arrow

नक्कली लाइसेन्सको धन्दा, ३१ सय लाइसेन्स छानबिनको दायरामा

logo
प्रकाशित २०७४ पुष १७ सोमबार
licence.jpeg

काठमाडौँ । २०७३ साल चैत ३ मा नमराज कुनुवारका नाममा यातायात कार्यालयले लाइसेन्स जारी गर्‍यो । आवश्यक कागजात र प्रमाणपत्रबिना नै ०४–०६–००१७७०१२ नम्बरमा उनको नाममा लाइसेन्स जारी गरेको भेटियो । 

सोही दिन सोमबहादुर राई, रोशन योञ्जन र अप्सन अधिकारीलगायतका नाममा पनि यसैगरी लाइसेन्स जारी गरेको भेटियो ।


अर्को फाइल खोल्दा ०७३ साल चैत २४ मा वितरण गरिएको उमेश बुढामगर, चोमनारायण थनेत, दलबहादुर सिपिली, अनिश तामाङ र मानवीर तामाङको लाइसेन्ससमेत प्रक्रिया नपुर्‍याई जारी गरेको भेटियो । 

‘यिनीहरू भारतको आसामका थिए, स्मार्टकार्डबिना नै प्रक्रिया मिचेर लाइसेन्स वितरण गरेका रहेछन्,’ यातायात व्यवस्था विभाग स्रोतले  भन्यो ।

यातायात व्यवस्था विभागमा केही महिनाअघि गम्भीर प्रकृतिको सूचना आयो । मातहतका सवारी चालक अनुमतिपत्र कार्यालयहरूमा प्रक्रिया नपुर्‍याई ‘घूस’ खाएका भरमा धमाधम लाइसेन्स जारी भएको सूचनाका आधारमा विभागले छानबिन थाल्यो । 

विभागका शाखा अधिकृत किरण ढकाल र नासु श्रीराम भुर्तेलको टोलीले चालु आर्थिक वर्ष साउनयता मा करिब ३१ सय लाइसेन्स ‘नेपालीकरण’ भएको प्रतिवेदन दिँदै तीमध्ये करिब सबैजसो छानबिन हुनुपर्ने भनी सिफारिस गरेको छ ।

 ‘छानबिनका क्रममा केही गम्भीर अनियमितताका लक्षण देखिएकाले हामीले फाइल अख्तियारमा पठाएका हौं,’ बिहीबार नै अख्तियारमा प्रतिवेदन बुझाएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले भने ।

‘ट्रायल छल्ने धन्दा’
सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कुनै पनि सवारी हाँक्न लाइसेन्स लिनुपर्ने व्यवस्था छ । लाइसेन्सका लागि तोकिएको मापदण्डमा रही ट्रायल पास गर्नुपर्छ । 

ट्रायलमा कडाइ हुन थालेपछि र फेल भएकालाई जथाभावी लाइसेन्स बाँड्न कडाइ गरेपछि यातायातका केही कर्मचारीले दलालसँग मिलेर नेपालीकरणको धन्दा सुरु गरेका हुन् ।

यातायात व्यवस्था ऐनमै ‘कसैले विदेशमा सवारीचालक अनुमतिपत्र पाएको भए नेपालमा सवारी साधन चलाउन निवेदन दिएमा यातायात कार्यालयले लाइसेन्स दिन सक्ने व्यवस्था छ । 

साथै ऐनमै ‘त्यस्ता व्यक्तिले चालक अनुमतिपत्र लिन कुनै परीक्षा दिनुपर्ने छैन’ भनी व्यवस्थासमेत गरिएको छ । यातायातका कर्मचारीहरूबीच ‘नेपालीकरण’ भनेर चिनिने यो प्रक्रियामा पछिल्लो समय नक्कली कागजात पेस गर्ने र आवश्यक कागजात पेस नगरी लाइसेन्स ‘किन्ने’ क्रम धमाधम बढेको हो । यही व्यवस्थाको फाइदा उठाई धमाधम लाइसेन्सको ‘नेपालीकरण’ को कारोबार सुरु भएको हो ।

‘कर्मचारीकै मिलेमतोमा नक्कली विदेशी कागजातका आधारमा धमाधम लाइसेन्स बनिरहेको छ,’ यातायात स्रोतले भन्यो, ‘ट्रायल परीक्षा दिन नसक्नेका लागि दलालले नै आवश्यक नक्कली कागजात तयार गरी लाइसेन्स मिलाइदिन्छन् । अलि बढी खर्च गरे पुग्छ ।’ 

नेपालीकरणमा अनियमितता हुन थालेपछि यातायात व्यवस्था विभागले केही परिपत्रसमेत गरेको थियो, तर मातहतका कार्यालयका प्रमुख र कर्मचारीहरूले त्यसको वास्ता नगरी धमाधम ‘नेपालीकरण’ का नाममा लाइसेन्स जारी गरिरहे ।

‘विदेशबाट आएका नेपालीको हकमा विदेशमा गएको पासपोर्ट, भिसा, वर्क परमिटसमेतका आधारमा यकिन गरी लाइसेन्स जारी गर्नुपर्ने हो,’ अख्तियार उच्च स्रोतबाट प्राप्त प्रतिवेदनमा भनिएको छ, ‘नेपालीकरणका लागि पेस गरिएका निवेदनमा त्यस्ता कागजात पेस गरेको भेटिँदैन ।’ 

अनियमितता भएपछि विभागले पासपोर्टका आधारमा मात्रै लाइसेन्स नदिन परिपत्र गरेको थियो । त्यस्तै स्मार्टकार्डबाहेकका विदेशी लाइसेन्सलाई पनि नेपालीकरण नगर्न परिपत्र गरेको थियो ।

 ‘तर मनलाग्दी रूपमा लाइसेन्स बाँडेको देखिन्छ,’ स्रोतले भन्यो । प्रतिवेदनका अनुसार कतिपय निवेदनमा दूतावासको पत्र, विश्वभाषा क्याम्पसको अनुवादपत्र, लाइसेन्स पेस गर्नुपर्ने थियो । 

त्यसको साटो स्क्यान गरी नक्कली तयार गरी निवेदनका साथ पेस भएकामा कार्यालयले यस्ता कुरामा ध्यान नदिई लाइसेन्स जारी गरेको प्रतिवेदनमा उल्लेख छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ