन् ।

उपेन्द्रको ओलीसँग र बाबुरामको ओली–दाहालसँगको भेटको मूल मक्सद पनि त्यसैभित्र निहित छ । एमाले–माओवादी दुवै दलले कांग्रेस र राजपालाई छाडेर उपेन्द्र र बाबुरामलाई भने आफूतिरै तान्ने प्रयास जारी राखेका बेला उनीहरूले पनि गठबन्धनतिरै ढल्किने संकेत गरेका छन् ।

तर, एमाले माओवादीले पार्टी एकता गर्दा कम्युनिस्ट पार्टीको नाम नराखी समाजवादी नाम राखेमा आफूहरूलाई पनि एकतामा आउन सहज हुने उनीहरूको तर्क छ । आइतबार माओवादी अध्यक्ष दाहालसँग नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई दम्पतीको भेटको अन्तर्य पनि त्यसैभित्र निहित रहेको माओवादी स्रोत बताउँछ । 

आफ्नै नयाँ निवास खुमलटारमा भेट गर्न आइपुगेका भट्टराईलाई दाहालले मूलधारमै आउन आग्रह गरेका थिए । ‘बाबुरामजी पनि कांग्रेसतिर जानुहुन्न, उहाँको एउटै कुरा कम्युनिस्ट भन्ने शब्द नराखी समाजवादी पार्टी राखिदिए हुन्थ्यो भन्ने देखिन्छ,’ माओवादी नेता पौडेलले भने, ‘उहाँहरूलाई यतै ल्याउने पहल जारी छ ।’ (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ